arrow

बामदेव गौतम र माधव नेपालले किन कांग्रेसको एजेण्डा बोल्दैछन्, केपी कामरेड ? 

logo
प्रकाशित २०७४ पुष १५ शनिबार
KP-oli-talking-new.jpg.jpeg

काठमाडौं । एमाले उपाध्यक्ष वामदेव गौतमले पार्टी अध्यक्ष केपी शर्मा ओली निकटका नेताहरु भन्दा फरक विचार प्रस्तुत गरे । शुक्रबार राष्ट्रपतिले अध्यादेश स्वीकृत गरिसकेपछिको प्रतिक्रियाको क्रममा एमालेका उपाध्यक्ष समेत रहेका बामदेव गौतमले यस्तो धारणा व्यक्त गरेपछि एमालेभित्रको विवाद छताछुल्ल भएको हो । गौतमले बिहीबारको स्थायी समिति बैठकमा नै कांग्रेसले सबै प्रक्रिया अड्काएर सत्ता लम्ब्याउन चाहिरहेका वेला अध्यादेशका सम्बन्धमा पार्टी बहुमतीय अडानमा अडिन नहुने फरक धारणा राखेका थिए। 

अहिले तत्काल सरकार गठन गर्नुपर्ने विषयमा एमालेको प्रतिपक्षमा रहेको दुई प्रमुख नेताहरु माधवकुमार नेपाल र गौतम ओलीको सो अभिव्यक्तिको विपक्षमा हुनेगरी अभिव्यक्ति दिँदैगर्दा एमालेभित्र पार्टी अध्यक्ष केपी ओलीको घर भने कमजोर बन्दै गएको आभाष हुन थालिसकेको छ । केपी ओली निकटका नेताहरुले भने अझैसम्म पनि राष्ट्रिय सभा गठन अघि नयाँ सरकार बनाउनै पर्ने पक्षमा आफ्नो मत जाहेर गर्दै आएका छन् । 

शुक्रबारसम्म अध्यादेशमा रहेको एकल संक्रमणीय मत प्रणाली र बहुमतीय मत प्रणालीको विषयमा बहस गरिरहेकाहरु अहिले एक्कासी नयाँ सरकार राष्ट्रिय सभा अघि कि पछि भन्ने विषयमा विवादमा छन् । एमालेले प्रतिनिधिसभा पूर्ण भएलगत्तै सरकार बन्ने तर्क गर्दै राष्ट्रिय सभा गठन अघि नै सरकार बनाउनु पर्ने जिकिर गर्दै आएका छन् । त्यसका लागि निर्वाचन आयोगले तत्काल प्रतिनिधिसभाको समानुपातिकतर्फको सिट संख्या सार्वजनिक गर्नुपर्ने अडान एमालेको छ । 

तर कांग्रेसले राष्ट्रिय सभा गठन नभई नयाँ सरकार बन्न नसक्ने जिकिर गरिरहेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा प्रदेश सभा प्रमुख नियुक्ति, अस्थायी राजधानी तोक्ने, राष्ट्रिय सभा निर्वाचन गर्ने र राष्ट्रिय सभामा सरकारले मनोनीत गर्ने तीन सदस्य मनोनीत गरेर मात्र सरकार छाड्ने मनस्थितिमा छन् । यस्तो स्थितीमा एमालेकै उपाध्यक्ष बामदेव गौतमले एमालेको अडान छाडेर काँग्रेसको एजेण्डामा बोल्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।  

शुक्रबार पत्रकारहरुसँगको कुराकानीमा उपाध्यक्ष गौतमले ‘मैले अध्यादेश हेर्न पाएको छैन, तर पहिले राष्ट्रिय सभा गठन हुन्छ, त्यसपछि मात्र नयाँ सरकार बन्छ,’ भनेका थिए । उनले राष्ट्रिय सभाले सरकार बनाउने होइन, तर, एकतिहाइ महिला सदस्यको सुनिश्चितताका लागि संविधानले राष्ट्रिय सभालाई पनि प्रतिनिधिसभासँगै जोडेकाले कन्फ्युजन सिर्जना भएर सरकार बनाउने कुरासँग पनि जोडिएकाले निर्वाचन आयोगले अडान राख्यो, त्यसकारण भविष्यमा संविधानमा भएका कमजोरी सच्याउनुपर्ने देखिएको बताएका थिए । 

गौतमको यो अभिव्यक्तिले गौतम पनि एमालेका अध्यक्ष केपी ओली भन्दा काँग्रेस सभापति शेर बहादुर देउवा नै केही दिन बढी प्रधानमन्त्री बन्न पाउने एजेण्डामा स्वरमा स्वर मिलाएका छन् । उता, एमाले नेता माधवकुमार नेपाल पनि ओलीको भन्दा फरक अभिव्यक्ति दिँदै आएका छन् । राष्ट्रिय सभा सम्बन्धी अध्यादेश पारित हुनुभन्दा अघिसम्म एकलसंक्रमणीय व्यवस्थाकै पक्षमा वकालत गर्दै राष्ट्रिय सभामा काँग्रेसको शून्य सिट बनाउनु उपयुक्त नभएको बताउँदै आएका नेपाल अहिले पनि राष्ट्रिय सभा गठन पछि मात्रै सरकार गठनको पक्षमा देखिएका छन् । 

यसरी आफ्नै पार्टीका अध्यक्ष केपी ओली प्रधानमन्त्री बन्नैलाग्दा एमालेका दुई प्रभावशाली नेताहरु नेपाल र गौतम किन सन्तुष्ट छैनन् ? यो विषयले एमालेमा कत्तिको ठूलो हलचल ल्याउँछ त्यो भने आगामी दिनले देखाउला । तर, काँग्रेसलाई विभिन्न आरोप लगाउने केपी ओलीले आफ्नै घरलाई भने किन बलियो बनाउन सकिरहेका छैनन् ? त्यो भने केपी ओलीले कार्यकर्तालाई उत्तर दिनै पर्ने प्रश्न हो । 

केपी ओलीले चुनाव अघि र पछि पनि पार्टीमा नेपाल र गौतम पक्षका नेताहरुलाई गरेको व्यवहारका कारण गौतम र नेपाल कुनैपनि आधारमा केपी ओलीलाई सहयोग गर्ने पक्षमा देखिँदैनन् । बर्दियाबाट प्रतिनिधि सभा सदस्य निर्वाचनमा पराजीत भएपछि त्यसमा अध्यक्ष ओलीको नै मुख्य हात रहेको गौतम पक्षको आशंका छ । चुनाव अघि धेरै सम्झौताहरुमा गौतमलाई प्रधानमन्त्रीको उम्मेदवारको चर्चामा ल्याएर अहिलेपार्टीले शानदार जितेपछि भने आफूहरुलाई एक्ल्याउने रणनीतिमा ओली लागेपछि भने गौतम पनि ओलीबाट केही टाढा भएको उनी निकट स्रोतले जनाएको छ । नेपाललाई पनि चुनावको चोटले छाडेको छैन । संसदीय दलमा चुनाव जित्नको लागि आफ्ना नेताहरुलाई टिकट नै नदिएर हेपाहा व्यवहार देखाएका ओलीप्रति नेपाल पक्ष त्यही बेलादेखि नै रुष्ट बन्दै आएका थिए । त्यही कारणले पनि नेपाल र गौतम उनीहरु केपी ओली प्रधानमन्त्री भएको देख्नै चाहँदैनन् । उनीहरुको अभिव्यक्तिले पनि ओलीप्रतिको उनीहरुको असन्तुष्टि स्पष्टै देखिन्छ । माओवादीसँगको एकीककरणको विषयमा माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई अध्यक्ष बनाउनुपर्ने तर्कदेखि एकलसंक्रमणीय व्यवस्थाको पक्षमा वकालत गर्नेदेखि सरकार गठन प्रक्रिया राष्ट्रिय सभा गठन पछि मात्रै सरकार गठनको माग राख्नुले पनि एमालेभित्र ओलीको घर बलियो नरहेको स्पष्टै भएको छ । 

अहिले राष्ट्रिय सभा गठन पछि नयाँ सरकार बनाउँदा राष्ट्रिय सभामा सरकारले मनोनीत गर्ने ३ जना सदस्य थप नेपाली काँग्रेसबाट आउने देखिन्छ । त्यति हुँदा हुँदै पनि राष्ट्रिय सभा गठन अघि सरकार बनाउनु हुँदैन भन्दै गौतमले भन्नुले गौतम संसद्मा काँग्रेस बलियो प्रतिपक्षी बनेको देख्न चाहन्छन् । कति कुरा आफ्नै पार्टीका अध्यक्षले गरेको निर्णयमा विरोध जनाउन नमिल्ने भएकोले पनि त्यस्ता विरोधको अपेक्षाको लागि पनि एमालेका गौतम र नेपाल पक्ष संसद्मा काँग्रेस बलियो भएको देख्न चाहिरहेका छन् । आफ्नै पार्टीका दुई प्रमुख नेताहरु विरोधमा किन उत्रिएका छन् । उनीहरुले काँग्रेसको एजेण्डा किन बोलिरहेको छन् । उनीहरुलाई किन अहिलेसम्म व्यवस्थापन गर्न सकेका छैनन् । त्यो प्रश्न ओलीलाई कार्यकर्ताले अवश्यपनि सोध्ने नै छन् ।  


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ