arrow

भाजपा महासचिवसँगको भेटपछि ओली ढुक्क, बाम सरकारकै पक्षमा भारत

logo
प्रकाशित २०७४ पुष २२ शनिबार
oli-modi.jpg

काठमाडौं। केही दिन अघि रसुवागढी नाका पुगेर केपी ओलीले यहीँबाट रेल गुड्छ भनेर देखाउँदै गर्दा उनी त्यहाँ रेल गुड्ने बाटो हेर्न हैन। बाम गठबन्धनको सरकारको लागि भारत सकारात्मक रहेको खुशी आफ्ना निकटस्थहरुसँग साँट्नको लागि त्यहाँ पुगेका थिए।

जुन दिन रसुवा गढी पुगेका थिए। त्यसको दुई दिन अघि उनलाई भारतीय जनता पार्टीका महासचिवले ओली निवास बालकोटमा नै गएर भेट गरेका थिए। यस अघि नै भारत सरकारको विदेश मन्त्रालयले नेपालमा बाम गठबन्धनको सरकारसँग मिलेर काम गर्न भारत तयार रहेको बताउँदा धेरैलाई भारतले फेरि नाटक गर्यो भन्ने आशंका भएको थियो। तर, त्यो अभिव्यक्ति नाटक नभई यथार्थ रहेको विश्वास पनि त्योे भेटमा ओलीलाई गराउने प्रयास भएको थियो। 

ओलीसँगको भेटका क्रममा भाजपा महासचिवले भारत जसरी पनि बाम गठबन्धनकै नेतृत्वमा सरकार बनाउनु पर्ने पक्षमा रहेको सन्देश सुनाएका थिए । तर, उनले ओलीकै नेतृत्व भारतले स्वीकार्ने कि नस्वीकार्ने भन्ने सवालमा खासै कुरा खोलेनन् । तर, भारत गठबन्धन नफुटी दुबैको सहमतिमा नै सरकार बनाउने पक्षमा रहेको सुनाएपछि ईश्वर पोखरेल लगायत आफ्ना भित्री घेराका सहयोगीहरुसँग छलफलको लागि ओली रसुवागढी पुगेका थिए। 

रसुवागढी नै किन रोजे त ओलीले भन्ने जिज्ञासामा उनी निकट स्रोतले भन्यो रसुवागढी पुग्दा जनतामा चिनियाँ सेन्टीमेन्ट बढेर जान्छ र राष्ट्रवाद पनि जागेर आउँछ। भारतीय महासचिवसँग भेटेको कुरालाई गुपचुप राख्नको लागि नै ओली आफ्ना सहयोगीहरुलाई लिएर रसुवा गढी पुगेका थिए। 

स्रोतका अनुसार अहिले भारत र बाम गठबन्धन र विशेष गरी ओलीसँगको पुलको काम नेपाल उद्योग वाणिज्य महासंघका एक पूर्व अध्यक्षले गरिरहेका छन्। ती अध्यक्षकी श्रीमती र अहिले नेपालका लागि भारतीय राजदूत मञ्जीव पुरीकी श्रीमती भारतमा अध्ययन गर्दाको एउटै क्लासमेट भएको नाताले त्यही सम्बन्ध बढ्दै जाँदा ती अध्यक्ष अहिले नेपालमा बाम गठबन्धन र भारतबीचको पुलको भूमिकामा छन्।

बाम गठबन्धन सरकार ढाल्दा भारतलाई झनै घाटा 
त्यसो त बाम गठबन्धनको सरकार ढल्दा भारतलाई झनै घाटा हुने देखिएपछि भारत जे जस्तो भएपनि बाम गठबन्धनको सरकारमा कुनै भाँजो नहाल्ने पक्षमा देखिएको छ। अहिलेसम्म भारत विरोधी भावना नेपाली जनतामा रहेकोले अहिले गठबन्धन अरुकै कारण टुटेपनि दोष भने भारतलाई नै जाने भएपछि भारत बरु बाम गठबन्धनको सरकार बनाउन सहयोग नै गर्ने पक्षमा छन्। एमालेका ती नेता भन्छन्। अहिले जति पनि बाम गठबन्धन टुटाउन भारत लागि परेको हल्ला छ ती सबै समाचार विकाउने काईदा मात्रै हो। 

त्यसैले भारत अहिलेको बाम गठबन्धनको सरकार बनाउने र त्यसपछि नै बरु जति खेल्नु छ खेल्ने पक्षमा छ। तर, बाम गठबन्धनको सरकार भनिरहँदा ओली नै प्रधानमन्त्री बन्छन् भन्ने यकीन भने भईसकेको छैन। अहिले प्रचण्डको पनि प्रधानमन्त्रीमा नाम आईरहेको छ । माधव नेपाल पनि चौका हान्ने दाउमा छन्। जुन पात्र बनेपनि अबको प्रधानमन्त्री भने बाम गठबन्धनबाटै बनाउन भारत सकारात्मक रहेको देखिएको छ। 

चीनपनि भारतसँगको सहकार्यको पक्षमा 
केही दिन अघि चीनदे पनि नेपालमा भारतलाई चिढ्याएर सरकार बनाउन नचाहेको स्पष्ट पारेको थियो। चीनले नेपालमा स्थायी सरकारमात्र चाहेको खुलासा गर्दै चीनका एकजना वरिष्ठ राजनीतिक विष्लेषकले चीन नेपालमा सुरक्षित पाँचवर्षे स्थायी सरकार भएको हेर्नमात्र चाहेको स्पष्ट पारेर फर्केका थिए। 

तीन दिने नेपाल भ्रमणमा आएका उनले नेपालप्रति चीनको भित्री चाहना स्थायी सरकारमै रहेको बताएका हुन्। उनले सबैभन्दा झट्का लाग्ने कुरा त के भने कम्युनिष्ट गठबन्धनका लागि चीनले सबैभन्दा ठूलो भूमिका खेलेको थियो भन्ने विषयलाई ‘फाल्तुकुरा’ भन्दै उनले चीनले नेपाललाई अस्थिर हैन स्थायी भएको देख्न चाहेको प्रतिक्रिया दिए।

उनले भारत र चीन दुबैसँग सहकार्य गर्नसक्ने स्थिर सरकारको पक्षमा चीन रहेको प्रतिक्रिया दिएका थिए। चीनलाई पनि भारतसँग दुस्मनीले स्थिर सरकारको परिकल्पना पूरा नहुने हेक्का भएर नै यस्तो बताएको हुनसक्ने आशंका गरिएको छ। 

यसरी भारत र चीन दुबैको चाहाना भएपछि नेपालमा बाम गठबन्धनको सरकार बनाउन रोक्ने पक्षमा कोही पनि रहेको देखिएको छैन। यस्तो अवस्थामा राष्ट्रपतिको लागि झलनाथ खनालले आकांक्षा देखाउनु, प्रधानमन्त्रीमा सबैले आ आफ्नै दाबी गर्नु र पार्टी अध्यक्षको लागि समेत खुट्टा तानातान हुनुले यस भित्रको आन्तरिक झमेला बाम गठबन्धनमा देखिएपनि बाह्य शक्तिले गठबन्धन टुटाउन खोजे भन्ने ओलीको भाषण भने जनताको सेन्टिमेन्ट जित्नको लागि मात्रै भएको कुरा पनि पुष्टि भएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ