arrow

अपराध लुकाउन नाम र धर्म परिवर्तन

logo
प्रकाशित २०७४ कार्तिक २२ बुधबार
crime.jpg.jpeg

काठमाडौं । व्यक्ति हत्याको १० बर्ष पूरानो घटनामा संग्लन भएको सूचनाका आधारमा काठमाडौं प्रहरी परिसरले असोज ३० मा गोर्कणेश्वरबाट एकजनालाई पक्राउ गर्‍यो । बौद्ध क्षेत्रमा गार्मेन्टमा काम गर्ने भनिएका बाहिद खानले पक्राउपछि आफू उक्त व्यक्ति नभई बिजयकुमार श्रीवास्तव भएको नागरिकता पेश गरे । 

उनले आफू मुस्लिम नभई हिन्दु भएको र विनाकारण पक्राउ गरिएको दलिल पनि पेश गरे । हुन पनि उनी मुस्लिमको हुलियामा थिएनन् र हिन्दु केटीसँग नै घरजम गरेका थिए । 

पक्राउ परेका व्यक्तिको तर्क सुनेपछि प्रहरी छक्क पर्‍यो र अनुसन्धानलाई नयाँ ढंगले अगाडि बढायो । पुरक अनुसन्धानले जे जस्ता तथ्य बाहिर ल्यायो त्यसले प्रहरीलाई त अचम्म तुल्यायो नै, अपराध कर्म लुकाउन केसम्म गरिन्छ भन्ने तथ्य पनि बाहिर ल्यायो । 

बाराको कचर्अवा घर भई अनामनगर डेरा गरी बस्ने बलराम पटुवाको २०६४ असार २० मा गोली हानी हत्या भयो । नक्कली भारतीय नोटको कारोबारमा संग्लन पटुवाको हत्या नक्कली भारुको कारोबारी समूहबाटै भएको प्रहरी अनुसन्धानले निष्कर्ष निकाल्यो । 

त्यही अनुसन्धानका आधारमा प्रहरीले सर्लाही सितौतिया घर भएका थापाजी भन्ने लाल मोहम्मद र पर्साको वीरगञ्ज १३ घर भएका पप्पु गुप्ता पक्राउ गर्यो । 

उनीहरु अदालतबाट दोषी ठहर भई जेल चलान भए । घटनाको चार बर्षपछि २०६८ मा उक्त घटनाका दोषी अन्य तीनजना पनि पक्राउ परे ।

बारा प्रस्टोका घर भएका मुन्ना खान, सद्रुल अन्सारी र अल्ताफ हुसेनको नामले चिनिने ईन्ताफ हुसेन अन्सारी पनि पक्राउ परी जेल चलान भए । प्रहरीका अनुसार मृतक पटुवासहितको यो समूहले पाकिस्तान र बंगलादेशबाट नक्कली भारतीय रुपैयाँ ल्याई नेपाल र भारतीय बजारमा पठाउँथे । 

प्रहरीले नक्कली नोट कारोबारीको यो समूहमा बोस भनिने भाईसाब नामका पाकिस्तानी नागरिक पनि संग्लन भएको निष्कर्ष निकालेको थियो । नक्कली नोट कारोवारीको सुचना चुहाएको भन्दै यो समूहले पटुवाको हत्या गरेको थियो । 

उक्त घटनामा पक्राउ परी सजाय भुक्तान गरेर छुटेका एकले गत महिना मात्रै प्रहरी परिसरलाई एउटा गोप्य सुचना दिएका थिए । सुचना थियो, ‘पटुवा हत्याको घटनाका योजनाकारमध्ये एक बाहिद खान पनि थिए ।’ 

त्यसो त प्रहरीले दस बर्ष अघि नै उक्त घटनामा वाहिद खान संग्लन भएको तर उनको तीन पुस्ते विवरण नखुलेको जनाएको थियो । मोहम्मदले दिएको सुचनाका आधारमा प्रहरीले खानलाई पक्राउ गऱ्यो । खान पक्राउ पछि अनुसन्धानले नयाँ मोड लियो । 

खानले आफु बिजयकुमार श्रीवास्तव भएको बताउँदै जिल्ला प्रशासन कार्यालय (जिप्रका) सर्लाहीबाट निकालेको नागरिकता पेश गरे । 

प्रहरीले सर्लाही प्रशासनबाट उक्त नागरिकताको बैधानिकता जाँच गरेपछि रहस्य खुल्यो, उक्त नामको नागरिकता जारी नै भएको रहेनछ । अर्थात खानले नक्कली नागरिकता निकालेर आफ्नो परिचय बदलेका रहेछन् । 

कतिसम्म भने मुस्लिम समुदायका खानले उक्त घटनापछि आफूलाई हिन्दु धर्मावलम्बीकै रुपमा चिनाइरहेका रहेछन् । 

खानले मकवुल मन्सुरको नागरिकताको फोटोकपीका आधारमा मोबाईल सिम निकालेर चलाईरहेको पनि प्रहरीले पत्तो लगाएको छ । (कान्तिपुर दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ