arrow

झापाबासीले राम थापाको हत्या अझै विर्सिएका छैनन् : सिटौला  

logo
प्रकाशित २०७४ मंसिर १३ बुधबार
Sitaula.jpg.jpeg

काठमाडौं । राजनीतिक संक्रमण र राजनीतिक परिवर्तनको पाटोलाई नियाल्दै जाने हो भने मेरो राजनीतिक यात्राको सुरुवात २०४६ सालको आन्दोलनबाट सुरु भएको हो । त्यतिबेला झापाको जिल्लास्तरीय राजनीतिमा नै केन्द्रीत रहेको म र हामी जस्तै झापाबासीहरुको अथक प्रयासले झापालाई २०४६ सालको आन्दोलन होस् या त २०६२/६३ सालको आन्दोलन नै किन नहोस् । सबैमा झापाको महत्वपूर्ण भूमिका प्रदर्शित गराईदियो । 

२०४६ सालको आन्दोलनताका निजी सञ्चारमाध्यमप्रति हाम्रा समाचारहरु लेख्न प्रतिबन्ध लगाईएको थियो । हाम्रा साथीहरु कहाँ कति के भए भन्ने कुरा कसैलाई पनि थाहा हुने थिए । त्यतिबेला रेडियोको नाममा त सरकारी रेडियोहरु मात्रै थिए । ती सञ्चार माध्यमहरुले सरकार विरुद्धका कुनैपनि समाचारहरु बजाउने गरेका थिएनन् । तर, जब पहिलो पटक बिबिसीले राम थापाको नाम फुक्यो त्यसपछि देशभरी नै आन्दोलन चर्कियो । त्यतिबेला बिबिसीले राम थापा शहीद भए भनेर समाचार बजाएको थियो । त्यसपछि उनको नामबाट देशै उठ्यो पञ्चायत विरुद्ध । १३ औ दिनमा आन्दोलन सफल भयो । यिनै अहिले झापा क्षेत्र नं ३ का अर्का उम्मेदार हुन् त्यो घटना घटाउने मान्छे पनि । राम थापाको हत्या झापा बासीले अझै विर्सिएका छैनन् । 

त्यही घटनाको सम्झनामा हामीले विर्तामोडमा राम थापाको शालिक बनाउने र त्यही जनआन्दोलन स्मृति स्तम्भ पनि बनाउने तयारी गरेका थियौं । तर, तत्कालीन सरकारले त्यहाँ महेन्द्रको शालिक राख्ने भनेर धेरै समयसम्म पनि अवरोध गरिरह्यो । तरपनि त्यहाँ हामीले राम थापा शालिक राख्न सफल भयौं । त्यसको शिलान्यास गिरिजाप्रसाद कोइरालाले गर्नुभएको हो र त्यसको उद्घाटन पनि गिरिजाप्रसाद कोइरालाले नै गर्नुभएको थियो । गिरिजाबाबुको यो सार्वजनिक जीवनको अन्तिम कार्यक्रम पनि हो त्यो । काँग्रेस एमाले दुबै पार्टी मिलेर बनाएको त्यो स्तम्भले अहिले पनि प्रजातान्त्रिक आन्दोलनको बाटो देखाईरहेको छ ।  । 

त्यस्तै २०६२ ६३ को आन्दोलनमा पनि यही भरतपुरको ठूलो योगदान रहेको छ । बैशाख ६ गते पहिले बहुदलको आन्दोलन थियो यही चन्द्रगढीमा । ठूलो शान्तिपूर्ण आन्दोलनमा प्रहरीमाथि ज्ञानेन्द्र सरकारले गोली चलाउन दबाब दियो तर प्रहरीले गोली चलाउन मानेन । तिनै गोली चलाउन नमान्ने प्रहरी अहिले एआईजी केशरी घिमिरे लगायत छन् । त्यतिबेला पनि ४ जना घाईते भएका थिए । त्यतिबेला प्रहरीले नमानेपछि सिधै सेनालाई सडकमा उतारेर गोली हान्न लगाईएको थियो । त्यतिबेला कमल थापा गृहमन्त्री थिए भने अहिलेका उम्मेदवार जिविस सभापति थिए । 

२०६३ साल बैसाख सात गते घटना चन्द्रगढीमा यस्तो घटना घट्यो । सबैतिर खबर फैलियो । आन्दोलनकारीहरु झनै आक्रोशित भए । राजाले ८ गते एउटा वक्तव्य दिए । सो वक्तव्यमा गरिएको प्रस्ताव हामीले मानेनौं त्यसको सात दिनमा राजा हारे । पछि पूर्वाञ्चलको सभागृहमा गिरिजा प्रसाद कोइराला स्मृति सभागृह बनाउने निर्णयमा हामी पुग्यौं । त्यो भवनको हामी सबै दलका शीर्ष नेताहरुले सँगै आएर शिलान्यास गरेका थियौं । यसरी सबै दलका शीर्ष नेता आएर उद्घाटन गरेको एउटा मात्रै भवन होला यो । त्यो गणतन्त्र आन्दोलनको स्मरणमा बनाईएको सभागृहमा एमाले अध्यक्ष केपी ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, तत्कालीन फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार र म समेत सँगै गएर संयुक्त रुपमा उद्घाटन गरेको सभागृह पनि यही क्षेत्रमा पर्दछ । यसको क्षमता सानो ठूलो भन्ने कुरा होईन कि यसको महत्व भनेको राजनीतिक छ र ठूलो छ । यसले हामीले बाटो विराउन लाग्यो भने बाटो देखाईदिने काम गर्दछ । हामीलाई तिमीहरु जनआन्दोलनको भावना बोकेर सोही बाटोमा हिँड है भन्ने सन्देश दिन्छ । 

विर्तामोडमा रहेको रामथापाको शालिक र जनआन्दोलन स्मृति स्तम्भ काँग्रेस एमालेले आफैं बनाएको हो र चन्द्रगढीमा रहेको सभागृह भने सरकारको लगानीमा बनेको संरचना हो । यो सभागृह हामीले पटकपटक गरेको आन्दोलनलाई सम्झाउनको लागि मात्रै बनाएको हो । हामीलाई हाम्रो लोकतान्त्रिक गणतन्त्रको बाटो त्यही भवन र त्यही टावरले सम्झना गराईरहोस् भन्नको लागि हामीले यस्तो बनाएको हो । 

तर मुलुकमा एउटा यस्तो शक्ति पनि छ जसले अहिले पनि राजतन्त्र आउँछ भन्दैछ । त्यो भन्ने कमल थापाको पार्टी हो । अब हामी उनीहरुकै पछि लाग्ने हो भने कसरी विर्सने हामीले बनाएको यो गौरवशाली इतिहासलाई ? त्यही सिद्धान्तको आधारमा बनेको त संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान । यसलाई कसरी विर्सने अब राजाको पक्षमा पक्षपोषण गर्ने हो भने । हामीले राम थापाका परिवारलाई के भनेर उत्तर दिने ? हामीले फेरि राजा नै ल्याउन दिने हो भने किन बगायौं त यति धेरै रगत ? यी प्रश्नका उत्तरको लागि हामी केही बेर मनन गर्न बाध्य भएका छौं । 
 
म शान्तिप्रक्रिया र संविधान निर्माणको एक प्रमुख व्यक्ति हुँ । म माथि पछिल्ला समयमा श्रङ्खलाबद्ध षड््यन्त्र हुँदै आएका छन् । मेरो राजनीतिक जीवनमाथि र मेरो व्यक्तिगत जीवनमाथि पनि । मैले आफैंले बुझ्न सकिरहेको छैन किन यति धेरै षड्यन्त्र गरिँदै आएको छ म माथि ? मेरै घरमा बम पनि विस्फोट भयो । यहाँ भयंकर ठूलो षड्यन्त्र भईरहेको मैले अनुभूति गरिरहेको छु । राजतन्त्र त मासियो तर यहाँ राजतन्त्रका केही अंशहरु र छिद्रहरुले भने शंकास्पद रुपमा धेरै गतिविधि गरिरहेका छन् । अहिले कमल थापा शेरबहादुर जीको समर्थनमा चुनाव लड्ने र त्यही पार्टीको राजेन्द्र लिंङ्देन केपी ओलीको समर्थनमा चुनाव उठ्ने । यो कसरी षड्यन्त्र गर्न सकेका यिनीहरुले ? यस्तो षड्यन्त्र गर्ने क्षमता राख्छन् यिनीहरु ? अनि यस्तो ढुलमुले मान्छेलाई बोकेर हिँड्न हुन्छ काँग्रेस एमालेले ? भन्ने मेरो व्यक्तिगत विचार हो । हामी सिद्धान्तबाट विचलित हुनुहुँदैन भन्ने कुरा हो । हामी राजनीतिमा सिद्धान्तबाट विचलित हुनुहुँदैन । सिद्धान्त विना त पार्टी पनि चल्दैन । 

मेरो यहाँको कुरा गर्दा मैले ३ पटक चुनाव जितेँ ३ पटक चुनाव हारेँ । पहिलो पटक उप निर्वाचनमा चुनाव जिते । ५ महिनामा नै संसद् विघटन भयो । त्यसबेला सरकारले चारघरे केचना रोडमा एउटा मेरै पहलमा पुल बनाएको थियो । त्यतिबेला हामीले ५ महिनामा नै सबै गाविसमा विजुली पुर्याईदिएको थियौं । त्यो भन्दा अगाडि १० गाविसमा विजुली पुगेकै थिएन । फेरि मध्यावधिक चुनाव भयो । त्यतिबेला म हारेँ । त्यो बीचमा यहाँ के के भयो भन्नको लागि सोही समयको सांसद्लाई नै सोध्नुपर्ला । 

त्यसपछि २०५६ सालको चुनावमा मैले चुनाव जितेँ । साढे २ वर्ष के काम गरेका थियौं फेरि ज्ञानेन्द्रको प्रतिगामी कदम सुरु भई हाल्यो । हामीले त्यो अढाई वर्षमा देउमाई खोलामा पक्की पुल लगायतका देख्दा साना देखिने तर अत्यन्त जीवनोपयोगी कामहरु भए । त्यतिबेला खासै ठूलो योजना ल्याउन सकिएन साना तिना काम भने भयो । त्यो बेलासम्म मैले जिल्ला तहमा नै राजनीति गरेँ । पछि म केन्द्रीय तहमा नै राजनीतिमा व्यस्त हुन थालेँ । 

हामीले २०६३ सालको आन्दोलनको चर्चा त अघिनै केही गर्यौं । राजाको प्रतिगामी कदम पछि हामीले राजाको गद्दी छुटाउने काम संविधान सभा गठन गरेर त्यहीँबाटै गर्यौं । शान्तिप्रक्रियामा मलाई गृहमन्त्री बनाईयो । गृहमन्त्रीको जिम्मेवारी भनेको जनतालाई शान्तिपूर्ण रुपमा जीवन यापन गराउनु हो । त्यसको लागि दुई वटा काम गर्नु थियो । सरकार र विद्रोही माओवादी दुबैले हतियार छाड्ने र वार्ता मार्फत् सधैंको लागि युद्धको अन्त्य गर्ने । मैले गृहमन्त्रीको हैसियतले हेलिकप्टर लिएर गएर भने पनि प्रचण्डजीलाई लिन जानेदेखि वार्ताको सबै बन्दोबस्त गर्नेसम्मको काम गरेँ । 

यसरी सबै काम गरेर शान्तिप्रक्रिया टुंगोमा पुर्याईयो । त्यसपछि पहिलो संविधान सभाको चुनाव गरियो । सो चुनावमा म पनि उठेँ चुनावमा हारेँ पनि । पहिलो संविधान सभाको चुनावले संविधान दिन सकेन । अन्त्यमा संविधान नै नदिई संविधान सभा नै विघटन गरियो । दोस्रो संविधान सभाको चुनाव हुने भयो । यो क्षेत्रबाट मैले नै उम्मेदवारी नै दिएँ । जनताले मलाई भने खै त संविधान ? मैले भने खै त मलाई जिताएर पठाएको । जनताले मलाई त्यसपछि भने जिताएर पठाए । काँग्रेसलाई नै चुनाव जिताएर पहिलो पार्टी बनाएर पठाए । हामीले स्व सुशील कोइरालाको नेतृत्वमा डेढ वर्षमा नै संविधान बनाईदियौं । 

हामीले असन्तुष्टलाई पनि समेटेर संविधान बनायौं । म आफैं मस्यौदा समितिमा बसेको थिए । हामीले यस्तो उत्कृष्ठ संविधान बनाएका छौं । त्यसैले अब जनताले यो निर्णय गर्ने बेला भएको छ कि काँग्रेस ठीक कि पश्चगामी मण्डले राप्रपा ठीक ? म यही शान्तिप्रक्रियादेखिको राजनीतिक परिवर्तनको महत्वपूर्ण मोडमा सक्रिय भएर लागेको पात्र भएकोले पनि मलाई राजनीतिक रुपमा परास्त गर्नको लागि धेरै षड्यन्त्रहरु भईरहेको छ । तर अहिले जनताले बुझ्ने बेला भएको छ राजनीतिका पश्चगामी शक्तिलाई रोज्ने कि अग्रगामी शक्तिलाई बुझ्ने भन्नेकुरा । यही विषयमा जनताको मतको परीक्षा हुँदैछ मंसिर २१ गते । यो चुनावमा झापाबासीहरुले पहिलेदेखि आफैंले लडेर आएको परिवर्तनलाई जोगाउने कि वितिसकेको राजाल्याउने शक्तिलाई जिताउने भन्ने विषयमा विवेक प्रयोग गरेर मत दिन्छन् भन्ने विश्वास छ । 
नेता सिटौलासँगको कुराकानीमा आधारित 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ