arrow

प्रदेश ५ मा संसद बैठक र सरकार गठनको प्रक्रिया सँगसँगै

logo
प्रदीप आचार्य,
प्रकाशित २०७४ माघ १० बुधबार
pradesh-pramukh-office.jpg

बुटवल ।   प्रदेश नम्बर ५ मा संसद बैठक आह्वान र सरकार गठनको प्रक्रिया सँगसँगै अघि बढ्ने भएको छ।  संविधान अनुसार निर्वाचन परिणाम सार्वजनिक भएको २० दिनभित्र संसद बैठक बोलाउनुपर्ने हुन्छ भने ३० दिनभित्र मुख्यमन्त्री चयन गर्नैपर्छ। बैठक आह्वानका लागि अब १२ दिनमात्रै बाँकी छ भने सरकार गठनका लागि २३  दिन बाँकी रहेको छ ।

  प्रदेश प्रमुख उमाकान्त झाले संविधानकै दायरामा रहेर बैठक आह्वानको तयारी भइरहेको बताएका छन्। ‘संविधानले भने बमोजिम नै संसद बैठक आह्वान गर्छौं’, उनले भने–‘सभामुख (जेष्ठ सदस्य), राजनीतिक दलहरूको छलफलबाट मिति तय हुन्छ।’

अस्थायी मुकाममा कार्यालय पूर्वाधारको व्यवस्था नभएकाले पनि संसद बैठक आह्वानका लागि केही दिन लाग्ने छ। संसद सञ्चालनका लागि कर्मचारीहरूसमेत आइसकेका छैनन् । संसदमै काम गरेका कर्मचारीहरूलाई खटाउने तयारी भइरहेकाले उनीहरूको पर्खाइमा प्रदेश मुकामहरू रहेका छन्। ‘संसद सचिवालयलाई कर्मचारी खटनपटनका लागि आग्रह गरेका छौं, त्यसपछि काम शुरु हुन्छ’, प्रमुख झाले भने।

कर्मचारी र पूर्वाधारको व्यवस्थापनको काम थाती रहेकाले प्रदेश नम्बर ५ मा माघ १५ गतेभन्दा अगाडि संसद बैठक आह्वान हुने सम्भावना निकै कम देखिएको छ। प्रदेश प्रमुखले माघ २३ गतेभित्र संसद बैठक आह्वान गर्ने र संसद बैठकले फागुन ३ गतेभित्र मुख्यमन्त्री चयन गरिसक्नुपर्ने संवैधानिक व्यवस्था छ।

बैठकको अध्यक्षता गर्ने जेष्ठ सदस्य बलदेव शर्मा पोख्रेलले संसदीय दलसँगको छलफलबाट बैठक आह्वान हुने बताए। उनी अहिले सभामुखको भूमिकामा रहेका छन्।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ