arrow

मैलै राजनीति गरुञ्जेलसम्म नारायणकाजीले चुनाव जित्ने सपना नदेखे हुन्छ : बाबुराम

‘ओली र प्रचण्डवीच कम्युनिष्ट पार्टीको खोल देखाएर ठग्ने धन्धा चलिरहेको छ’

logo
प्रकाशित २०७४ मंसिर ४ सोमबार
baburam.jpg

गोरखा। नयाँ शक्ति नेपालका संयोजक एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफू राजनीति गरुञ्जेलसम्म नारायणकाजीले गोरखामा चुनाव जित्नै नसक्ने ठोकुवा गरेका छन् ।   रिपोर्टर्स क्लब नेपालले आईतबार गोरखामा आयोजना गरेको चुनावी विशेष साक्षात्कारमा बोल्दै डा. भट्टराईले यस्तो दाबी गरेका हुन् । उनले भने,‘मैले राजनीति गरुञ्जेलसम्म नारायणकाजी श्रेष्ठजीले गोरखामा चुनाव जित्ने सपना नदेखे हुन्छ, उहाँलाई गोरखाका डाँडापाखा हिँड्न आउँदैन, र सुहाउँदैन पनि, त्यसैले बरु काठमाडौंतिर सरे हुन्छ।’

उनले अबको निर्वाचनमा वाम गठबन्धनको दुई तिहाई वा बहुमत आउने भन्ने कुरा हल्लामात्रै भएको भन्दै मुलुकमा हंग पार्लियामेन्ट हुने दाबी गरे । उनले आफ्नो पार्टी नयाँ शक्ति नेपालले पाँच वर्षपछि मुलुकमा शासन गर्ने समेत दाबी गरे ।
 
उनले आफूहरु अहिले निकै व्यस्त रहेको समेत प्रतिक्रिया दिए । उनले थपे,‘विहानदेखि बेलुकासम्म १५ देखि १८ घण्टा खटिइरहेका छौँ । मैले जनताबाट आगाध माया, सद्भाव र स्नेह पाउँछु । किनकी ६४ सालको चुनावमा नेपालभरी नै सबैभन्दा बढि भोट मलाई आएको थियो ।

 ४६ हजारभन्दा बढि अर्थात यस क्षेत्रको ८२ प्रतिशत मत मैले पाएको थिएँ । संविधान लेख्ने जिम्मेवारी दिनुभयो । संविधानसभाबाट लोकतान्त्रिक संविधान जारी भयो । संवाद समितिको सभापतिको हैसियतले महत्वपूर्ण भुमिका खेलेँ । अब जनताले विकास र समृद्धि चाहेका छन् । यसका लागि बाबुरामकै योगदान जनताले चाहेका छन् ।’

उनले आफूले माओवादी केन्द्रका नेता नारायणकाजीसँग प्रतिस्पर्धा नगरेको समेत दाबी गरे । डा. भट्टराईले थपे,‘उहाँलाई यहाँ ल्याएर मसँग भिडाएर अनावश्यक ढंगले उहाँको सिङ भाँच्न लगाइएको छ । उहाँको यो क्षेत्र नै होइन । स्कुलको पढाई सकेपछि उहाँ गोरखा कहिल्यै पनि फर्किनुभएन । कार्यथलो पनि यो होइन । गोरखामा उहाँ कहिलेकाँही पर्यटकको रुपमा मात्रै आउने हो । म त यहीँ जन्मिएँ, हुर्किएँ । आन्दोलनको कार्यक्षेत्र पनि यही थियो । यअसघ २ वटा संविधानसभाको चुनावमा यहीँबाट जितेँ ।’

गोरखाली जनताले आफूबाट जुन अपेक्षा गरेका छन् त्यो आफूले इमानदारिताका साथ सेवा गरेको उनको तर्क थियो । उनले थपे,‘अहिले पनि जनतको दैलोमा गएर सोध्नुस्, बाबुरामलाई उहाँहरुले कसरी बुझ्नुहुन्छ ? मैले उहाँहरुकै आंकाक्षा बुझेको छु । मेरो प्रतिस्पर्धी को हुन्छ भन्ने कुरा ठूलो होइन ।’

पूर्वप्रधानमन्त्री समेत रहेका संयोजक भट्टराईले आफूलाई हार र जितको कुनै शंका नभएको समेत प्रतिक्रिया दिए । उनले थपे,‘निष्पक्ष जनताको मतका आधारमा शंका गर्ने कुनै ठाउँ छैन । मार्जिन कति हुन्छ भन्ने मात्रै हो । हारजितको विषयका कुनै शंका छैन ।’

नारायणकाजीले चुनाव जित्ने दाबी गर्नुभएको छ । गोरखालाई विकास गर्ने भिजन आफुसँग मात्रै भएको बताउनुभएको छ नि ? भनेर सोधिएको अर्को प्रश्नमा बाबुरामले मुख खोले,‘चुनावको बेलामा आफ्नो दलिल पेश गर्नु स्वभाविक हो । बहुदलीय प्रतिस्पर्धामा त्यसलाई हामीले अन्यथा मान्नु पनि हुँदैन । मैले २०२६ सालको एसएलसी परीक्षामा सर्वप्रथम भएपछि जुन ढंगले यो क्षेत्रमा चर्चाको विषय बन्यो, त्यसपछि निरन्तर रुपमा म यही क्षेत्रका जनताको सेवामा समर्पित छु । गोरखाको विकासका लागि चित्र कोरेँ । छोटो समय अर्थमन्त्री हुँदा गोरखामा विकासका आधारभूत विकासका पूर्वाधारको जग बसालेँ । अब त्यो जगलाई पूर्णता दिनुपर्छ । गोरखालाई देशकै विकासको मोडल बनाउनुपर्छ भन्ने उद्देश्य मेरो छ । जनताले पनि त्यही अपेक्षा राखेका छन् । त्यसैले अरुले के भन्छन् भन्ने कुरा महत्वपूर्ण छैन ।’

उनले २७५ सासंदमध्ये जो पनि प्रधानमन्त्री बन्न सक्ने भएकोले सबैले प्रधानमन्त्रीको सपना देख्नु कुनै ठूलो कुरा नभएको प्रष्ट पारे । उनले भने,‘सपना देख्न सबैले पाउँछन् । मेरा लागि जनताको निम्ती विकास र समृद्धिको एजेण्डा मुख्य हुन् ।’

उनले आफूहरुले लोकतान्त्रिक गणतन्त्रात्मक संविधान बनाएको उल्लेख गर्दै यसलाई बचाएर नेपालमा आर्थिक विकास र समृद्धिको चरण पूरा गर्नुपर्ने भएकोले लोकतान्त्रिक गठबन्धनसँग तालमेल गरेको स्विकार गरे । उनले थपे,‘कम्तिमा औद्योगिक अर्थतन्त्र निर्माण भएपछि बल्ल समाजवादका कुरा आउँछन् । त्यही औद्योगिक अर्थतन्त्र निर्माणका लागि कांग्रेससँग सहकार्य गर्दा उचित हुन्छ भनेर गरेका हौँ ।’

नेपाली कांग्रेससँग पार्टी एकताको सम्भावना छ कि छैन ? भनेर सोधिएको अर्को प्रश्नमा उनले थपे,‘पार्टी एकताको बारेमा त हामीले सोचेका छैनौँ । अहिले हामीले चुनावी तालमेल गरेका छौँ । हामी एउटा वाम लोकतान्त्रिक शक्ति हौँ । हाम्रो आधारभूत चरित्र लोकतान्त्रिक वाम हो । नेपालमा चाँही वाम भनेपछि कम्युनिष्टकै पर्यायवाची शब्दको रुपमा बुझिन्छ, जुन सत्य होइन । अमेरिकामा प्रजातान्त्रिक पार्टीलाई र वेलायतमा लेबर पार्टीलाई वाम भनिन्छ । तर नेपालमा कम्युनिष्टलाई मात्रै वाम भनेर बुझ्ने गरिन्छ, त्यो बेठिक छ ।’

आफ्नो सारा जिन्दगी निश्चित मूल्य मान्यतामा अडिएको दाबी गर्दै भट्टराईले थपे,‘देशमा लोकतान्त्रिक गणतन्त्र नल्याएसम्म लोकतन्त्र हुँदैन भनेर ४० वर्ष राजतन्त्रको अन्त्यका लागि लड्यो । संविधानसभाबाट राजतन्त्र अन्त्य गर्न प्रमुख भूमिका खेलेँ । अबको एउटै सपना भनेको आफ्नै जीवनकालमा अर्थात २५ वर्ष्भित्र संसारकै समृद्ध देश बनाउने हो ।

तपाईसँग मिसन र लक्ष्य छ, तर जनता छैनन् नि ? भनेर धमलाले सोधेको अर्को प्रश्नमा उनले आफूसँग जनता छन् कि छैनन भनेर हेर्न गोरखा आउन आग्रह गरे । ‘किन छैनन् जनता ? गोरखामा आएर हेर्नुस् । हामीले भर्खर रोपेको विरुवा रातारात ठूलो रुख त कसरी बन्छ र ? यस्तो परिकल्पना गर्नुभयो भने त्यो गलत हुन्छ’–उनले भने । यद्धपी उनले यति छोटो अवधिमा देशका ७७ वटै जिल्लामा संगठन र संजाल बनेकोमा आफू खुशी भएको जिकिर गरे । उनले थपे,‘सबै जिल्लाहरुमा उम्मेदवारुहरु उठाएका छौँ । यो पटक राष्ट्रिय पार्टी बन्छौँ र अर्कोपटक देशको नेतृत्व गर्ने पार्टी बन्छौँ ।’

उनले आफू अस्थिर नभएको जिकिर गरे । भट्टराईले थपे,‘राजतन्त्रको अन्त्य र संविधानसभाबाट संविधान बनाउनुपर्छ भन्ने मेरो अभियान थियो । त्यो सफल भयो । अब विकास र समृद्धिको नयाँ युगको नेतृत्व गर्न खोज्दैछु । गोरखाली जनताले मेरो मिसन बुझेका छन् ।’

अबको निर्वाचनमा कसैको पनि बहुमत नआउने ठोकुवा गरे । उनले थपे,‘मिलिजुली सरकार बन्छ । चुनावको बेलामा त बहुमत आउँछ भनेर सबैले भन्छन् । त्यसलाई अन्यथा मान्नु हुँदैन । अहिलेको चुनावी प्रणालीका कारण कुनै पनि गठबन्धनको बहुमत आउन सक्दैन । ससंदको अंकगणितका आधारमा कस्तो सरकार बन्छ भन्ने कुराको टुङ्गो लाग्छ ।’

एमाले र माओवादीबिचमा पार्टी एकता हुने सम्भावना कत्तिको देख्नुहुन्छ ? भनेर सोधिएको अन्तिमा प्रश्नमा उनले थपे,‘मलाई त घिउ बेचुवा र तरबार बेचुवाको सम्बन्धजस्तो लाग्छ । एकले अर्कालाई ठग्ने कुरा भइरहेको छ । कसले कसलाई ठग्छ कि दुवै ठगिन्छन् थाहा छैन । पार्टी एकताको कुरा स्वतन्त्रताको विषय हो । गर्न सक्नुहुन्छ । तर कम्युनिष्ट पार्टीको खोल देखाएर ठग्ने धन्धा चलिरहेको छ । यसरी लामो समयसम्म जनतालाई भ्रममा पार्न सकिदैन ।’

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ