arrow

नीतिगत त्रुटीः घना बस्तीमै ग्यास उद्योग, कहाँ कहाँ खतरा ?

logo
प्रकाशित २०७४ पुष १२ बुधबार
gas-bisfot.jpg

काठमाडौं । देशभर सञ्चालनमा रहेका ग्यास उद्योगका कारण थुप्रै घनाबस्ती सुरक्षाको उच्च जोखिममा परेका छन्। उद्योग सञ्चालन गर्ने अनुमति दिने सरकारले उद्योग सञ्चालनपछि बस्ती विस्तार रोक्न नसक्दा बस्तीमा जोखिम निम्तिएको हो। ग्यास उद्योगसँगैको मानव बस्ती सुरक्षाका हिसाबले ज्वालामुखीको मुखमा जस्तै जोखिमयुक्त हुने विज्ञहरूले बताएका छन्।

देशभर सञ्चालनमा रहेका अधिकांश ग्यास उद्योग घनाबस्ती नजिकै रहेको पाइएको छ। उद्योग वरिपरी घर बनाएर बसोबास गर्दै आएका सर्वसाधारण ग्यासजस्तो उच्च प्रज्ज्वलनशील पदार्थका कारण त्रासमै जीवन बिताउन बाध्य छन्। ग्यास उद्योग सञ्चालन गर्ने अनुमतिपत्र उद्योग विभागले प्रदान गर्दै आएको छ। कच्चा पदार्थ उपलब्ध गराएर व्यापारिक कारोबार गर्ने सहमति आयल निगमले दिन्छ।

उद्योग विभागले उद्योग सञ्चालन पूर्व विभिन्न प्रक्रिया पूरा गरेका आधारमा अनुमति प्रदान गरे पनि उद्योग स्थापना भएर सञ्चालनमा आएपछि त्यस्ता उद्योगमा आफ्नो उपस्थिति कहिले नदेखाउने प्रवृतिका कारण अहिले सर्वसाधारण उच्च जोखिमा परेका छन्। घटना भइसकेपछि मात्रै जाग्ने सरकारी प्रवृतिका कारण उपत्यकासहित ग्यास उद्योग सञ्चालन रहेका जिल्लाका सर्वसाधारण खतरामा परेका छन्। सुरक्षासम्बन्धी बलियो नीति, संयन्त्र र मापदण्ड तयार नगर्दा पछिल्लो समयमा वीरगन्जको घटना घटेको हो। केही दिनअघि वीरगन्जको ग्यास उद्योगमा आगलागी हुँदा ठूलो क्षति हुनुका साथै दुई जनाको ज्यानसमेत गएको थियो।

सरकारले बोटलिङ तथा रिफिलिङ सेन्टरको निर्धारण गरेको मापदण्डविपरीत सञ्चालनमा रहेका उद्योगका कारण वरिपरीका मानव बस्ती उच्च खतरामा परेका छन्। आयल निगमले यस्ता उद्योगका लागि ‘एलपी ग्यास विनियमावली २०६५ु तयार गरी जारी गरेको छ। विनियमावलीमा गाउँ बस्तीभन्दा पाँच किलोमिटर टाडा उद्योग स्थापना गर्नुपर्ने उल्लेख छ। यस्तै विनियमावलीले प्रस्तावित वा एक उद्योगदेखि अर्को उद्योगबीचको दूरी कम्तीमा पाँच किलोमिटर हुनुपर्ने व्यवस्था गरेको छ। अध्ययनका क्रममा अत्यधिक ग्यास उद्योग रहेका काठमाडौं, धादिङ, काभ्रेपलाञ्चोक, बारा, पर्सा, चितवन, मोरङ, सुनसरी र झापाका ग्यास उद्योगीले निगमको यो मापदण्डपालना नगरी उद्योग सञ्चालन गरेको पाइयो।

उद्योग वरिपरी घर बनाएर बसोबास गर्दै आएका सर्वसाधारण ग्यासजस्तो उच्च प्रज्ज्वलनशील पदार्थका कारण त्रासमै जीवन बिताउन बाध्य छन्।

प्रायः सबै उद्योग घना बस्तीसँगै र बस्तीको बीचमै सञ्चालनमा छन्। उद्योगले निगमले तयार पारेको मापदण्ड पालना नगरेको भेटिएको छ। वीरगन्जको सुपर ग्यास उद्योगमा भएको आगलागीको घटनापछि पर्सा, बारा, धादिङ, काभ्रेपलाञ्चोक, काठमाडौं, चितवन, झापा, मोरङ र सुनसरीमा रहेका दर्जनौंको संख्याका उद्योग आसपासका बस्ती थप त्रसित बनेका छन्।

असुरक्षाका दृष्टिकोणले जति उद्योगी जिम्मेवार छन, त्यतिकै स्थानीय जिल्ला प्रशासन कार्यालय, घरेलु उद्योग कार्यालय, उद्योग विभाग, गुणस्तर तथा नापतौल विभाग र निगम पनि उत्तिकै जिम्मेवार छन्। घना मानव वस्तीबाट साढे दुई किलो मिटर र सानो वस्तीबाट एक किलोमिटरको दूरीमा मात्रै ग्यास उद्योग स्थापना गर्न पाउने व्यवस्था उद्योग मन्त्रालयको पुरानो नीतिमा उल्लेख छ।

बाराको सिमरास्थित नेपाल ग्यास उद्योगका प्रमुख जीवन छत्कुलीले भने, ‘उद्योग मन्त्रालयको सोही नीतिअनुसार तत्कालीन समयमा हामीले उद्योग निर्माण गरेका थियौं, अब उद्योग वरिपरी बस्ती विस्तार हुँदा हामी दोषी कसरी भयौं ?’

उद्योगीले भने तत्कालीन समयमा उद्योग स्थापना गर्दा मानव बस्तीभन्दा निकै टाढा उद्योग सञ्चालन गरेको दाबी गरेका छन्। ‘उद्योग मन्त्रालयले तोकेको मापदण्डअनुसार नै हामीले तत्कालीन समयमा मानववस्तीभन्दा निकै टाढा उद्योग स्थापना गर्‍यौं’ छत्कुलीले भने, ‘हामीले उद्योग स्थापना गर्दा जंगल मात्रै थियो। अहिले जनघनत्व वृद्धि भएर उद्योग वरिपरी घना बस्ती बनेको हो। उद्योग वरिपरी बस्ती विस्तार रोक्ने काम उद्योगीको होइन, सरकारले नै कडाइका साथ उद्योग वरिपरी बस्ती विस्तार गर्न रोक लगाउनुपर्ने हो।’

बालाजुस्थित नेपाल ग्यास उद्योगका कारण स्थानीयबासी अहिले उच्च जोखिममा परेका छन्। उद्योग निर्माण ताका सघन बस्ती थिएन्। तर, अहिले जनसंख्या वृद्धिसँगै घना बस्ती तयार भएको छ। यस्तो अवस्थामा उद्योगलाई भवितव्यमा हुन सक्ने क्षतिको आंकलन नगरी सरकारले दिएको क्षमता विस्तारको अनुमतिले सरकार नै दोषी रहेको छर्लङ भएको छ। 

नेपाल ग्यासले अहिले कुल दुई सय मेट्रिक टन क्षमताको प्लान्ट विस्तार गरी एक हजार मेट्रिक टन क्षमताको बनाउन लागेको छ। नेपाल ग्याससँगै एभरेस्ट ग्यास, पशुपति र भ्याली अटो ग्यास उद्योगका कारण सर्वसाधारण जोखिममा परेका छन्। यसबाहेक मानव सघन बस्तीकै बीचमा रहेका ग्यास भण्डारण गर्ने डिपोका कारण उपत्यकाबासी खतरामा बस्न बाध्य भएका छन्।

नीतिमै त्रुटि
ग्यास उद्योगीले आफूखुसी गर्नुमा नीतिगत त्रुटि नै प्रमुख कारण देखिएको छ। उद्योग विभागले वातावरणीय प्रभाव मूल्यांकन र अन्य मापदण्ड पूरा गरेको अवस्थामा उद्योगलाई अनुमतिपत्र प्रदान गर्छ। सोही अनुमतिपत्रका आधारमा निगमले कच्चा पदार्थ भित्र्याउन उद्योगीलाई व्यापारिक कारोबार गर्न दिने विषयमा सैद्धान्तिक सहमति प्रदान गर्छ। तसर्थ, उद्योगको लापरबाहीले कुनै भवितव्य घटना निम्तिए त्यसको सम्पूर्ण जिम्मेवारी पनि उद्योग मन्त्रालयले नै लिनुपर्ने निगमसम्बद्ध अधिकारीको भनाइ छ।

यसले गर्दा उद्योगबाटै अनुमति पाइसकेका यस्ता उद्योगले निगमले तयार पारेको मापदण्ड गाउँ बस्तीभन्दा पाँच किलोमिटरको दूरीमा उद्योग स्थापनाु गर्नुपर्ने र ‘प्रस्तावित वा एक उद्योगदेखि अर्को उद्योगबीचको दूरी कम्तीमा पाँच किलोमिटर हुनुपर्ने व्यवस्थालाई लत्याउँदै हिडेका छन्। ‘कानुनी रूपमा यो नीतिगत त्रुटिका कारण उद्योगसँग बस्ती उच्च जोखिममा परेका छन्ु, निगमका कार्यकारी निर्देशक सुशील भट्टराईले भने,‘उद्योग सञ्चालन गर्न अनुमति प्रदान गर्ने उद्योग विभागले नै विशेष शर्तका रूपमा बस्तीभन्दा पाँच किलोमिटर टाढा र एक उद्योगबाट अर्को उद्योगको दूरी पाँच किलोमिटर भन्ने आशयसहितको व्यवस्था गरिएको भए समस्या आउन सक्दैन थियो।’

भट्टराईका अनुसार योसँगै उद्योग विभागले उद्योग सञ्चालन हुने क्षेत्र र उद्योगभित्र जडान हुने सम्पूर्ण उपकरण र बिष्फोट्नसम्बन्धी मापदण्डसमेत विशेष शर्तका रूपमा व्यवस्था गरिदिएको भए ग्यास उद्योगका कारण आज देखिएको असुरक्षाको अवस्था सिर्जना हुन सक्दैन्थ्यो। ‘उद्योग सञ्चालन गर्न अनुमति प्रदान गर्ने निकायले समय सुहाउँदो मापदण्ड नबनाउँदा सर्वसाधारणको घना बस्तीहरु उच्च जोखिममा परेका छन्ु, भट्टराईले भने,‘अनुमति प्रदान गर्ने उद्योग विभागले अनुगमन नगरिदिने प्रवृतिका कारण समस्या झन बल्झिँदै गएको छ।’

 धादिङ उच्च जोखिममा, काभ्रेमा तीन उद्योगसँगै
धादिङको अवस्था पनि फरक छैन। ग्यास उद्योग सबैभन्दा बढी संख्यामा धादिङमै छन्। यो जिल्लामा १९ वटा उद्योग सञ्चालित छन्। घना बस्तीको बीचमै सुगम, एचपी, अर्धसरकारी स्वामित्वको एसटीसी, श्री ग्यास, श्रीकृष्ण, ओमलगायत ब्रान्डका उद्योग सञ्चालनमा छन्। 

धादिङको नौबीसेदेखि मकवानपुरको मुगलिङसम्मको क्षेत्रमा मात्रै ३० वटा पेट्रोल पम्प र १९ वटा ग्यास उद्योग निर्माण भएका छन्। ती सबै राजमार्गसँगै जोडिएका र बस्ती वरिपरी छन्।

धादिङका प्रमुख जिल्ला अधिकारी श्यामप्रसाद भण्डारीले धादिङ जिल्लाका सबै उद्योग मापदण्ड बाहिर सञ्चालनमा आएकाले स्थानीयबासी र बस्ती उच्च खतरामा रहेको जानकारी दिए। उनले भने,‘उद्योग विभागको नीतिका कारण स्थानीयबासी असुरक्षित हुनपरेको छ। मापदण्ड विपरीत उद्योग सञ्चालनमा छ भनेर माथिल्लो निकायलाई जानकारी भए पनि माथिल्लो निकायबाट कारबाही गर्न कुनै निर्देशन आउँदैन। निर्देशन आएको अवस्थामा कारबाही गर्न हामी पछि पर्दैनौं।

काभ्रेमा पनि ग्यास उद्योगका कारण स्थानीय मानवबस्ती असुरक्षित देखिएको छ। मापदण्ड विपरीत बनेपामा तीन वटा उद्योग सञ्चालनमा छन्। मापदण्डका बारेमा सर्वोच्च अदालतमा मुद्दा बिचाराधिन भएको अवस्थामा पनि एउटा उद्योगका कारण स्थानीय मानववस्ती जोखिम मोलेर बस्दै आएका छन्। बनेपाको सूर्य, चण्डेश्वरी र सगरमाथा ग्यास उद्योग तीन सय दूरीभित्र स्थापना भएका छन्। ती उद्योगसँगै मानववस्ती पनि छ।

सूर्य र चण्डेश्वरी ब्रान्डको दुई उद्योगका सञ्चालक पनि एउटै छन्। अनि ती दुवै उद्योगको सीमाना पनि एक मात्र पर्खालले छुट्टयाइको छ। ‘उद्योगीको यस्तो बदमासीका कारण स्थानीय बासिन्दा खतरा मोलेर बस्न बाध्य छन्ु, प्रमुख जिल्ला अधिकारी शिवप्रसाद सिम्खडाले भने।

सिम्खडाका अनुसार बनेपा ४ मा सगरमाथा, बनेपा १० मा सूर्य ग्यास, सोही स्थानमा चण्डेश्वरी ग्यास, उग्रचण्डी ग्यास, भैंसेपाटीमा गौरिशंकर ग्यास र हिमाल ग्यास उद्योग घनावस्तीमा सञ्चालन भइरहेका छन्। ‘उद्योगले पालन गर्नुपर्ने अत्यावश्यक मापदण्ड र सुरक्षासम्बन्धी उपायसमेत पालन गरेका छैनन्। आफूखुसी उद्योग सञ्चालन गरेको भेटिएको छ’, उनले भने, ‘काभ्रेमा सञ्चालित अधिकांश उद्योग बस्ती नजिकै सञ्चालन छन्।’

 एक किलोमिटरमा तीन उद्योगचितवन –
नेपाल आयल निगमको मापदण्डअनुसार ग्यास उद्योग सञ्चालन गर्न मानव बस्तीबाट कम्तीमा पाँच किलोमिटर टाडा हुनुपर्छ। त्यति नै दूरीको फरकमा अर्को उद्योग रहनुपर्छ। तर, चितवनको वैरहनीमा सय मिटरको दूरीमा तीन वटा ग्यास उद्योग सञ्चालनमा छन्। साइबाबा ग्यास, नारायणी ग्यास र लोकप्रिय ग्यास उद्योग एकै स्थानमा सञ्चालनमा छन्। पूर्वपश्चिम राजमार्ग नजिक खैरहनी नगरपालिकाको ९ मा रहेका यी उद्योग एकबाट अर्को पाँच सय मिटरभन्दा कम दूरीमा छन्। आयल निगमले कार्यविधि लागू गर्नु अघि नै उद्योग स्थापना भएको सञ्चालक बताउँछन्।

खाली स्थानमा उद्योग राखेपछि विस्तारै बस्ती बसेको नारायणी ग्यासका सञ्चालक राजेन्द्रप्रसाद बुर्लाकोटीले बताए। ‘बस्ती नजिक राखेकै होइन बस्ती आफै नजिक आएको होु, उनले भने, ‘उद्योगका लागि बाटो बिजुलीको सुविधाले बस्ती विकास हुन्छ। अर्काको घर नबनाउनु भन्न मिलेन।ु ग्यास उद्योगको नजिक दुई वटा पेट्रोल पम्प पनि छन्। 

राजमार्गसँगै जोडिएको नारायणी फ्यूल र रामलक्ष्मण आयल सञ्चालनमा छन्। सञ्चालकले वरिपरी आफ्नै जग्गा राखेर त्यसका बीचमा उद्योग चलाएको बताए। स्थानीयको सुरक्षाको प्रबन्धसहित उद्योग चलाएको दाबी साइबाबा ग्यास उद्योगका प्रबन्धक संजोग खरेलले बताए। घर छेउमै ग्यास उद्योग भएको कारण डर हुने गरेको खैरहनी ९ इन्द्रकला कँडेलले बताइन्। 

उनको घर पछाडि सय मिटर दूरीमा उद्योग छ। वीरगन्जको ग्याास उद्योगमा आगलागी भएको घटनापछि उनले जोखिमको महसुस गरेकी छन्। उद्योगलाई दोष दिएपनि उनीहरू आफै त्यसको नजिक बस्न छाडेका छैनन्। (अन्नपूर्ण पोष्ट दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ