arrow

उच्च अधिकृतको स्वार्थः ‘३० वर्षे’ हटाउने कसरत

logo
प्रकाशित २०७४ माघ ११ बिहिबार
Nepal-Police-new-tt.jpeg

काठमाडौँ । उच्च प्रहरी अधिकृतहरूको अनावश्यक दरबन्दी थप्ने ‘चलखेल’ सँगै नेपाल प्रहरीमा सेवा अवधि बढाउने कसरत सुरु भएको छ । त्यसका लागि प्रहरीमा हाल रहेको ३० वर्षे सेवा अवधिपछि अवकाश हुने व्यवस्था हटाउने कसरत भएको हो । 

स्रोतका अनुसार आगामी चैत २८ मा अवकाश पाउन लागेका केही उच्च प्रहरी अधिकृतको ‘स्वार्थ’ मा प्रधानमन्त्री शेरबहादुर देउवाले नै यसमा अग्रसरता लिएका छन् । 

३० वर्षे सेवा अवधि हटाउने व्यवस्थासहितको प्रस्तावित संघीय प्रहरी ऐन अध्यादेश मन्त्रिपरिषद्बाट पारित गराउन छलफल सुरु भएको छ । अध्यादेश जारी भए प्रहरी नियमावलीमा रहेको ३० वर्षे सेवा अवधिको व्यवस्था खारेज हुनेछ ।

प्रहरी नियमावली, २०४९ ले ३० वर्ष सेवा अवधि पुगेपछि प्रहरीले अनिवार्य अवकाश पाउने व्यवस्था गरेको छ । तर, प्रस्तावित संघीय प्रहरी ऐनको अध्यादेशमा पदावधि र ५८ वर्षको उमेर हदका कारण मात्रै अवकाश पाउने व्यवस्था छ । 

अध्यादेशमा प्रहरी महानिरीक्षकका लागि तीन वर्ष, अतिरिक्त प्रहरी महानिरीक्षकका लागि दुई वर्ष र नायब प्रहरी महानिरीक्षकका लागि चार वर्ष पदावधि प्रस्ताव गरिएको छ । 

सरकारले अध्यादेश पारित गरे अवकाशको मुखमा रहेका उच्च प्रहरी अधिकृतहरूको करिब दुई वर्ष सेवा अवधि थप हुनेछ । त्यसैले पनि २८ चैतमा अवकाश पाउन लागेका वर्तमान महानिरीक्षक प्रकाश अर्यालका ब्याची १६ जना एआईजी अध्यादेश जारी गराउने ‘दौडधुप’ मा सक्रिय छन् ।

‘३० वर्षे’ सेवा राख्ने र हटाउने विषयमा प्रहरी अधिकृतहरूबीच मतैक्य नभए पनि कामचलाउ सरकारबाट भइरहेको पछिल्लो कसरतलाई स्वाभाविक मानिएको छैन । नयाँ सरकार बन्न केही दिन मात्र बाँकी रहेको अवस्थामा कामचलाउ सरकार आफैं प्रहरी संगठनभित्र दीर्घकालीन असर पार्ने किसिमको निर्णयका लागि उद्यत हुनुलाई ‘शकांस्पद’ मानिएको हो ।

केही उच्च प्रहरी अधिकृत नयाँ सरकार बन्ने क्रममा रहेका बेला यस्तो संवेदनशील विषय अघि बढाउनुका पछाडि ‘ठूलो कारोबार’ को हात रहेको दाबी गर्छन् ।

‘यसका राम्रा र नराम्रा दुवै पक्ष होलान्, तर अहिले ३० वर्षे हटाउने कसरत हुनुका पछाडि सही नियत छैन, केही स्वार्थप्रेरित अधिकृतहरूको चलखेलको परिणाम हो,’ ती अधिकृतले भने, ‘आफूलाई टिकाउन दरबन्दी थप्ने र कायम गराउने नेतृत्वको निरन्तरता हुनु दुर्भाग्य हो ।’

 नेतृत्वमा को पछाडि पर्छ भन्दा पनि प्रहरी संगठन थप दुई वर्ष बन्धक बन्ने ती अधिकृतको चिन्ता छ । ‘चलखेल’ गरेर पदावधि थप्दै राज्यकोषमाथि अनावश्यक भार थप्न उद्यतबाट भइरहेको ३० वर्षे हटाउने कसरतलाई स्वाभाविक मान्न नसकिने ती अधिकृत बताउँछन् ।
अध्यादेश जारी भए गृह मन्त्रालयको संगठन तथा व्यवस्थापन समिति (ओएनएम) ले खारेज गर्न सिफारिस गरेको हाल सात प्रदेशमा रहेको एआईजीहरूको दरबन्दीसमेत कायम रहनेछ । 

जसबाट राज्यकोषमाथि वार्षिक करोडौंको व्ययभार थपिनेछ । प्रदेश तहमा विशिष्ट श्रेणी तहका एआईजीहरू राख्दा प्रदेशको गृह प्रशासनको नेतृत्व गर्ने सम्बन्धमा पनि जटिलता आउने देखिन्छ । 

किनकि प्रदेशका मन्त्रालयहरूको नेतृत्व प्रथम श्रेणीका सहसचिवलाई प्रदेश सचिवको पद दिने सरकारको तयारी छ । प्रस्तावित अध्यादेशमा नेतृत्व तहको पदावधि नतोकी नियमावलीको ३० वर्षे सेवा अवधिको व्यवस्था मात्र हटाउने कसरत पनि हुन सक्नेतर्फ एक जना प्रहरी अधिकृत चिन्ता व्यक्त गर्छन् । 

त्यसो भएमा हाल दोस्रो तहमा रहेका अधिकृतहरू नेतृत्व तहमा पुग्नै नपाई अवकाश पाउने छन् । यसले प्रहरी संगठनभित्र ठूलो निराशा निम्त्याउने ती अधिकृतले बताए ।

 ‘आईजी, एआईजीपी र डिआईजीलगायतको पदावधि तोकेर ३० वर्षे सेवा अवधि हटाइन्छ भने त्यसले संगठनलाई क्षति पुर्याउँदैन तर त्यसो नगरी ३० वर्षे मात्र हटाइयो भने त्यो पूरै संगठनका लागि दुर्भाग्य हुनेछ,’ ती अधिकृतले भने । 

तर, गृह मन्त्रालयका उच्च अधिकारीले नेपाल प्रहरीभित्रको वृत्तिविकासमा कुनै अवरोध नल्याउने गरी ३० वर्षे सेवा अवधिको व्यवस्था हटाउन छलफल अघि बढेको जानकारी दिए । 

गृहसचिव मोहनकृष्ण सापकोटाले समेत ३० वर्षे सेवा अवधि हटाउने विषय छलफलका क्रममा रहेको जानकारी कान्तिपुरलाई दिए । (कान्तिपुर दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ