- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । देशको पश्चिम भेगको चुरे क्षेत्रमा ९० वर्गकिलोमिटर पहिरो गएको छ । त्रिभुवन विश्वविद्यालयको केन्द्रीय वातावरण विज्ञान विभागले गरेको अनुसन्धानमा पश्चिमका १२ जिल्लामा ९० वर्गकिलोमिटर पहिरो गएको पत्ता लागेको हो ।
चुरे क्षेत्रको पहिरोको उच्च जोखिम रहेका क्षेत्रमा काम गर्ने उद्देश्यले राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समिति र विभागले एक वर्ष लगाएर अनुसन्धान गरेका थिए ।
परियोजना संयोजक डा सुबोध ढकालका अनुसार यस क्षेत्रमा चार सय वर्गमिटरभन्दा ठूला पहिरोको संख्या ७३ सय ७७ छ । सतही भूक्षयको समेत ठूलो समस्या रहेको छ । कञ्चनपुर, डडेल्धुरा, कैलाली, डोटी, बर्दिया, सुर्खेत, बाँके, दाङ, सल्यान, प्युठान, अर्घाखाँची र कपिलवस्तुमा पहिरोको जोखिम बढी छ ।
‘भौगर्भिक बनोट र भौगर्भिक प्रक्रिया चुरे क्षेत्रको पहिरोलाई समग्र रूपमा नियन्त्रण गर्ने प्रमुख कारण रहेको भन्ने कुराको पुष्टि भएको छ,’ अध्ययन प्रतिवेदनमा भनिएको छ, ‘भौतिक र रासायनिकजस्ता बाहिरी र भित्री दुईवटै प्रक्रियाले कमजोर चट्टानमा प्रभाव पार्दा र पानीको निकास राम्रो नहुँदा पहिरोको समस्या बढ्न गएको देखिएको छ ।’
मानव जातिका कारण पुरानो पहिरोलाई काट्दै बनाइएका सडक संरचना पहिरोलाई पुनः उक्साउने मुख्य कारण रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ । कोहलपुर–सुर्खेत रोडमा यस्ता समस्या धेरै देखिएका छन् । त्यसैगरी पानीको कमजोर निकास, खोलाले भिरलाई काट्ने प्रक्रिया र जमिनअनुसारको रूखको अभावले पनि पहिरो जाने गरेको उल्लेख छ ।
विभागले भूउपग्रहबाट लिएका तस्बिर र फिल्ड अध्ययनका आधारमा पहिरोको संख्या पत्ता लगाएको हो । संयोजक ढकालले पूर्वको चुरे क्षेत्रभन्दा पश्चिमको चट्टान राम्रो रहेको र वनलगायत विकासका कारण पहिरो जाने अवस्था कम रहेको बताए ।
संख्यात्मक रूपमा पश्चिमभन्दा पूर्वमा पहिरोको जोखिम बढी रहेको उनको भनाइ छ । अध्ययनले गत जेठसम्मको पहिरोको संख्या समेटेको छ ।
३० देखि ४० डिग्रीको भिर जोखिमपूर्ण
१२ मध्ये सबैभन्दा बढी चार जिल्लामा पहिरोको समस्या देखिएको छ । कैलाली, सुर्खेत, दाङ र डडेल्धुरामा पहिरोको संख्या धेरै रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ । यी जिल्लामा चट्टान चिप्लिने, चट्टान खस्नेलगायत समस्या छन् । भौगर्भिक नोटअनुसार ‘मिडल सिवालिक’ र लवर सिवालिकमा सबैभन्दा बढी पहिरो गएका छन् । ३० देखि ४० डिग्रीको भिरमा बढी पहिरो देखिएको छ।
पहिरोका कारण र समाधान
डा सुबोध ढकाल, परियोजना संयोजक
० चुरे क्षेत्र भौगर्भिक संरचना कमजोर रहेको छ । कुहिएको चट्टान भएका कारण घामपानीले सजिलै खियाउने र पहिरो जाने समस्या छ ।
० सानो एरियामै फरक–फरक किसिमका चट्टान छन्, जसले पहिरो जान सहज भएको छ ।
० मानवसिर्जित कारण पनि छन् । पुरानो पहिरोमा विभिन्न संरचना बनाउने, कतै रुख फँडानी हुने रहेको छ ।
० पानीको बहाव अनियन्त्रित हुनु पनि प्रमुख कारण रहेको छ । पानीको बहावले भूक्षय भएर खोल्सा बनाउने र पहिरो जाने गरेको छ ।
० पहिरोको समस्या रोक्न यस क्षेत्रमा ठूला संरचना बनाउनुहुँदैन । बायो इन्जिनियरिङ प्रविधिको प्रयोग गर्नुपर्छ । (नयाँ पत्रिका दैनिक)