arrow

यस्तो छ विद्यासुन्दरको निरीहता भित्र लुकेको रहस्य

logo
प्रकाशित २०७४ पुष १७ सोमबार
bidhyasundar.JPG

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले काठमाडौंको केन्द्रमा रहेको सडक र त्यसको व्यवस्थापनको बारेमा निरीक्षण गर्नको लागि गत कात्तिक २६ गते महानगरपालिकाको कार्यालय बागदरबारदेखि राष्ट्रिय सभागृहसम्म पैदल निरीक्षण गरे । करिब १ घण्टा भएको सो निरीक्षणका क्रममा मेयर शाक्यले आफ्नै अगाडि धेरै गैरकानूनी कामहरु भएको भेटे । 

सबैभन्दा पहिले मेयर शाक्यले काठमाडौंको सुन्धारामा रहेको विरुवा संरक्षण गर्ने रिङलाई ट्याम्पोले हानेर भत्काईदिएको दृश्य देखे । उनले त्यो कसले गरेको हो तत्कालै कारबाही गर्नको लागि भनेर सम्बन्धित पक्षलाई निर्देशन दिए । त्यसपछि सुन्धारामा तीन लेनसम्म गाडी पार्किङ गरेर राखिएको देखे । पछि पत्रकारहरुसँग कुराकानी गर्दै उनले त्यो ट्राफिक प्रहरीले आफूहरुलाई सहयोग नगरेको बताए । त्यसपछि उनले भोटाहिटीमा ढल फुटेको ठाउँमा आफूले ५ पटकसम्म निर्देशन दिँदा पनि त्यहाँको ढल किन बनेन भन्दै सम्बन्धित महाशाखा प्रमुखसँग स्पष्टीकरण सोधे। उनले निर्देशन दिएका ती नियमविपरित महानगरपालिकाको स्रोतमाथि भएको हस्तक्षेप अहिलेपनि जस्ताका त्यस्तै छन् । उनले दिएका निर्देशनहरु अहिलेसम्म पनि सुनुवाई भएका छैनन्। 

आर्थिक वर्ष २०७४।७५ को स्थानीय बजेट पेश गर्ने बेलामा काठमाडौं महानगरपालिकाले एउटा नयाँ व्यवस्थाको सुरुवात गर्यो । नयाँ जनप्रतिनिधि आएपछिको पहिलो वर्ष नै संघ सरकारको जस्तै स्थानीय व्यवस्थापिकाको बहुमत सदस्यले पारित गरेर छुट्टै आर्थिक ऐन मार्फत् पहिलोपटक स्थानीय तहको बजेट ल्यायो काठमाडौं महानगरपालिकाले । यस समयमा काठमाडौं महानगरपालिका र मेयर विद्यासुन्दरको टिम प्रशंसाको पात्र बन्यो । धेरैको चासोको विषय बनेको काठमाडौं महानगरपालिकामा जनप्रतिनिधिहरुको संलग्नता विना नै ल्याईएको सो बजेटमा ठूला व्यवसायीलाई कर तिर्नै नपर्ने र सानालाई झनै धेरै तिर्नुपर्ने व्यवस्था राखेपछि बजेटप्रति धेरैले आलोचना र विरोध गरे ।

यसमा आर्थिक चलखेलको आरोप पनि लाग्यो । तर, विज्ञहरुको सुझाव र सहयोग विना नै सीमित मान्छेहरुको सक्रियतामा ल्याईएको आर्थिक ऐन ७ दिनभित्रै त्रुटी देखिएपछि परिवर्तन गर्नु पर्यो । उनले नियोजित रुपमा कर्मचारीले एउटा व्यवस्था ल्याउने र त्रुटी भेटेपछि रातारात ऐन नै कसैले थाहा नपाउने गरी परिवर्तन गरिँदिँदा समेत विद्यासुन्दरले महानगरपालिका कोहीपनि कर्मचारीलाई कारबाही गरेनन् । 

उनले एक पटक आफू आलोचनाबाट बच्नको लागि के के गर्न सकिन्छ ? भनेर पत्रकारहरुलाई राष्ट्रिय सभागृहमा बोलाएर सोधेका थिए । त्यतिबेला पत्रकारहरुले पत्रकारलाई राम्रोसँग सूचना दिनसक्ने व्यक्तिलाई प्रवक्ता तोक्न, मेयरको सचिवालयमा पत्रकारसँग कुरा गर्ने एउटा छुट्टै शाखा राख्नुपर्ने लगायतका सुझाव दिएका थिए । तर, उनले तत्कालै ती सुझावहरु कार्यान्वयन गर्ने बताएपनि अहिलेसम्म ज्ञानेन्द्र कार्की र नमराज ढकालबाट प्रवक्ता र सहायक प्रवक्ताको जिम्मेवारी अरु व्यक्तिमा सार्न सकेका छैनन् । जवकि उनीहरु दुबैको टेलिफोनमा अधिकांश पत्रकारले कुरा गर्ने पहुँच राख्दैनन् । अरुलाई प्रवक्ताको जिम्मेवारी दिँदा धेरै सूचनाहरु बाहिरिएर त्यहाँभित्र समस्या सिर्जना हुनसक्ने देखेर नै उनीहरु यी दुई पद अरुलाई दिन चाहँदैनन् । 

पछिल्लो समय रानीपोखरी विवादमा पनि महानगरपालिकाका मेयर शाक्यको निरिहता स्पष्ट झल्किएको छ । रानीपोखरीको पहिलो डिजाईन बनाउने बेलामा दलीय प्रतिनिधिको रुपमा महानगरका अहिलेका मेयर शाक्यले गरेको सम्झौता र उनलाई चुनाव जिताउन महानगरपालिकाका कर्मचारीहरुले गरेको सहयोगको कारण पनि उनी कर्मचारीप्रति नतमस्तक छन् । 

संस्कृति माथिको हस्तक्षेपको आरोप लागिरहेको महानगरबासी पनि उनीप्रति आक्रोशित बन्न थालेका छन् । यही विषयलार्इ लिएर मेयर र उपमेयरबीचको विवाद र त्यसैमाथि संस्कृतिमाथिको हस्तक्षेपका कारण सम्पदाविद्हरुमा समेत अलोकप्रिय बनेका शाक्य किन निरीह छन् त कर्मचारीप्रति ? 

कर्मचारीप्रति उनी नतमस्तक बन्नुमा सबैभन्दा पहिलो कारण त जानी जानी होस् या त नजानेरै किन नहोस् उनलाई समेत त्यहाँका कर्मचारीहरुले गर्ने सबै संस्थाको हित विपरितको काममा सामेल गराईदिएका छन् । आफू मेयर बन्छु भन्ने सोचाई समेत नआईरहेको बेलामा आर्थिक चलखेलमा परी रानीपोखरीको आधुनिक डिजाईनमा हस्ताक्षर हानेपछि नै उनको रानीपोखरीलाई आधुनिक डिजाईनमा बनाउने तर्कमा पक्ष लिनैपर्ने बाध्यता आईपर्याे । अहिले धेरैको आलोचनाको शिकार बन्दा पनि उनको नैतिक धरातल भुलेनन् र कर्मचारीहरुको मिलेमतोकै पक्षमा वकालत गरिरहे । अन्तमा अति नै भएपछि पुरानै शैलीमा बनाउने बाध्य गर्नुको पछाडि केही महत्वपूर्ण विषय जोडिएका छन् । 

त्यसबेलाका प्रमुख कार्यकारी अधिकृत रुद्रसिंह तामाङ र अहिलेका पूर्वाधार विभाग प्रमुख डा. उत्तर कुमार रेग्मीको ड्रिम प्रोजेक्टको रुपमा रहेको सो परियोजनामा यतिसम्म विवाद हुँदा हुँदैपनि मेयर शाक्यले जनमत विपरित अडान राख्नुको पछाडि यही रहस्य लुकेको उनी निकट स्रोत बताउँछ । त्यस्तै, अहिलेका फुटपाथदेखि पुरानो बसपार्कसम्मको अव्यवस्थित व्यापार हटाउन नसक्नुमा पनि उनको मेयर बन्नुभन्दा अघि नै गरेको कामको प्रतिफल मुख्य कारण रहेको छ ।

मेयर शाक्यलाई चुनाव लड्नेबेलामा महानगरपालिकाका प्रशासन विभाग प्रमुख ज्ञानेन्द्र कुमार कार्की नेतृत्वको केही कर्मचारीको टोलीले महानगरपालिकाको स्रोतबाट यसरी नै गैरकानूनी रुपमा उठाएको पैसा पठाएर जिताएको आरोप लाग्ने गरेको छ । त्यतिबेला यही फुटपाथको व्यापारीहरुबाट उठाएको रकम पठाएर चुनाव जिताएका मेयर शाक्य त्यही बेलाबाट नैतिक रुपमा ती कर्मचारीहरु भन्दा तल परिसकेकाले उनले अहिले कर्मचारीहरुले गरेका गैरकानूनी काममा समेत मौन समर्थन गरेर विवाद झेल्नु परिरहेको उनी निकट स्रोतले जानकारी दिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ