arrow

हनुमानढोका क्षेत्रमा जथाभावी पार्किङ, महानगर मौन

logo
अच्युत रेग्मी,
प्रकाशित २०७४ पुष ४ मंगलबार
newroad_parking.jpg

काठमाडौं। सवारी साधन प्रवेश निषेध गरिएको वसन्तपुर–हनुमानढोका दरबार क्षेत्र सवारी साधनको अनियन्त्रित पार्किङस्थलमा परिणत हुन थालेको छ। सन् १९७९ मा विश्वसम्पदा सूचीमा सूचीकृत भएको संवेदनशील हनुमानढोका दरबार क्षेत्रमा सरकारले सवारी प्रवेश निषेध गरे पनि आजभोलि खुलेआम सवारी साधन प्रवेश हुने गरेका छन्।

वसन्तपुर दरबार परिसरमा राशन, पानी, सामानका सवारी साधन लैजानका लागि सरकारले बेलुका ८ देखि बिहान ८ बजेसम्मको समय तोकेको छ, तर आजभोलि त्यस क्षेत्रमा दिउँसै यस्ता सवारी साधन बग्रेल्ती दौडिरहेको पाइन्छ।

विसं २०७२ वैशाख १२ को विनाशकारी भूकम्पले क्षतविक्षत बनेको वसन्तपुर दरबार क्षेत्र यतिबेला पुनःनिर्माण हुँदैछ। भग्नावशेष जताततै छरपस्ट छ, र यस्ता महत्वपूर्ण पुरातात्विक ऐतिहासिक सामग्रीको सुरक्षामा समेत यसले चुनौती थपेको छ। पुनःनिर्माणको बहाना पारेर अहिले परिसरभित्रका सुरक्षा निकाय, कर्मचारी र स्थानीयवासीका सवारी साधन परिसरभित्र राख्ने गरेको देखिन्छ।

जथाभावी ट्याक्सी, रिक्सा पार्किङ र व्यापारको नाममा पर्यटकलाई आफ्नो सामान बिक्री गर्न पछिपछि लाग्नुले पर्यटकलाई असुविधा हुनाका साथै सो क्षेत्रको सौन्दर्य कुरुप बनेको छ। वसन्तपुरका स्थानीय विजयरत्न खड्गी पहिले वसन्तपुर परिसरमा सवारी लैजान पासको व्यवस्था भए पनि अहिले सुरक्षा निकाय र कर्मचारीका सवारी साधन जथाभावी प्रवेश भइरहेको बताउछन्। “विशिष्ट महत्व बोकेका असन, इन्द्रचोक र काष्ठमण्डपभित्रको अव्यवस्थित पार्किङ हटाउने काम सरकारको हो”, उनले भने।

वसन्तपुर क्षेत्रमा प्रवेश गर्न पाँचवटा प्रवेशद्वार छन्। एक नम्बर प्रवेशद्वार जुद्ध शालिक, दुई नम्बर प्रवेशद्वार झोँछे, तीन नम्बर काष्ठमण्डप, चार नम्बर प्याफल र पाँच नम्बर प्रवेशद्वार मखन हो। उक्त पाँचवटा प्रवेशद्वारभित्रको स्थान सवारी निषेधित क्षेत्र हो।

काठमाडौँ महानगरपालिकाले दरबारको संरक्षणका लागि निर्माण गरेको हनुमानढोका दरबार क्षेत्र संरक्षण कार्यक्रमका प्रशासकीय अधिकृत चीन बज्राचार्य परिसरभित्र सवारी प्रवेश रोक्नका लागि महानगरले नगर प्रहरी र सुरक्षागार्डको प्रयोग गरेको बताउछन्। “मेरो घर, अफिस भित्र हो भनेर नगर प्रहरीलाई झुक्याएर मानिसहरु सवारी साधनसहित परिसरभित्र प्रवेश गराइरहेका छन्”, उनले गुनासो गरे।

बाहिर पार्किङको समस्या रहेको कारण देखाउँदै मानिसले परिसरभित्र सवारी ल्याउने गरेको उनको भनाइ छ। बज्राचार्यले ट्राफिक प्रहरी नहुँदा नगर प्रहरीलाई कर्मचारी र सुरक्षाकर्मीले नटेर्ने गरेको गुनासो पोखे।

विसं २०६६ मा परिसरभित्र छिर्ने सवारी साधनलाई दिउँसो प्रवेशमा पूर्णरुपमा निषेध गरिएको थियो। तर अहिले बलमिच्याइँ गरी निर्वाध प्रवेश भइरहेका छन्। सरकारले हनुमानढोका दरबार परिसरसँगै पाटन र भक्तपुर दरबार क्षेत्रमा समेत सवारी साधन आगमनमा रोक लगाएको थियो।

हनुमानढोका दरबार परिसरभित्र राजा रत्न मल्लदेखि पृथ्वी वीरविक्रम शाहका पालासम्म निर्माण गरिएका ऐतिहासिक भवनहरु छन्। साथै, तलेजु मन्दिर, जगन्नाथ मन्दिर, शिव–पार्वती मन्दिर, ठूलो घण्टा, कालभैरव, मैजुदेवल, कुमारीघर, वसन्तपुर दरबार, गद्दी बैठक, काष्ठमण्डपलगायत मुख्य आकर्षणका स्मारक रहेका छन्। त्यसैले पनि उक्त क्षेत्रलाई विश्वसम्पदा सूचीमा सूचीकृत गरिएको हो।

संरक्षण कार्यक्रमले विभिन्न गुठीसँग सहकार्य गरेर भूकम्पले क्षति पुर्‍याएका वसन्तपुर क्षेत्रभित्र रहेका कंकेश्वर मन्दिर, अशोक विनायक गुठी घरको छानो, मखन पशुपतिनाथ मन्दिरको भजन घरको छानो, नगरा बाजा राख्ने ठाउँ र सिंहासत्तल निर्माण गरिरहेको छ। रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ