arrow

मेलम्चीको हैरानी, पानी आउन थाल्यो वितरणमा समस्या 

logo
प्रकाशित २०७४ मंसिर १० आइतबार
Melamchiko-pani.jpg.jpeg

काठमाडौं । पानी प्रशोधन केन्द्रको निर्माणमा ढिलाइ हुँदा मेलम्चीको पानी काठमाडौं आएपछि त्यसको वितरण कसरी वितरण गर्ने भन्ने अन्योल बढेको छ।  

मेलम्ची खानेपानी विकास समितिले २०७५ को वैशाखमा मेलम्चीको पानी ल्याउने सकिने गरी आन्तरिक तयारी गरेको छ तर सुन्दरीजलस्थित निर्माणाधीन पानी प्रशोधन केन्द्रको काम भने उक्त समयमा नसकिने भएको छ।  

प्रशोधन केन्द्रको निर्माण जुलाई २०१८ मा सम्पन्न गर्ने सम्झौता भए पनि कम्तीमा १० महिना लाग्ने अनुमान छ।  समितिका अनुसार हालसम्म यसको  जम्मा १५ प्रतिशत मात्र काम भएको छ। 

मेलम्चीको पानी पहिलो चरणमा दैनिक १७ करोड लिटर आउनेछ।  जसमध्ये दैनिक आठ करोड लि। क्षमताको प्रशोधन केन्द्रको निर्माण सम्पन्न भई परीक्षणसमेत गरेर तयारी अवस्थामा राखिएको छ तर दोस्रो दैनिक ८.५ करोड लि. क्षमताको प्रशोधन केन्द्रको निर्माण भने ढिला हुने भएपछि विकल्पहरू खोज्न थालिएको समितिले जनाएको छ।

समितिका उपकार्यकारी निर्देशक रमाकान्त दुवाडीले विकल्पहरू खोजेर पानी वितरण गर्न सकिने बताए। उनका अनुसार वर्षात्को बेलामा पानी बढी प्रशोधन गर्नुपर्छ भने अरू बेलाको पानी आफैँमा सफा आउने भएकाले सामान्य फिल्टर गरेर पनि वितरण गर्नसकिने छ।  त्यसो गर्दा हाल तयारी अवस्थामा रहेको प्रशोधन केन्द्रबाट ५० प्रतिशत बढी प्रशोधन गर्न सकिने सम्भावना छ।

उनले भने ‘विकल्पहरू खोजिरहेका छौँ एउटा त प्रशोधन केन्द्रको छिटो निर्माण गर्नु नै हो, त्यसको  अलवा  हिउँदको पानीलाई फिल्टर गरे मात्र हुन्छ, आएको पानीलाई छिटो फिल्टर गरेर वितरण गर्न सकिन्छ, अर्को केही समयका लागि सुरुङबाटै कम पानी ल्याएर पनि व्यवस्थापन गर्न सकिन्छ। ’

हिउँदको पानीलाई धेरै प्रशोधन गर्न नपर्ने भएकाले तत्तकालका लागि व्यवस्थापन गर्नसकिने समितिले जनाएको छ तर समितिले सकेसम्म मेलम्ची आउनु अगावै प्रशोधन केन्द्रको निर्माण सम्पन्न गरिसक्न आग्रह गरेको छ।

हाल तयारी अवस्थामा रहेको प्रशोधन केन्द्रले तोकिएको क्षमता अनुसार पानी प्रशोधन गर्न सक्ने परीक्षणबाट देखिएको छ।  समितिले बाग्मती नदीको वर्षात्को पानी जम्मा गरी सुन्दरीजलको पानी प्रशोधन केन्द्रको परीक्षण गरेको थियो।

पहिलो प्रशोधन केन्द्र जाइकाले निर्माण गरेको थियो धने दोस्रो प्रशोधन केन्द्र नेपाली कम्पनी टुन्डी र भारतीय कम्पनी प्रतिभाले संयुक्तरूपमा बनाउँदै छन्।  दोस्रो प्रशोधन केन्द्रको निर्माण भइसकेपछि मेलम्चीबाट आउने दैनिक १७ करोड लिटर पानी प्रशोधन हुनेछ। (गोरखापत्र दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ