arrow

शेरधनको स्वेतपत्रमा झुटको खेती, किन ढाँटिदैछ मतदाता ?

logo
प्रकाशित २०७४ मंसिर ६ बुधबार
sherdhan.png

काठमाडौं । ‘कम्युनिष्टहरु झुटको खेती गर्छन्’ यो नेपालको राजनीतिमा चर्चित भनाई हो । भनिन्छ, कम्युनिष्टहरु जे भन्छन् त्यो गर्दैनन्, खालि आश्वासनका पुलिन्दा मात्रै बाँड्ने काम गर्छन् । यसैको उदाहरण भएको छ, भोजपुर प्रदेशसभा (ख) का एमाले उम्मेदवार शेरधन राईको श्वेत पत्र ।

 शेरधनले आफु सांसद हुँदा र केपी ओली नेतृत्वको सरकारमा संचारमन्त्री हुँदा गरेका काम श्वेतपत्रमा उल्लेख गरेका छन् । ‘मैले निर्वाचनमा विकाससँग सम्बन्धित गरेका प्रतिवद्धता बमोजिम भएका कामहरु’ शिर्षकमा ८ बुँदे कामको फेरिहस्त सार्वजनिक गरेका छन् । उनले सोही शिर्षको १ नम्बर बुँदामा भोजपुरको एक मात्र हवाई मैदान टक्सार विमानस्थल कालोपत्रे गरिएको उल्लेख गरेका छन् । जबकी विमानस्थल कालोपत्रे गर्ने काम खिलराज रेग्मीको मन्त्रीपरिषद्मा अर्थमन्त्री रहेका शंकर कोइरालाको पालामा बजेट विनियोजन भएको हो । यो विषयमा गत शनिवार भोजपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्ने क्रममा कोइरालाले बोलेका थिए ।

भोजपुर विमानस्थल कालोपत्रेका लागि कोइरालाको कार्यकालमा ६ करोड बजेट विनियोजन भएको थियो । तर राईले मतदाता यो काम आफ्नो पहलमा भएको भनेर स्वेतपत्रमा उल्लेख गरेका छन् । यस्तै रानिटार–पांचा–चखेवा सडकलाई तराईसँग जोड्ने दुधकोशी नदीमा पक्की पुलको शिल्यानास भएको भइ निर्माण सुरु भएको विषय समेत श्वेत पत्रमा उल्लेख छ । जबकी यो पुल भदौमा प्रधानमन्त्री शेरबहादुर देउवाले शिल्यानास गरेका थिए । यो पुल निर्माणका लागि कांग्रेस नेता डा. नारायण खड्का, बालकृष्ण थापा र नेतृ माया राईको मुख्य भूमिका थियो ।

यस्तै राई संचारमन्त्री हुँदा भोजपुर सदरमुकाममा नेपाल टेलिकमको टेलिफोन टावरको क्षमता वृद्धी गरेको र विभिन्न ठाँउमा टावर निर्माण गरेको कुरा समेत स्वेतपत्रमा उल्लेख गरिएको छ । रोचक कुरा यो छ की राईको गाउँ थिदिङ्खामा नेकवर्क नटिप्ने समस्या छ । फोन गर्नका लागि डाँडा तिर निस्कनुपर्ने बाध्यता रहेको छ ।
राईले स्वेतपत्रमा अरुले गरेका काम समेत उल्लेख गरेपछि स्थानीयले भने मजाकको विषय बनाएका छन् ।

‘स्वेतपत्रमा उहाँ सांसद हुँदा निर्वाचन पूर्वधार विकास कार्यक्रम अन्तर्गत गरेका काम त ठिकै होलान् । तर अरुले गरेका काम पनि स्वेतपत्रमा राखिएको छ, यसलाई के भन्ने ?’ एक स्थानीयले भने । ०४६ साल देखि भोजपुरमा जित्दै आएका कम्युनिष्टहरुले काम भन्दा बढी कुरा गर्ने गरेको स्थानीयले आरोप लगाउँदै आएका छन्  । कम्युनिष्टले जित्दा विकास निर्माणका काम हुन नसकेको स्थानियले गुनासो गर्दै आएका छन् ।

एक नम्बर प्रदेशका मुख्यमन्त्रीकोरुपमा चर्चा गरिएका राईले झुटको खेती गरेको भन्दै आशा भन्दा निराशा बढेको स्थानीयको भनाई छ ।

राईको स्वेतपत्रलाई लिएर कांग्रेस नेताहरु व्यंग्य गर्ने गरेका छन् । लोकतान्त्रिक गठबन्धनका चुनावीसभामा राईको स्वेतपत्र नेताहरुलाई ‘खुराक’ बनेको छ । बैकुण्ठेमा आयोजित सभामा कांग्रेस नेता हेमन्त मुकारुङले भनेका व्यंग्य गर्दै भनेका थिए, ‘बाम गठबन्धनका उम्मेदवार साथीहरुले अरुले गरेका काम पनि आफुले गरेको भन्दैहुनुहुन्छ ।

सदरमुकाममा व्यवसायी बद्री श्रेष्ठले ठूलो घर बनाउँदै हुनुहुन्छ । त्यो पनि हामीले बनाएको भन्नुभएको राम्रो हुन्थ्यो ।’
शनिवारको आमसभामा लोकतान्त्रिक गठबन्धनका प्रदेशसभा (क)का उम्मेदवार अजम्बर काङमाङ राईले आफ्ना प्रतिस्पर्धी राजेन्द्र राईले पनि झुटको खेती गरेको आरोप लगाउँदै भनेका थिए, ‘मेरा पहलमा भएका काम पनि उहाँले आफ्नो पहलमा भएको भन्दै हुनुहुँदो रहेछ । उहाँहरुलाई लाज भन्ने कुरा लाग्दो रहेनछ ।’

लोकतान्त्रिक गठबन्धनका नेताहरुले बाम गठबन्धनका नेताहरुले मतदाता झुक्काउन झुटको खेती गरेको आरोप लगाउँदै आएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ