arrow

अर्थमन्त्री कार्कीलाई महासंघ प्रतिनिधिले सुनाए गुनासो

logo
प्रकाशित २०७४ पुष २६ बुधबार
mahasang.JPG

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघको प्रतिनिधिमण्डलले बुधवार अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई भेटी व्यवसायीहरुका समसामयिक समस्या र समाधानका विषयमा जानकारी गराएको छ । महासंघ अध्यक्ष विष्णुभाई श्रेष्ठ नेतृत्वको प्रतिनिधिमण्डलले वजेट निकासा नहुँदा, भुक्तानी रोकिँदा र निर्माण सामाग्रीमा चर्को मूल्यबृद्धि भएका कारण व्यवसायीहरु मारमा परेको भन्दै समस्या समाधानका लागि अर्थमन्त्री कार्कीको ध्यानाकर्षण गराएको हो ।

 विगत केही साता अघि देखि इन्धन, फलाम जन्य पदार्थ तथा  सिमेन्ट गिटी, बालुवा जस्ता प्रमुख सामाग्रीहरुमा अप्रत्याशित रुपमा मूल्यवृद्धि भइरहेकोले देशभर क्रियाशिल निर्माण व्यवसायी पिडित भएको तर्फ प्रतिनिधिमण्डलले मन्त्री कार्कीको ध्यानाकर्षण गराएको छ । देशको अर्थतन्त्रमा नै गम्भीर आघात पुग्ने गरी भएको यस्तो मूल्यवृद्धि अविलम्ब विना शर्त फिर्ता हुनुपर्ने भन्दै आवश्यक पहलकदमीका लागि मन्त्री कार्कीसँग आग्रह गरिएको अध्यक्ष विष्णुभाई श्रेष्ठले जानकारी दिए ।

 हालको मूल्यवृद्धि फिर्ता हुन नसक्ने हो भने सार्वज्निक खरिद ऐन, २०६३ बमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयबाट मूल्य समायोजन मार्ग निर्देशिका बनाई सोही बमोजिम सबै सरकारी निकायहरु मार्फत मूल्य समायोजन गर्ने व्यवस्थाका लागि समेत पहल गरिदिन प्रतिनिधिमण्डलले अनुरोध गरेको छ । सडक विभाग अन्तर्गत आह्वान भएका विभिन्न निर्माण कार्यहरु सम्बन्धित निर्माण व्यवसायीहरुले समयमै सम्पन्न गरेता पनि बजेट निकासा नभएका कारण व्यवसायीहरु ठूलो आर्थिक समस्यामा परेको जानकारी महासंघले अर्थमन्त्री कार्कीलाई गराएको छ ।  

व्यवसायीहरुले पाउनु पर्ने भण्डै ३० अर्ब भन्दा बढि रकम हालसम्म सडक विभागबाट भुक्तानी नभएको भन्दै महासंघ प्रतिनिधिमण्डलले  भुक्तानीको व्यवस्थाका लागि पहल गरिदिन मन्त्री कार्की समक्ष आग्रह गरेको छ । नुवाकोट डिभिजन सडक कार्यालयबाट मात्रै झण्डै ५४ करोड भन्दा बढि भुक्तानी हुन बाँकी रहेको तथा काठमाडौं महानगरपालिका अन्तर्गत विस्तारित सडक निर्माण बापत्को झण्डै ७५ करोड भन्दा बढि भुक्तानी हुन बाँकी रहेको  महासंघले जनाएको छ ।

एउटै सडक डिभिजन र योजनाबाट यति धेरै रकम भुक्तानी हुन बाँकी रहेको अवस्थामा बैङकिङ तरलताको चरम अभाव भएको महासंघको भनाइ छ । जसका कारण व्यवसायीहरुले समयमा कर तिर्न नसक्दा समग्र अर्थतन्त्रमा प्रतिकूल प्रभाव परिरहेको महासंघको ठम्याई छ । निर्माण व्यवसायीहरुलाई समयमै रकम भुक्तानी भएमा विभिन्न बैङ्कहरुको व्याज, ऋण र उद्योगहरुलाई तिर्न बाँकी भुक्तानी बुझाए पछि बैङ्किक तरलताको अभाव स्वत घट्न जाने  जानकारी महासंघ प्रतिनिधिमण्डलले अर्थमन्त्री कार्कीलाई गराएको छ ।

 प्रतिनिधिमण्डलमा महासंघका अध्यक्ष श्रेष्ठसँगै  महासचिव रामशरण देउजा, उपमहासचिव विष्णु बुढाथोकी, कोषाध्यक्ष रोशन दाहाल, कार्य समिति सदस्यत्रय शिवप्रसाद चौलागाई, सुरेन्द्रप्रसाद सिंह, गौरीप्रसाद उप्रेती, एशोसिएट सदस्य गौरव पुडासैनी, निर्माण व्यवसायी संघ काठमाडौंका वरिष्ठ उपाध्यक्ष कृष्ण गौतम, कार्यालय प्रमुख प्रेमसिंह ऐर लगायतको सहभागिता रहेको थियो ।  

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ