arrow

नयाँ सोच–जन्मदिनमा ७० लाख !

logo
प्रकाशित २०७४ माघ ३ बुधबार
muraliprasad-gajurel.jpg

चितवन । खैरहनी नगरपालिका–८ पर्सा बजारका ५५ वर्षीय मुरलीप्रसाद गजुरेल सधैं जन्मदिन खोजिरहन्छन् । बिहान उठ्नासाथ पहिले आफूले टिपेको जन्ममितिसहितको डायरी पल्टाउँछन् । त्यसमा कसैको जन्मदिन भेटे तुरुन्तै फोन गरेर शुभकामना दिन्छन् । त्यहाँ जन्मदिन फेला नपारे सामाजिक सञ्जाल फेसबुक खोल्छन् ।

जन्मदिन पर्नेलाई पहिले शुभकामना दिन्छन् । त्यसपछि जन्मदिनमा खर्च गर्ने पैसा गरिब जेहेन्दार तथा विपन्न विद्यार्थी पढ्न खोलिएको कोषमा सहयोग गर्नआग्रह गर्छन् ।

सहयोग गर्न तयार भए चाहे नवलपरासी होस् चाहे मकवानपुर, मोटरसाइकल लिएर दौडिहाल्छन् । घरको न्यून आर्थिक अवस्थाका कारण आफूले एसएलसीसम्म गर्न नसकेपछि अहिले उनी आफ्नोजस्तो पीडा अरूले भोग्नु नपरोस् भन्दै विपन्न तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिमार्फत पढाउन सक्रिय छन् ।

उनले आफैं पढेको खैरहनी माविमा २०६७ पुसमा ‘जन्मोत्सव तथा स्मृति’ छात्रवृत्ति अक्षयकोष स्थापना गरे । उनको एक्लो प्रयासमा कोषमा अहिले ७० लाख ५ हजार जम्मा भएको छ । लक्ष्य १ करोड बनाउने छ । 

कोषले ब्याजबाट आउने रकम विद्यार्थीको अवस्था हेरेर आंशिक र पूर्ण छात्रवृत्तिमा खर्च गर्छ । अहिलेसम्म ३ सय ५१ जना विद्यार्थीले पूर्ण तथा आंशिक छात्रवृत्ति पाइसकेका छन् । 

कोषबाट कक्षा ११ र १२ मा पढ्ने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिन्छ । सहयोग स्वरूप आउने रकम गरिमा विकास बैंक र हिमालय बैंकमा रहेको कोषको खातामा जम्मा गरिन्छ । भौचरको तस्बिर खिचेर सामाजिक सञ्जाल फेसबुकमार्फत सहयोग गर्ने व्यक्तिलाई पठाइन्छ ।

उनले डायरीमा साढे ४ सय जनाको जन्मदिनको मिति टिपेर राखेका छन् । विवाह उत्सव, व्रतबन्ध, स्मृति वा कुनै चाडबाडमा सहयोग लिन बोलाए त्यहीं पुग्छन् । उनले कोषको सुरुवात आफ्नै घरबाट गरेका हुन् । 

नातिनी अरपिताको जन्मदिनमा छुट्याइएको ६ हजार ५ सय कोषमा जम्मा गरे । त्यसपछि अभियानलाई व्यापकता दिन लागिपरे । अरूलाई जन्मदिनमा अनावश्यक खर्च नगर्न र पढाइबाट वञ्चित विपन्न तथा जेहेन्दार विद्यार्थीका लागि सहयोग गर्न आग्रह गर्दै हिँड्न थाले ।

उनले अक्षयकोष सञ्चालनका लागि ११ जनाको समिति बनाएका छन् । उनी त्यसको संयोजक हुन् । (कान्तिपुर दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ