arrow

सेनालाई गोली चलाउने अधिकार दिईएको छ : रक्षामन्त्री

logo
प्रकाशित २०७४ मंसिर २० बुधबार
bhimsen_das_pradhan.jpg

काठमाडौं। रक्षामन्त्री भीमसेनदास प्रधानले निर्वाचन विथोल्ने उच्छृंखल तत्वहरुलाई गोली हान्ने अधिकार नेपाली सेनालाई दिईएको स्पष्ट पारेका छन् । उनले भने,‘निर्वाचन विथोल्न खोज्ने उच्छृंखल तत्वहरुलाई निस्तेज पार्नको लागि नेपाली सेनालाई हामीले आवश्यक निर्देशन दिएका छौं, सेनालाई गोली हान्नेसम्मको अधिकार दिईएको छ।’

निर्वाचनको पूर्वसन्ध्यामा रिपोर्टर्स क्लब नेपालले बुधबार आयोजना गरेको विशेष साक्षात्कारमा रक्षामन्त्री प्रधानले निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको र मतदाताहरुको भरपर्दो सुरक्षा प्रबन्ध गरेकोले ढुक्क भएर मतदान गर्न आग्रह गरे । मन्त्री प्रधानले थपे,‘भोलि हुने निर्वाचनमा अत्यधिकभन्दा अत्यधिक मात्रामा सहभागिता होस्।’
उनले अहिलेसम्म निर्वाचन विरोधी गतिविधि गर्ने ६ सय भन्दा बढिलाई पक्राउ गरिएको र मुद्दा चलाईएको बताए ।

उनले भने,‘नेपाली सेना हाई अलर्टमा छ, हामीले निर्वाचन सुरक्षा बलियो बनाएका छौं, कहीँकतै घट्ना भए त्यसलाई हल गर्नको लागि सरकारले आवश्यक निर्देशन दिएको छ, गोली चलाउने आदेश दिएका छौं।’ भोलि हुने निर्वाचनमा ३८ हजार नेपाली सेना परिचालन हुने समेत मन्त्री प्रधानले जानकारी दिए । त्यस्तै पहिलो र दोस्रो चरणको निर्वाचन गरेर ६४ हजार २० सेना परिचालन हुने पनि उनले जनाए ।

मन्त्री प्रधानले भोलि हुने निर्वाचनमा साम, दाम, दण्ड र भेदबाट मुक्त भएर मतदान गर्न समेत आम मतदाताहरुलाई आग्रह गरे । नेपाली जनताले ७० वर्ष लगाएर संविधान पाएको भन्दै उक्त उपलब्धिहरुलाई संस्थागत गर्नको लागि पनि यो निर्वाचन अत्यन्तै महत्वपूर्ण भएको उनको भनाई थियो । उनले भने,‘हिजोको झापा विद्रोहको झापाली माले, जनयुद्ध गरेको नेकपा माओवादी केन्द्र, राप्रपा, राप्रपा–प्रजातान्त्रिक र तराई मधेशका पार्टीहरु पनि चुनावमा सहभागी हुनुभएको छ, उहाँहरु मुलधारमा आउनुभएको छ, यो सफलता हो।’

निर्वाचन स्वतन्त्र, भयरहित र निश्पक्ष रुपमा सम्पन्न गर्न सुरक्षा निकायहरु प्रिचालित भैसकेको जनाउँदै उनले भने,‘निर्वाचनको मुखमा भएका थुप्रै घट्नाहरु हामीले निस्तेज पारेका छौं, केही दिनअघिमात्रै गगन थापामाथि हमला भयो, मेरो निवासमापनि प्रेसर कुकर राखियो, भय उत्पन्न गराउन यस्तो गरियो, नेपाल सरकारले निर्वाचन स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न सम्पूर्ण निकाय परिचालन गरिसकेका छौं । हेलिकप्टरमार्फत पनि अनुगमन भैरहेको उनले जनाए ।

मन्त्री प्रधानले निर्वाचनका लागि तीन घेरामा सुरक्षा प्रदान गरेकाले नडराईकन निर्वाचनमा भाग लिन आग्रह गरेका हुन् । “पहिलो चरणमा म्यादी र नेपाल प्रहरी, दोस्रो घेरामा शशस्त्र प्रहरी र तेस्रो चरणमा नेपाली सेनाले सुरक्षा प्रदान गर्छ,”– उनले भने ।

मन्त्री प्रधानले प्रतिनिधी तथा प्रदेश सभाको निर्वाचनमा ६४ हजार नेपाली सेना परिचालन गरिएको बताए । जनताको मतबाट बनेको संविधान कार्यान्वयन गर्नका लागि निर्वाचन हुन लागेकाले जनता निर्वाचनप्रति उत्साहित भएको मन्त्री प्रधानले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ