arrow

दुई कोरियाबीचको बार्ताको भारत र चीनद्वारा स्वागत

logo
प्रकाशित २०७४ पुष २७ बिहिबार
north-south-korea.jpg

बेइजिङ । दुई कोरियाका बीचमा मंगलबार उच्चस्तरीय वार्ता भएकोमा भारत र चीनले स्वागत गरेका छन् ।

कोरिया प्रायद्वीपमा उत्तर कोरिया र दक्षिण कोरियाका उच्च अधिकारीहरूका बीचमा भएको वार्ताले दुई कोरियाको पुनर्मिलन र एकता कायम हुने भारत र चीन दुवै देशले विश्वास व्यक्त गरेका छन् ।

भारतले कोरिया प्रायद्वीपको स्थिरता, शान्ति, संवृद्धि र मेलमिलापका लागि सहयोग गर्न तयार रहेको बिहीबार जनाएको छ ।

नयाँ दिल्लीमा आयोजित पत्रकार सम्मेलनमा विदेश मामिला मन्त्रालयका प्रवक्ता रभिश कुमारले वार्ताबाटै आपसी विवाद र द्वन्द्वको अन्त्य गर्न दुई देश सफल हुने विश्वास व्यक्त गरे ।

त्यसैगरी चीनले पनि वार्ताबाटै उत्तर कोरिया र दक्षिण कोरियाले ठिक बाटो पत्ता लगाउनु पर्नेमा जोड दिएको छ ।

कोरियाली प्रायद्वीपमा शान्ति र सद्भाव स्थापना गर्न उच्चस्तरमा भएको वार्तालाई अत्यन्त सकारात्मक रुपमा लिइएको चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता लु काङले बताए ।

हालै दक्षिण कोरियामा सम्पन्न भएको दुई कोरियाबीचको वार्ताको बारेमा बुधबार प्रतिक्रिया दिँदै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि वार्ताको माध्यमबाटै सबै समस्याको समाधान गर्ने मार्गमा लाग्न पनि आग्रह गरेका थिए ।

उनले वार्ताबाट सकारात्मक फाइदा लिँदै अगाडि बढ्न र आगामी दिनमा सौहाद्रपूर्ण सम्बन्ध बनाउन दुवै देशलाई सुझाव दिएका थिए ।

मङ्गलबारको वार्तापछि उत्तर कोरियाले दक्षिण कोरियामा आयोजित शीतकालीन ओलम्पिक खेलमा आफ्ना खेलाडी र प्रतिनिधिहरू पठाउने जनाएको छ ।

छलफलमा विशेषगरी यसै खेलकूदका विषयमा बढी कुराकानी भएको थियो । छलफलका विषयवस्तुहरुको सीमितता रहेको दक्षिण कोरियाको भनाई छ ।

उत्तर कोरियाको क्षेप्यास्त्र परीक्षणका बारेमा पनि वार्तामा प्रसंग उठेको बताइएको छ । तर यस विषयमा कुनै सहमति हुने वा केही एजेण्डा पास हुने काम भने भएको छैन ।

बिगत लामो समयदेखि नै सत्रुतापूर्ण सम्बन्ध रहेका उत्तर र दक्षिण कोरियाबीच गएको कम्तीमा पनि दुई वर्षपछि मङ्गलबार पहिलो पटक उच्चस्तरमा औपचारिक वार्ता भएको हो ।

दुई वर्षपछि भएको भएपनि मङ्गलबारको वार्तापछि यी दुई देशको सम्बन्धमा सुधार आएको बताइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ