arrow

एमालेबाट जितेका वडाध्यक्षले कर्मचारी कुटे

logo
प्रकाशित २०७४ पुष ५ बुधबार
Pokhara_Lekhnath_Mahanagarpalika.png

पोखरा। आफूलाई प्रमुख अतिथि नबनाएको झोकमा पोखरा महानगरपालिका –१३ का वडाध्यक्ष दर्शन लामाले महानगर पशु सेवा शाखाका प्रमुख ठगेन्द्रप्रसाद अर्याललाई कुटपिट गरेका छन्।

एमाले निकट युवा संघका केन्द्रीय नेता वडाध्यक्षमा विजयी हुनु अघि स्थानीय गुण्डाका रुपमा परिचित व्यक्ति हुन्। उनले कांग्रेस नगर सभापति बजिरमान श्रेष्ठलाई पराजित गर्दै वडाध्यक्षमा विजयी भएका हुन्। कुटाइ खाने पशु चिकित्सक अर्याल कांग्रेस निकट नेपाल निजामति कर्मचारी युनियन संघ आबद्ध कर्मचारी हुन्।

वित्तीय समानीकरण अन्तर्गत महानगरमा आएको बजेट अन्यत्रै खर्च गरिएपछि आर्थिक वर्ष सुरु भएको ५ महिनापछि मात्र महानगरले पशु विकासको कार्याक्रम ल्याएको थियो। अघिल्लो वर्ष कास्कीमा पशु विकासमा ७ करोड रुपैयाँ खर्च भएको भए पनि यो वर्ष भने कास्कीको धेरै ठाउँ ओगटेको महानगरमा पशु विकासका लागि १ करोड ४० लाख रुपैयाँ बिनियोजन गरिएको छ।

महानगर आफैले बेलैमा बजेट विनियोजन नगर्ने र जनप्रतिनिधि कर्मचारीलाई दोष देखाउँदै पन्छिने गरेकोमा यसपालि त वडाध्यक्षले कर्मचारी नै कुटेका छन्। पोखरा महानगरपालिका १४ स्थित आर्बा सेवा केन्द्रस्तरीय व्यवसायिक किसानको कार्यक्रममा वडा नम्बर १३ का अध्यक्ष दर्शन लामाले अर्याललाई कुटेका हुन्। महानगर शाखा प्रमुख अर्यालले वडा अध्यक्ष लामाले आफूलाई गाली गलौज र कुटपिट गरेको बताए। आर्बा युवा क्लबको भवनमा कार्यक्रमको लागि १२ बजे पुगेका वडाध्यक्ष लामाले दादागिरी शैलीमा बाहिर बोलाएर गल्लीमा लगेर कुटेको उनले जनाए। अर्यालले वडाध्यक्ष लामालाई कार्यक्रममा आफैले फोन गरेर बोलाएकोमा उल्टै कारवाही गर्ने धम्कीसमेत दिएको बताए।

वडाध्यक्ष लामाले भने शाखाका प्रमुख अर्यालले धकेलेर पहिला हात हालेपछि धकेलाधकेल भएको बताए। वडाभित्र कार्यक्रम गर्दा आफूलाई सोध्न आग्रह गरेको, शाखा अधिकृत अर्याललाई प्रमुख अतिथि बनाएर आफूलाई औपचारिकताको लागि बोलाएपछि विरोध गरेको उनले स्वीकारे।

आर्बा सेवा केन्द्रका प्रमुख कमला खत्रीले सेवा केन्द्रस्तरीय कार्यक्रममा महानगरको वडा नम्बर ११, १२ र १३ का किसानलाई बोलाएको कार्यक्रम स्थगित भएको बताइन्। उनले १५ जना किसान सहभागी भएपछि वडाध्यक्ष लामालाई खबर गरेको जनाइन्। ‘वडा अध्यक्ष लामाको पर्खाइमा थियौं,’उनले भनिन्, ‘कार्यक्रमको प्रमुख अतिथि तय भएको समेत थिएन।’वडाध्यक्ष लामा आएपछि कार्यक्रमको ढाँचा बनाउने योजनामा रहेको बताइन्। उनले वडाध्यक्ष लामाले अर्याललाई नराम्रो शब्द प्रयोग गरेको र नमस्कार गर्दा समेत नफर्काएको बताइन्।

घटनाको विषयमा आफै प्रहरीलाई खबर गरेका वडा अध्यक्ष लामाले वडा प्रहरी रामबजारमा ठाडो उजुरी दिएका छन्। दुवै पक्षलाई प्रहरी बिट रामबजारमा बोलाए पनि अध्यक्ष लामा मात्र त्यहाँ पुगेका थिए। वडा प्रहरी कार्यालय रामबजारका प्रमुख निरीक्षक दीपकबहादुर केसीले महानगरको पशु सेवाको कार्यक्रमको विषयमा २ पक्षबीच झगडा भएको बताए। महानगरको मुद्दा भएको उल्लेख गर्दै उनले घटनाको एक पक्ष नआएको कारण महानगरमै पठाएको जानकारी दिए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ