arrow

यसरी बन्ने छ नेपालमा पहिलो पटक प्रदेश सरकार

logo
प्रकाशित २०७४ मंसिर १९ मंगलबार

काठमाडौं । दोस्रो चरणको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन मुखैमा आएको छ । यो निर्वाचन सकिएपछि नेपाल औपचारिक रुपमा संघीय संरचनामा प्रवेश गर्नेछ ।

निर्वाचनको परिणाम आउनेवित्तिकै प्रदेशमा पहिलो पटक सरकार गठन हुनेछ । योसँगै नेपालमा संघीय संरचना अनुसार तीन वटा सरकार हुने छन् । स्थानीय सरकार गठन भइसकेका छन् । अब प्रदेश र केन्द्र सरकार एकै पटक गठन हुनेछन् । तर, त्यसका आधारभूत केही काम गर्न बाँकी छन् । प्रदेश व्यवस्थापिका गठनका लागि संविधानले तोकेका आवश्यक केही कामहरु अझै भएका छैनन् ।

एकसदनात्मक प्रदेश व्यवस्थापिका अर्थात् प्रदेशसभा गठनका लागि आवश्यक निर्वाचन सकिनै लाग्दा प्रदेश प्रमुखको नियुक्ति, प्रदेशसभाको बैठक बस्ने स्थान, प्रदेशको अस्थायी राजधानी तोक्ने लगायत काम हुन नसकेका हुन् ।

संविधानको धारा १७९ मा प्रदेश सभाका सदस्यको शपथको व्यवस्था छ । प्रदेश सभाका सदस्यहरुले प्रदेशसभा वा त्यसको कुनै समितिको बैठकमा पहिलो पटक भाग लिनु अघि प्रदेश कानून बमोजिम शपथ लिनु पर्नेछ ।

यद्यपि, अहिलेसम्म प्रदेश प्रमुखहरुको नियुक्ति हुन सकेको छैन । प्रत्येक प्रदेशमा राष्ट्रपतिले एक प्रदेश प्रमुख नियुक्त गर्ने व्यवस्था छ । जो राष्ट्रपति पछि शक्तिशाली ठहरिने छन् । जसले प्रदेशसभा सदस्यहरुलाई शपथ दिलाउने छन् ।  

प्रदेश मन्त्रिपरिषदको गठन गर्दा प्रदेशसभामा बहुमत प्राप्त संसदीय दलको नेता मुख्यमन्त्री नियुक्त हुनेछन् । मुख्यमन्त्रीको अध्यक्षतामा प्रदेश मन्त्रिपरिषद् गठन हुनेछ । प्रदेशसभामा बहुमत नभए दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभाको सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्था छ । प्रदेश कार्यपालिका नै प्रदेश मन्त्रिपरिषद् हो ।

प्रदेश प्रमुखले मुख्यमन्त्रीको सिफारिसमा प्रदेशसभाका सदस्यमध्येबाट समावेशी सिद्धान्त बमोजिम मुख्यमन्त्रीसहित प्रदेशसभाको कुल सदस्य संख्याको २० प्रतिशतभन्दा बढी नहुने गरी प्रदेश मन्त्रिपरिषद् गठन हुन्छ । प्रदेशसभाको सदस्य नभएको व्यक्ति मुख्यमन्त्रीको सिफारिसमा प्रदेशमन्त्री हुन सक्नेछन् ।

यसरी बन्छ प्रदेशसभा
नयाँ संविधान र त्यसको आधारमा निर्माण भएको प्रदेशसभा सदस्य निर्वाचन सम्बन्धी ऐनका आधारमा प्रत्यक्षतर्फ ३ सय ३० र समानुपातिक निर्वाचन प्रणालीतर्फ २ सय २० गरी ७ प्रदेशमा कुल ५ सय ५० जना प्रदेश सभा सदस्य निर्वाचित हुँदैछन् ।

प्रदेशसभा गठन सम्बन्धी संविधानको धारा १७६ को उपधारा १ खण्ड क बमोजिम सम्बन्धित प्रदेशबाट प्रतिनिधिसभामा पहिलो हुने निर्वाचन प्रणाली अन्तर्गत निर्वाचित हुने सदस्य संख्याको दोब्बर संख्या प्रदेशसभामा पनि प्रत्यक्ष निर्वाचित हुने उल्लेख छ ।

यही धाराको खण्ड ख मा खण्ड क बमोजिम कायम हुन आउने सदस्य संख्यालाई ६० प्रतिशत मानी बाँकी ४० प्रतिशत सदस्य संख्या समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुने व्यवस्था छ ।

यस प्रावधानका आधारमा कुनै पनि प्रदेशसभाको कुल सदस्य संख्या तय गर्दा प्रत्येक प्रदेशमा प्रत्यक्ष निर्वाचित कुल सदस्य संख्यालाई ३ भाग मानी बाँकी २ भाग समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित गर्ने गरिन्छ ।

कुन प्रदेशमा कति सदस्य ?
प्रदेश नम्बर १ बाट ५६ जना सदस्य प्रदेशसभामा प्रत्यक्ष निर्वाचित हुनेछन् । यो प्रदेशको कुल सदस्य संख्या तय गर्दा प्रत्यक्ष निर्वाचित सदस्य संख्या ५६ लाई ६० प्रतिशत मान्नु पर्नेछ । यो ५६ सदस्य संख्यालाई ३ ले भाग गरेर आउने भागफल १८.६६ लाई फेरि २ ले गुणा गरेपछि आउने गुणनफल ३७ नै उक्त प्रदेशसभामा समानुपातिक प्रणालीबाट निर्वाचित हुने संख्या हो  । यसरी प्रदेश नम्बर १ मा ५६ जना प्रत्यक्ष निर्वाचित र ३७ जना समानुपातिक निर्वाचन प्रणालीबाट गरी जम्मा ९३ जना सदस्य रहेको प्रदेशसभा गठन हुनेछ ।

यो प्रावधानका आधारमा तयार गरिएको प्रदेशसभा सदस्य निर्वाचन ऐनको दफा ६० बमोजिम प्रदेशसभामा खसेको कुल सदर मतको १.५ प्रतिशत मत प्राप्त गर्ने दलहरुका लागि उनीहरुले प्राप्त गरेको मतभारका आधारमा सदस्य संख्या विभाजन गरी निर्वाचित हुने व्यवस्था छ ।

२ नम्बर प्रदेशमा ६४ जना प्रत्यक्ष निर्वाचित तथा ४३ जना समानुपातिक निर्वाचन प्रणाली हुने सदस्यसहित कुल १ सय ७ सदस्यीय प्रदेशसभाको गठन हुनेछ ।

प्रदेश नम्बर ३ प्रदेशसभामा ६६ सदस्य प्रत्यक्ष निर्वाचित तथा ४४ जना समानुपातिक निर्वाचन प्रणालीमार्फत गरी कुल एक सय १० सदस्यीय प्रदेशसभा गठन हुनेछ ।

प्रदेश नम्बर ४ मा ३६ जना प्रत्यक्ष निर्वाचित र २४ जना समानुपातिक प्रणालीबाट गरी जम्मा ६० सदस्यीय प्रदेशसभा हुनेछ । प्रदेश नम्बर ५ मा ५२ सदस्य प्रत्यक्ष निर्वाचित तथा ३५ जना गरी कुल ८७ सदस्यीय प्रदेशसभा गठन हुनेछ ।

प्रदेश नम्बर ६ मा २४ प्रत्यक्ष निर्वाचित र १६ समानुपातिक तर्फबाट गरी कुल ४० सदस्यीय हुनेछ । प्रदेश नम्बर ७ मा ३२ प्रत्यक्ष निर्वाचित तथा २१ समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित गरी जम्मा ५३ सदस्यीय प्रदेशसभा गठन हुनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ