arrow

कञ्चनपुरमा संस्थापन पक्षलाई वडामै रोक्ने देउवा पक्षको रणनीति; भिड्दैछन को को?

देउवा पक्षभित्र रमेश लेखक र एनपी साउँदको आन्तरिक प्रतिष्पर्धा

logo
ईश्वरदत्त बडू
प्रकाशित २०७२ माघ १४ बिहिबार
sushil-deuba.jpg.jpeg
महेन्द्रनगर। नेपाली काँग्रेसको १३ औं महाधिवेशन अन्तर्गत माघ १५ गते नगरका वडा र गाउँ अधिवेशन हुँदैछन्। वडा र गाउँबाट क्षेत्रीय अधिवेशन प्रतिनिधिमा छनौट हुन स्थानीय नेता प्रचारप्रसारमा सक्रिय भएका छन्। केन्द्रमा रहेको क्रियाशील सदस्यता विवादले गुटबन्दी चर्किएपछि देउवा पक्षले संस्थापन पक्षका उम्मेदवारलाई वडामै हराउने रणनीति लिएका छन्।
 
नगरका वडा र गाउँ अधिवेशनबाट सदस्य संख्याका आधारमा क्षेत्रीय अधिवेशन प्रतिनिधि र सभापति चयन हुने व्यवस्था छ। नगरपालिकाका वडा–वडा र गाविसबाट छानिएका क्षेत्रीय प्रतिनिधिले काँग्रेसको महाधिवेशन प्रतिनिधि छान्ने भएकाले वडाबाटै आफ्नो पक्षलाई बलियो बनाउने रणनीति देउवा पक्षले लिएको जनाइएको छ। वडाभित्र रहेका क्रियाशील सदस्यले क्षेत्रीय अधिवेशन प्रतिनिधि छान्ने व्यवस्था रहेको छ।
 
‘संस्थापन पक्षका स्थानीय नेतालाई वडामै हराएर माथिल्लो तहमा पुग्न नदिने योजना छ,’नाम नखुलाउने शर्तमा देउवा पक्षका नेताले भने, ‘वडाबाट संस्थापन पक्षलाई क्षेत्रसम्म आउन दिँदा समस्या हुने गरेको छ।’कैलाली लगायत विभिन्न जिल्लामा क्रियाशील सदस्यता विवाद भएका कारण देउवा पक्ष झन् आक्रामक भएको हो। देउवा पक्षका सभापति रहेका जिल्लामा मापदण्ड नपुगेका व्यक्तिलाई क्रियाशील सदस्यता दिइएको भन्दै संस्थापन पक्षले नयाँ क्रियाशील सदस्यलाई मतदानबाट वञ्चित गराएको थियो।
 
संस्थापन पक्षका स्थानीय नेतालाई वडामै हराएर माथिल्लो तहमा पुग्न नदिने योजना छ,’नाम नखुलाउने शर्तमा देउवा पक्षका नेताले भने।
 
काँग्रेसले तय गरेको महाधिवेशन कार्यक्रम अनुसार माघ १५ गते वडा र गाउँ अधिवेशन, माघ १७ गते नगर अधिवेशन, माघ २२ गते क्षेत्रीय अधिवेशन र २५ गते जिल्ला अधिवेशन हुनेछ। नेपाली काँग्रेसको केन्द्रीय सभापतिका लागि वडा र गाउँ अधिवेशन तथा क्षेत्रीय अधिवेशन महत्वपूर्ण मानिन्छ। नगर अधिवेशन र जिल्ला अधिवेशनले स्थानीय नेतृत्व चयन गर्ने भएकाले त्यसको प्रभाव महाधिवेशनमा कम हुने गरेको छ। वडा र गाउँ अधिवेशनबाट क्षेत्रीय प्रतिनिधि छान्ने र क्षेत्रीय अधिवेशनबाट महाधिवेशन प्रतिनिधि छानिने भएकाले क्षेत्रीय अधिवेशन महाधिवेशनका लागि निर्णायक मानिन्छ। कञ्चनपुरका ४ वटा निर्वाचन क्षेत्रमा हुने क्षेत्रीय अधिवेशनबाट १२-१२ गरी ४८ महाधिवेशन प्रतिनिधि छानिने छन्। चारै निर्वाचन क्षेत्रका क्षेत्रीय सभापति स्वतः महाधिवेशन प्रतिनिधि हुने छन्। वडाबाट छानिएका क्षेत्रीय प्रतिनिधिले जिल्ला अधिवेशनमा समेत मतदान गर्न पाउने छन्।
 
कञ्चनपुरमा माघ २५ गते हुने जिल्ला अधिवेशनमा सभापतिका लागि गोपाल गुरुङ, भोजराज बोहरा, गोपाल भण्डारी, हरि बोहरा र पदम बोगटी उम्मेदवार देखिएका छन्। तर, जिल्ला सभापतिको उम्मेदवार हुन क्षेत्रीय अधिवेशनबाट महाधिवेशन प्रतिनिधि जित्नुपर्ने छ। उम्मेदवारमध्ये गोपाल गुरुङ, भोजराज बोहरा र गोपाल भण्डारी संस्थापन पक्षका हुन् भने हरि बोहरा र पदम बोगटी देउवा पक्षका हुन्। देउवा पक्षभित्र पनि हरि बोहरा रमेश लेखक निकट र पदम बोगटी एनपी साउँद निकट मानिन्छन्। 
 
क्षेत्रीय सभापतिका लागि ४ नम्बर निर्वाचन क्षेत्रमा केशव चन्द, गणेश नेगी, गोपाल भट्ट र लक्ष्मी बोहरा आकांक्षी देखिएका छन्। ३ नम्बर निर्वाचन क्षेत्रमा सुरेन्द्र विष्ट, दलबहादुर बोहरा, लोकबहादुर ठकुराठी, होमबहादुर कुँवर र डम्बर साउँद सभापतिका आकांक्षी देखिएका छन् । २ नम्बर निर्वाचन क्षेत्रमा सिद्धराज भट्ट, चिन्तामणि भट्ट र नवराज जोशी सभापतिका आकांक्षी छन् । १ नम्बर क्षेत्रमा अमरजंग साउँद र गोपी उपाध्याय सभापतिका आकांक्षी छन् ।
 
कञ्चनपुरमा रहेका ८ वटा नगरपालिका समेत नगर सभापतिमा उम्मेदवारका थुप्रै आकांक्षी देखिएका छन्। संविधान घोषणा भइसकेकाले स्थानीय निकायको निर्वाचन हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै नगर सभापतिमा कडा प्रतिस्पर्धा हुने देखिएको छ। स्थानीय निकायको निर्वाचनमा मेयर, उपमेयर, वडा सदस्य र अध्यक्ष लगायतलाई टिकट दिन नगर सभापतिको महत्वपूर्ण भूमिका हुन्छ। स्थानीय निकायका कार्यसम्पादनमा समेत नगर सभापतिको महत्वपूर्ण भूमिका हुन्छ । नयाँ संविधानलाई शक्ति विकेन्द्रीकरणको सिद्धान्त अनुसार नगरपालिकालाई शक्तिशाली बनाएको छ।
 
दोधाराचाँदनी नगरपालिकाको सभापतिमा नाफुसिंह साउँद, धनबहादुर शाही, डम्बर चन्द र महेन्द्र विष्ट आकांक्षी छन्। भीमदत्त नगरपालिकाको सभापतिमा पदमराज अवस्थी, कृष्ण पाठक, अच्यूतराज कलौनी र आशिष खत्री आकांक्षी छन्। बेदकोट नगरपालिकाको सभापतिमा तुलाराम साउँद, रणध्वज साउँद, राजेन्द्र भट्ट र भरत रोकाया आकांक्षी देखिएका छन्। झलारीपिपलाडी नगरपालिका सभापतिमा जयबहादुर विष्ट र लोकराज उप्रेती आकांक्षी छन्। कृष्णपुर नगरपालिका सभापतिमा बलराम पन्त, बासुदेव पनेरु, भक्तबहादुर खत्री, लक्ष्मी सिंह र हरिलाल विष्ट आकांक्षी छन्। बेलौरी नगरपालिका सभापतिमा केशव जोशी, नेत्र गिरी र रामलाल राना आकांक्षी छन्। बेल्डाडी नगरपालिका सभापतिमा करुणाकर जोशी, देवराज उपाध्याय र सुरेन्द्र राना आकांक्षी छन्। पुनर्वास नगरपालिका सभापतिमा हरि अधिकारी, धर्मराज उपाध्याय, दुखी राना र हरिदत्त भट्ट आकांक्षी देखिएका छन्। नेपाली काँग्रेस कञ्चनपुरमा ५ हजार १ सय ८६ क्रियाशील सदस्य रहेका छन्। 
 
क्षेत्रीय निर्वाचन अधिकृत तोकिए
नेपाली काँग्रेस कञ्चनपुरको ४ वटै निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन गर्न क्षेत्रीय निर्वाचन अधिकृत तोकिएका छन्। नेपाली काँग्रेस कञ्चनपुरका जिल्ला निर्वाचन अधिकृत प्रयागदत्त भट्टले जिल्लाका नेतासँग गरेको बैठकले क्षेत्रीय निर्वाचत अधिकृत तोकेको हो।
 
निर्वाचन क्षेत्र नम्बर ४ को क्षेत्रीय अधिवेशन गर्न ललितसिंह साउँदलाई निर्वाचन अधिकृत तोकिएको छ। निर्वाचन क्षेत्र नम्बर ३ मा लालमणि पाण्डेय, निर्वाचन क्षेत्र नम्बर २ मा गणेशबहादुर चन्द र निर्वाचन क्षेत्र नम्बर १ मा मानबहादुर तामाङलाई निर्वाचन अधिकृत तोकिएको काँग्रेस कञ्चनपुरका जिल्ला निर्वाचन अधिकृत प्रयागदत्त भट्टले बताए। उनका अनुसार बुधबारको बैठकले माघ १५ गते नगरपालिकाका वडा र गाविसमा अधिवेशन गर्ने तथा माघ १७ गते नगर अधिवेशन गर्ने निर्णय गरेको छ। वडा अधिवेशनले वडाका पदाधिकारीसहित क्षेत्रीय अधिवेशनका लागि प्रतिनिधि छान्ने प्रावधान रहेको छ। 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ