arrow

इन्धनको मूल्य बढाइएकोमा नेविसंघको आपत्ति, अन्य संगठन आन्दोलनमा

logo
प्रकाशित २०७४ पुष १९ बुधबार
nebisangh-bidad.jpg.jpeg

काठमाडौं। नेपाल विद्यार्थी संघका सभापति नैनसिंह महरले पेट्रोलियम पर्दार्थको मुल्यबृद्धि फिर्ता गर्न सरकारसँग माग गरेका छन् । रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै सभापति महरले १५ दिनमा दुई पटक पेट्रोलियम पदार्थको मूल्य बढाउने कार्य गलत भएको भन्दै बढाईएको मूल्यबृद्धि फिर्ता गर्न माग गरेका हुन ।

उनले भने, “सरकारले अन्तराष्ट्रिय स्तरमा बढेको मुल्यबृद्धिको आधारमा बढाएको हो या अरु कुनै कारणले हो त्यसको खास कुरा बाहिर आएको छैन, हामी महङगीको बिरोधमा छौ ।” महरले मूल्यवृद्धिको विरोधमा उत्रिएका अनेरास्ववियूका नेता कार्यकर्तामाथि प्रहरी प्रसाशनले धरपकड गरेकोप्रति पनि असन्तुष्टी जनाए । “अनेरास्ववियूका नेता कार्यकर्तामाथि जुन हस्तक्षेप गरेको छ, त्यसको म घोर भत्र्सना गर्दछु ।”

उनले प्रधानमन्त्री शेरबहादुर देउवाको बचाउ गर्दै संविधानअनुसार जिम्मेवारी पूरा गरेर प्रधानमन्त्रीले राजिनामा दिने बताए । उनले भने,“अन्य विद्यार्थी संगठनका साथीहरु सरकारको राजिनामा माग्ने काम गरिरहनु भएको छ, हामी संविधानअनुरु काम गर्नुपर्छ भनिरहेका छौँ, दुईमहिना पछि आफ्नै सरकार बन्ने कुरालाई ध्यानमा राख्न आग्रह गर्दछु ।”

“जनताले दिएको जनमतले ओली मात्रैलाई प्रधानमन्त्री हुनुपर्छ भनेको छैन, जो पनि प्रधानमन्त्री बन्न सक्छन्, तर आज नै ढुङ्गामुढा गर्न, आन्दोलन गर्ने यो अलि मिलेन, आन्दोलनलाई रचनात्मक बनाउनु पर्छ ।”फरक प्रसङ्गमा अध्यक्ष महरले सबै विद्यालयमा प्राविधिक शिक्षा विस्तारका लागि नेपाल विद्यार्थी संघले नेतृत्व लिने बताए । सबै स्थानीय तहमा प्राविधिक शिक्षालय स्थापनाका लागि संघले पहल गरिरहेको महरले जानकारी दिए ।

त्यसैगरी शैक्षिक प्रमाणपत्र धितो राखेर बैँकबाट ऋण लिन पाउने व्यवस्थाको कार्यान्वयनका लागि पनि आफू पहल गर्ने बताएका छन् । महरले पूर्व प्राथमिकत तहसहित विद्यालय तहका विद्यार्थीको स्वास्थ्य बिमा गराउनका लागि पहल गरिरहेको बताए । साक्षात्कारमा अखिल क्रान्तिकारी अध्यक्ष रन्जित तामाङले पेट्रोलियम पदार्थको मुल्यबृद्धि फिर्ता नलिएसम्म आन्दोलन जारि राख्ने स्पष्ट पारेका छन् ।

जनताबाट एक,दुई रुपैयाँ उठाएर सरकारले स्वास्थ्य उपचारका नाममा आफ्ना मान्छेलाई पैसा बाँडेको भन्दै आपत्ति जनाएका छन् । उनले भने, “सत्ताको दुरुपयोग गरेर आफ्ना कार्यकर्तालाई पाँच वर्षसम्मको लागि आवश्यक पैसा बाँड्दै छ, जनताको जनमतलाई स्वीकार गर्न नसक्नेहरु कहिलेपनि लोकतान्त्रका पहरेदार हुन सक्दैनन् ।”

उनले अघि थपे, ‘हामी सडकका आवाज हौँ, जनताको साथी हौँ, जनताको जीवनमा आईपर्ने असहजताको बिरोधमा हामी जहिले पहिलो लाईनमा छौँ, सरकारले राम्रो काम गर्दा ताली बजाउने र गलत गर्दा बिरोध जनाउने हाम्रो काम हो ।’ इन्धनको मूल्यवृद्धि गर्ने निर्णय फिर्ता नलिएसम्म आन्दोलन नरोकिने चेतावनी तामाङले दिए ।अध्यक्ष तामाङले निर्वाचन आयोगलाई तत्काल मतपरिणाम सार्वजनिक गर्न माग गरेका छन् ।

त्यस्तै अनेरास्ववियुकी उपाध्यक्ष सुनिता बरालले जनताबाट बर्खास्त भैसकेको सरकारले विभिन्न नाटक मञ्चन गरिरहेको भन्दै तत्काल राजिनामा दिन माग गरिन । मूल्यवृद्धिको निर्णय फिर्ता नलिएसम्म आन्दोलन जारी रहने उनको भनाई थियो । विद्यार्थी संगठनहरु सामाजिक अभियान्ता भएको दाबी गर्दै बरालले सरकारले मूल्यवृद्धि गरेर आफूहरुलाई सडकमा उत्रिन बाध्य पारेको आरोप लगाईन् ।

राजपा विद्यार्थी संगठनका अध्यक्ष मनिष मिश्रले अन्य दल निकट विद्यार्थी संगठनको विरोधको शैलीप्रति आफूहरु सहमत नभएको भन्दै इन्धनको मूल्य बाइएकोमा भने आपत्ति जनाए ।

जनसरोकारका विपक्षमा हुने गरी इन्धनको मूल्य बढाइएको भन्दै पुरानै मूल्य कायम गर्न मिश्रले माग गरेका छन् ।
अन्य विद्यार्थी संगठनहरु भने दलीय स्वार्थका लागि मात्रै विरोध र आन्दोलनमा उत्रिने गरेकाले राजपा विद्यार्थी संगठनले आफ्नै तरिकाले दबाब दिइरहेको मिश्रले बताए । अखिल र अनेरास्ववियुको आन्दोलनमा आफ्नो संगठन आवद्ध नभएको उनले स्पष्ट पारे ।

निर्वाचन आयोगले मत परिणाम सार्वजनिक गर्न ढिला गरेको भन्ने विषय विधि र नियमअन्तरगत पर्ने भएकाले आफूहरुले विरोध नगर्ने बताए । स्वतन्त्र संवैधानिक निकाय भएकाले निर्वाचन आयोगलाई संविधान र नियमअनुसार काम गर्न दिनुपर्नेमा उनले जोड दिए ।

समाजवादी विद्यार्थी फोरमका अध्यक्ष विवेक राईले पनि अखिल र अनेरास्ववियुले पार्टीको इशारामा आन्दोलन गरेको आरोप लगाउँदै आफूहरुको सहभागिता नरहने बताए । जन सरोकार र विद्यार्थीका पक्षमा आफ्नो संगठन रहेको स्पष्ट पार्दै राईले कालोबजारी र मूल्यवृद्धिको विरोधमा सधैँ उभिने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ