arrow

मधेसी गठबन्धन सरकारमा जाने संकेत, काँग्रेसप्रति असन्तुष्ट

logo
प्रकाशित २०७४ मंसिर २७ बुधबार
rajapa_news_aa.JPG

काठमाडौं । प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनमा सम्मानजनक स्थान हासिल गरेका संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीले नयाँ सरकारमा जाने संकेत गरेका छन् । फोरम र राजपाले दुई नम्बर प्रदेशमा गठबन्धन गरेर चुनाव लडेका थिए ।

केन्द्रमा संविधान संशोधनको मुद्दा पहिलो हुने र प्रदेशमा प्रदेशको सिमाङ्कन एवं स्वायत्त, संरक्षित क्षेत्र निर्धारण प्रमुख मुद्दा हुने बताएका यी दुई शक्तिले पार्टी एकता गर्ने पनि भनेका छन् । यद्यपि, यी दुई दलले खुलेर नभने पनि सरकारमा जाने संकेत गरेका छन् ।

राष्ट्रिय जनता पार्टी राजपा नेपालको अध्यक्ष मण्डलका एक सदस्य एवं सर्लाही क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित महिन्द्र राय यादवले स्पष्ट बहुमत ल्याएको बाम गठबन्धनको प्रस्तुत शैली हेरेर सरकारमा जाने नजाने निधो हुने बताए ।

उनले भने, ‘समानुपातिकको परिणाम आएपछि वाम गठबन्धनले हामीप्रति कस्तो भावना राख्छ भन्ने कुराले निर्धारण गर्दछ । चुनावमा जाँदा एमालेले निर्वाचन पछि संविधान संशोधनबारे छलफल गर्न सकिने बताएको छ । माओवादीले त संविधान संशोधनको पक्षमा मतदान नै गरेको छ । हाम्रो भनाई अब त्यो मुद्दामा दुवै दल आउनु पर्छ ।’ मुलुकको समृद्धि चाहने हो भने पहिले संविधान संशोधन हुनै पर्छ ।

उनले अहिलेको जनमतले आफुहरुको मुद्दा अनुमोदन भएर आएको र जनताले त्यो पूरा गर्न भनि जनादेश दिएको पनि, भनेका छन् । यस्तै, यादवले काँग्रेसले विगतमा संविधान संशोधनमा सघाएपनि अहिले कांग्रेसलाई जनताले नरुचाएको बताए । काँग्रेससहितको लोकतान्त्रिक गठबन्ध बनाउने कुरा भएपनि त्यसो हुन नसकेको उनको भनाई छ । काँग्रेसप्रति उनले असन्तुष्टि पनि पोखे । उनले आफुहरुले काँग्रेसलाई पराजित गरेको समेत सुनाए । उनको भनाईले पनि राजपा सरकारमा जाने संकेत दिएको छ ।

यस्तै, राजपाकै अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले २ नम्बर प्रदेशमा आफुहरुको सरकार बन्ने पक्का भएपनि केन्द्र सरकारमा जाने विषयमा समानुपातिकको परिणाम आएपछि मात्रै छलफल हुने बताएका छन् । उनले पनि संविधान संशोधनको मुद्दा प्रमुख हुने र त्यसको लागि बहुमत प्राप्त गर्ने शक्ति जिम्मेवार रहने बताए । उनले सरकारमा जाने विषय प्रमुख होइन, भने । यद्यपि, संविधान संशोधनन गर्न दुई तिहाई आवश्यक पर्ने भएकाले पनि मधेस केन्द्रीत शक्ति सरकारमा सहभागि हुने देखिएको छ ।

एकजना जानकारले भनेका छन्, ‘चाइना कार्डले अब ठूलो काम गर्ने छ । अबको वामपन्थी सरकारले मधेसलाई विश्वासमा लिन सुरुमा कमला डार्भसनको काम सुरु गर्ने छ । जसमा चीनको बढी चाँसो छ । अहिले बंगलादेश र भुटान समेत चीनतर्फ ढल्किएका छन् । भारतसँगको व्यापार घटेको छ । चीनसँग व्यापारिक कारोबार बढेको छ ।’ नेपाल पनि अब चीनसँग बढी नजिक हुने पक्का छ ।
अर्कोतिर संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव वाम गठबन्धनसँगको परामर्शमा रहेको बताइँदै छ । अध्यक्ष यादवले संविधान नसच्याइएसम्म मुलुक अघि नबढ्ने बताइरहेका छन् ।

उनले राजनीतिक सहमतिमै संविधान संशोधन हुने पनि बताएका छन् । संविधानमा निर्वाचन प्रणाली, शासकीय स्वरुप र संघीय संरचना, क्षेत्राधिकार र शक्तिको बाँडफाँटमा संविधान संशोधन गर्नुपर्नेमा उनको जोड छ । उनले वाम गठबन्धन संवेदनशील भए संशोधन सम्भव रहेको बताएका छन् ।

उनले मधेसी गठबन्धनले मात्रै चाहेर संविधान संशोधन हुन नसक्ने भन्दै  राजनीतिक सहमति आवश्यक रहेको भनेका छन् । उनको भनाईले पनि संविधान संशोधनका लागि वाम गठबन्धनसँग मिल्नुको विकल्प नरहेको संकेत आएको छ ।

तर, यादवले यथास्थितिमा मधेसी गठबन्धन सरकारमा जाँदैन भनेका छन् । हचुवाको भरमा आफुहरु केन्द्रमा सरकारमा नजाने उनको भनाई छ । प्रदेश २ मा भने सरकार बनाउन आवश्यक बहुमत पुग्ने भएकाले सरकार गठन हुनेछ । प्रतिनिधिसभामा प्रत्यक्ष तर्फ राजपाले ११ र संघीय समाजवादीले १० सिट ल्याएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ