arrow

'एसएसपी' का कारण फस्टायो हिउँदे बाली, बदलियो कृषकको दैनिकी

logo
दीपेन्द्र बस्नेत,
प्रकाशित २०७४ पुष २३ आइतबार
SSP_biu.jpg

पुनर्वास,कञ्चनपुर । साल्ट ट्रेडिङ कर्पोरेसनले हालै पश्चिम नेपालको कैलाली र कञ्चनपुरको बजारमा ल्याएको नयाँ रासायनिक मलको प्रयोगले बाली फस्टाउँदो देखिएको कृषकहरुले बताएका छन् । नेपाल सरकारको अनुदानमा रासायनिक मलको बिक्री बितरण गर्दै आएको कर्पोरेसनले ४ महिना अघि बजारमा ल्याएको सिंगल सुपर फस्फेट नामक मलको प्रयोगले हिउँदे बाली सप्रेको स्थानीय कृषकहरुले बताएका छन्। 

विगतमा गुणस्तरहीन भारतीय चोरीपैठारीको मल प्रयोग गर्दै आएका कञ्चनपुरको दक्षिणी भेगका कृषक कर्पोरेसनले ल्याएको मलबाट लाभान्वित बनेका हुन । नयाँ मल आफ्नो तोरी बालीमा प्रयोग गरेका बेलौरी नगरपालिका ३ गोकुलपुरका कृषक भन्छन् "एसएसपी नाम गरेको मल प्रयोग गरेको तोरी अति नै राम्रो सँग फस्टाएको छ ।

तोरी छर्ने समय सकिनै लाग्दा परिक्षणका लागि यो मल प्रयोग गरेँ तर बाली सप्रीएको छ ।" उनी भन्छन् " असोजको दोस्रो साता देखि कार्तिकको दोस्रो साता सम्म तोरी बाली लगाउने समय भए पनि आफुले मंसिर लाग्नै लाग्दा नयाँ मल प्रयोग गरि बाली लगाए पनि सप्रेर आएको छ ।" यसरी नै गोकुलपुरका अर्का कृषक बिष्णु खनाल भन्छन् " सिंगल सुपर फस्फेट मल यहाँको माटो सुहाउँदो रहेछ सधै डिएपी प्रयोग गर्दै आए पनि यसपटक यो मल प्रयोग गरेँ तर अन्य मलको तुलनामा यसले बाली सप्रेको छ ।" 

गएको असोज महिनामा कैलाली-कञ्चनपुरको  बजारमा ल्याईएको सिंगल सुपर मल अहिले सम्म २० हजार बोरा बिक्री भएको कर्पोरेसनको सुदुर पश्चिमाञ्चल क्षेत्रीय कार्यालय धनगढीले जनाएको छ । हालै बजारमा ल्याईएको सिंगल सुपर फस्फेट मल बालीका लागि अति आबश्यक फस्फेट र एमोनियन तत्वको मिश्रण भएकोले मलका प्रयोगकर्ता बढेको साल्ट ट्रेडिङ कर्पोरेसनका सहायक महाप्रबन्धक केशब पाण्डेयले बताए । 

सधै सीमा पारीबाट चोरीपैठारी को गुणस्तरहीन मलको प्रयोगबाट उर्वरता गुमाएको यहाँको माटो लाई उर्वर बनाउन आबश्यक फस्पोरस,क्याल्सियम र सल्फर समेत यो मलमा हुने भएकोले उत्पादकत्व वृद्धि गर्न सघाउने सहायक महाप्रबन्धक पाण्डेयले बताए । बिशेष गरी तेलहन बाली तोरी,सर्स्यु,तिल,आलस र सुर्यमुखी बालीमा उपयुक्त मानिए पनि गहुँ र धान बालीमा समेत यसको प्रयोग लाभदायक हुने जनाइएको छ ।

नेपाल सरकारको अनुदानमा युरिया,डिएपी र पोटासको बिक्री बितरण गर्दै आएको कर्पोरेसनले कैलाली-कञ्चनपुरका कृषकहरुको मागका कारण सिंगल सुपर फस्फेटको गैर अनुदानमै यस वर्ष देखि बिक्री बितरण थालेको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ