arrow

देउवा र निर्वाचन आयोगले सौदाबाजी गरे : योगेश भट्टराई

न्यायालयलाई प्रभावित पार्ने काम नगर्न गोविन्द केसीलाई महतको चेतावनी

logo
प्रकाशित २०७४ पुष २८ शुक्रबार
yogesh-bhattarai.jpg

काठमाडौं । नेकपा एमालेका सचिव एवम् नवनिर्वाचित सांसद योगेश भट्टराईले प्रधानमन्त्री शेरबहादुर देउवाले नयाँ सरकार गठनको लागि मार्गप्रशस्त नगरेर र निर्वाचन आयोगले मतपरिणाम सार्वजनिक नगरेर सौदाबाजी गरेको आरोप लगाएका छन् ।

शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै सचिव भट्टराईले भने,‘सर्वमान्य सिद्धान्त के हो भने निर्वाचन सम्पन्न भएपछि पूरानो सरकार विदा भएर नयाँ सरकार गठनको लागि मार्गप्रशस्त गर्नुपर्छ, यो काम गर्न अहिलेका प्रधानमन्त्री शेरबहादुर देउवाले नबुझेका होईनन्, तर उनले बुझीबुझी बुझ पचाएका छन्, देउवाको नियत सफा देखिएन्।’

 नेता भट्टराईले भने,‘यो अवधिमा नयाँ सरकार बनिसक्नुपर्दथ्यो, तर बन्न सकेन, प्रक्रिया अवरुद्ध पार्ने काम अहिलेका प्रधानमन्त्री देउवाजीले गर्नुभयो, देउवाजस्तै निर्वाचन आयोगले पनि समस्या सिर्जना गरेर हलो अड्काउने काम गर्यो ।’ आफूहरुले आयोगलाई निर्वाचन मतपरिणाम तत्काल सार्वजनिक गर्न भनेर पटक–पटक आग्रह गर्दा पनि नतिजा सार्वजनिक गर्न आलटाल गरिएको उनको आरोप थियो ।

भट्टराईले अघि भने,‘हामीलाई अचम्म लाग्छ, निर्वाचन आयोगका पदाधिकारीहरु सौदावाजी गरिरहेका छन्, हामीलाई त जनताको म्याण्डेट प्राप्त भएको छ, अनि हामी सरकार बनाउँछौं भन्दा किन यस्तो सौदावाजी ? आयोगले संवैधानिक काम गरोस्, विलम्ब नगरी तत्काल परिणाम घोषणा गरोस्।’

त्यस्तै उनले प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्ने काम नयाँ सरकारको भएपनि अहिलेकै सरकारले तोक्नेगरि दलहरुवीच नयाँ सहमति हुँदापनि यो सरकारले विलम्ब गरेकोमा आपत्ति जनाए । उनले भने,‘अब यही सरकारले सबै काम गर्ने भनेर सहमति भएपछि अझैपनि निर्णय नगर्नु दुःखदायी कुरा हो, संविधानका छिद्रा मसिना कुरा र प्वाललाई टेकेर नाटक देखाउनुहुँदैन्, यो सबै नौटंकी कुरा हुन्।’

उनले नक्कली बाँधहरु अगाडि राखेर आँधीबेहरी छेक्छु भन्ने सपना नदेख्न प्रधानमन्त्री देउवा र निर्वाचन आयोगलाई चेतावनी समेत दिए । उनले भने,‘आँधबेहरीले नक्कली बाँधहरु सबै भत्काईदिन्छ, खुट्टा टेक्न नसक्नेहरु समाप्त भएर जान्छन्।’ उनले अहिलेको समस्याको समाधान गर्ने विषयबारे प्रधानमन्त्री देउवाको कोर्टमा बल रहेको पनि स्पष्ट पारे । उनले भने,‘प्रदेश प्रमुख, अस्थायी राजधानी र सपथग्रहण गराउने ठाउँ, राष्ट्रिय सभाको निर्वाचन समयमै सम्पन्न गर्नुहोस्, हाम्रो सुझाव छ।’

त्यस्तै उनले निर्वाचन आयोगले पनि अब कुनै नाटक मञ्चन गर्न नहुने चेतावनी दिए । उनले भने,‘अब नाटकको कुनै अर्थ छैन, नुन खाएपछि पदीय जिम्मेवारी पूरा गर्नुहोस्, हामी यही ध्यानाकार्षण गराउन चाहन्छौं।’
सचिव भट्टराईले प्रधानन्यायाधीश गोपाल पराजुली र डाक्टर गोविन्द केसीवीचको विषयमाथि टिप्पणी गर्दै भने,‘न्यायापालिकाको कुरा हो, के कुरा हो ? तथ्य, प्रमाणहरु बाहिर आओस्, सर्वोच्च अदालतले यथाशक्य चाँडो जनतालाई जानकारी दिओस्, हामी न्यायालयको सम्मान गर्छौं।’ उनले न्याय दिने न्यायमुर्तीहरुले आफ्नो ईज्जत, नैतिकता र कर्तव्यको ख्याल गर्नुपर्नेमा जोड दिए ।

उनले हालै बसेको पार्टीको स्थायी कमिटीको बैठकमा बुढापाका नेताहरुले अब विश्राम लिनुपर्छ र उहाँहरुलाई सम्मान गर्नुपर्छ भनेर आफूले यसअघि नै उठाएको विषयको बारेमा छलफल नै नगरौं भनेर अध्यक्ष केपी शर्मा ओलीले भनेकोले अब त्यो च्याप्टर क्लोज भएको समेत स्पष्ट पारे ।

उनले पार्टी अध्यक्ष ओली स्वास्थ्य चेकजाँचपछि स्वदेश फर्किएपछि एमाले–माओवादी केन्द्रवीचको एकताले गति लिने विश्वास दिलाए । उनका अनुसार सरकार गठन पुर्व नै पार्टी एकता भैसक्ने छ। ‘यति कुरा बुझ्नुहोस्, एमाले र माओवादी एउटै पार्टी भएर सरकारमा जान्छन्’ उनले थपे,‘त्यसको लागि हामी आन्तरिक गृहकार्यमा जुटिसक्यौं, अब एकता चाँडै सम्पन्न हुन्छ।’ एकतापछिको पार्टी अध्यक्ष को बन्ने भन्नेबारे कुनै सहमति नभएकोले सबै कुरा सहमतिमै टुँगो लाग्ने उनको भनाई थियो ।

नेपाली कांग्रेसका नेता डा. रामशरण महतले जुलुश निकालेर र अनशन बसेर न्यायालयलाई प्रभावित पार्ने काम नगर्न डाक्टर गोविन्द केसीलाई चेतावनी दिएका छन् । उनले भने,‘अदालत भनेको स्वतन्त्र न्यायापालिका हो, यही मान्यता अनुसार स्वतन्त्र रुपमा काम गर्न दिनुपर्छ, कुनै दबाब वा हस्तक्षेप गर्नुहुँदैन्।’

अदालतको विषयमा पार्टीको अडान हुन नहुने उनको भनाई थियो । उनले भने,‘दलहरुले अदालतलाई प्रभाव पाने कुरा गर्नुहुँदैन्, यो गलत हुन्छ।’ महतले गोविन्द केसीले प्रधानन्यायाधीश पराजुलीको राजिनामा माँगेको विषयप्रति टिप्पणी गर्दै भने,‘जहाँसम्म केसीको माँग छ, राजिनामा दिने वा नदिने भन्ने कुरा प्रधानन्यायाधीशको आफ्नो कुरा हो, तर आरोपका आधारहरु प्रमााणित गर्नुपर्छ, सत्यता हो कि होईन भन्ने कुरा आउनुपर्छ।’ आरोपका सत्यताहरु बाहिर आउनुपर्नेमा महतले जोड दिए ।

यद्धपी उनले केसीले उठाएका शैक्षिक तथा स्वास्थ्यसम्बन्धी माँगहरुमध्ये आफू अर्थमन्त्री हुँदा कतिपय माँगहरु पूरा गरिदिएको पनि जानकारी दिए । उनले भने,‘केसीले उठाएका मेडिकल एडुकेशनसम्बन्धीका माँगमा राम्रा कुराहरु छन्, तीनलाई सम्बोधन गर्न मैलेपनि पहल गरेकै हो ।’ नेता महतले प्रधानन्यायाधीश वा न्यायाधीशहरुको बारेमा कुनै विवाद भए छानबिन गर्न न्याय परिषद र संवैधानिक परिषद भएकोले यस विषयमा यी दुई निकायले निक्र्यौल गर्ने विषय भएको पनि स्पष्ट पारे ।

उनले भने,‘प्रधानन्यायाधीशको उमेर खासगरी नागरिकता र शैक्षिक प्रमाणपत्रको विवादबारे छानबिन भएर चाँडो बाहिर आउनुपर्छ, कानूनलाई आधार मानेर निर्णय हुनुपर्छ, तर कानूनलाई मिचेर निर्णय लिनुहुँदैन्।’ अदालत न्यायको मन्दिर भएकोले यसलाई निश्पक्ष ढंगले काम गर्न दिनुपर्ने उनको भनाई छ ।

नेता महतले मुलुकमा निर्वाचनपछि संक्रमणकाल सकिएको भनिएपनि नयाँ संक्रमणको सुरुवात भएको गुनासो पोखे । संघीय प्रणालीमा मुलुक जाँदाखेरि नयाँ खाले संक्रमणहरुको सुरुवातहरु देखिएको उनको भनाई थियो ।
आफूले सुरुवातदेखि नै संघीय व्यवस्था मुलुकले धान्न सक्ने खालको बनाउनुपर्छ भनेर आवाज उठाउँदै आएको र सोही अनुसार विभिन्न लेखहरु समेत लेखेको स्मरण गराउँदै उनले भने,‘अहिले ११५ अर्ब ऋण लिईएको छ, अनुत्पादक खर्चहरु भएका छन्, मितव्ययी बनाउनुपर्छ भनेर म सुरुदेखि नै बोल्दै आएको छु।’ उनले अहिले राजनीतिक रुपमा पनि प्रवृत्ति राम्रो नदेखिएको आरोप लगाए ।

संवैधानिक व्यवस्थामा नै जटिलताहरु भएकोले अहिले नयाँ सरकार गठनमा ढिलाई भैरहेको उनको तर्क थियो । ‘कसैलाई दोष दिने ठाउँ छैन, संविधानमा नै हामीले अप्ठ्यारा प्रावधानहरु राखेका छौं’ महतले अघि भने,‘नयाँ सरकार गठनको लागि जटिलताहरु र समय अलिक बढि लाग्ने खाले प्रावधान राखियो, यसले गर्दा गलत भयो।’
त्यस्तै उनले प्रदेश प्रमुख र अस्थायी राजधानी आज तोक्ने भनिएको भएपनि सरकारले तोक्न नसक्नु दुःखदायी कुरा भएको भन्दै दुखेसो पोखे । उनले भने,‘आज निर्णय भएन, हुनुपर्दथ्यो यो दुःखको कुरा हो, तर अब तुरुन्त निर्णय गर्नुपर्छ, आईतबारसम्म निर्णय हुनुपर्छ।’

महतले चाँडो से चाँडो सत्ता हस्तान्तरण गर्नुपर्ने बताए । उनले भने,‘नयाँ म्याण्डेट अनुसार नयाँ सरकार बन्नुपर्छ, तर अहिलेका प्रधानमन्त्रीको नियत सफा छ, बाध्यकारी भएरमात्रै उहाँ बसिरहनुभएको हो।’नेकपा माओवादी केन्द्रका नेता दिनानाथ शर्माले नयाँ सरकार गठन गर्ने काममा निर्वाचन आयोगले हलो अड्काउने काम गरिरहेको आरोप लगाएका छन् ।

नेता शर्माले भने,‘निर्वाचन आयोगले मतपरिणाम सार्वजनिक नगरेर अड्को थाप्ने काम गरिरहेको छ, यो समयमै मतपरिणाम घोषणा गर्नुपर्दथ्यो तर अहिलेसम्म गरेन, यो दुःखको कुरा हो।’ उनले एउटा निर्वाचनको अर्को निर्वाचनसँग कुनै सम्बन्ध नभएको पनि जिकिर गरे ।

शर्माले समानुपातिकतर्फको मतपरिणाम आयोगले रोक्नुको कुनै कारण नभएको पनि स्पष्ट पारे । उनले भने,‘आयोगले अहिले जे गरिरहेको छ, त्यो बेठीक गरेको छ, सरकार बनाउने काममा आयोगले हलो अड्काउने काम गर्यो।’

उनले प्रधानमन्त्री शेरबहादुर देउवालेपनि नयाँ सरकार गठनको लागि सहजीकरण नगरेको गुनासो पोखे । उनले भने,‘एक दुई महिना बढि नै सरकारमा बसौंला भन्ने होला तर यसले स्वयम् कांग्रेसलाई नै बद्नाम गर्ने काम गरेको छ, मन्त्रीहरुलाई व्यक्तिगत रुपमा शुभलाभ होला तर लोकतन्त्रको लागि राम्रो भएको छैन्।’

एकल संक्रमणीय व्यवस्था अनुसार नै राष्ट्रिय सभाको निर्वाचन हुने भन्ने सहमति भएपछि पनि देउवाले छिटो–छरितो काम नगरेको पनि शर्माको आरोप थियो । उनले भने,‘तत्काल प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्नुपर्दथ्यो तर यो काममा सरकारबाट ढिलाई भैरहेको छ, ढिलाई गर्नु भनेको सत्तालिप्सा मात्रै हो।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ