arrow

अवस्था सामान्य नभएसम्म ओली भारत नजाने, माघ अन्तिम साताको टाइमलाइन सर्ने सम्भावना

logo
प्रकाशित २०७२ माघ १५ शुक्रबार
oli.jpg.jpeg
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको औपचारिक भारत भ्रमणबारे अन्योल कायमै छ । भ्रमण गर्ने भनिएको समय नजिकिँदै गर्दा अझै तिथी तय हुन नसकेपछी विभिन्न अड्कलबाजी हुन थालेका छन् । पछिल्लो समय प्रधानमन्त्री ओली मधेस समस्या समाधान र नाकाको अवस्था सामान्य भए वा नभएपनि भारत भ्रमणमा जाने तयारीमा रहेको अनौपचारिक जानकारी आएपनि आधिकारिक जानकारी सार्वजनिक भएको छैन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले तीन पटक सम्म ओलीलाई भ्रमणको आग्रह गरिसकेका छन्, भने मधेस समस्या समाधानका लागि सरकारले बनाएको रणनीति तथा संविधान संशोधन प्रक्रिया भारतले स्वागत भनिसकेको छ । 
 
ओलीले अझै अवस्था सामान्य नभएसम्म भारत भ्रमणमा जानु वाञ्छनीय हुँदैन भनिरहेका छन् । भ्रमणको मिति अझै तय हुन सकेको छैन । प्रधानमन्त्री ओलीका परराष्ट्रविज्ञ गोपाल खनालले हाम्राकुरासंग भने, ‘फेब्रुअरी दोस्रो अर्थात् तेस्रो साता भित्रै भ्रमण गर्ने भन्ने छ, तिथी तय भएको छैन ।’ फेब्रुअरी दोस्रो अर्थात् तेस्रो साता भित्रै भनेको यही माघ अन्तिम साताकै समय हो । 
 
तपाईले भनेकै समय सम्म मुलुकको अवस्था सामान्य नभए के भारत भ्रमण रोकिन्छ ? खनालका अनुसार प्रधानमन्त्रीको पक्षबाट आधिकारिक अझै केही विषय आएको छैन । आपूर्ति व्यवस्था सहज नभएसम्म भ्रमणमा जानु वाञ्छनीय हुँदैन भन्ने अडान कायमै छ, तिथी तय भएको छैन, भारत जाने पक्का पक्की हो –खनालले भने । परराष्ट्रले आफ्नो तयारी गरिरहेको छ । 
 
अहिले सम्म तयारी मात्रै भइरहेको बताउँदै प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले भने,‘अवस्था सामान्य भइरहेको छ, भ्रमणको ठ्याक्कै मिति तय भएको छैन, अवस्था सामान्य हुने वित्तिकै जानुहुन्छ ।’ केही दिनमै अवस्था सामान्य हुने भनिरहनु भएको छ । आन्दोलनरत मधेसी मोर्चाको सीमा नाका केन्द्रीत आन्दोलन र मधेस समस्या समाधानबारे पछिल्लो समय सम्वाद नभएकाले आपूर्ति व्यवस्था सामान्य हुने टुंगो लाग्न सकेको छैन । मोर्चा आन्दोलन सशक्त बनाउनतर्फ लागेकाले नाका अवरोध हट्नेबारे यकिन हुन नसकेको हो । 
 
नाका खुल्ने केही भेउ पाउनु भा छ ? 
नाकाबन्द भएको विषय हाल सम्म औपचारिक रुपमा आफुहरु कहाँ नआएको परराष्ट्रमन्त्रालय प्रवक्ताको कार्यालयका सहप्रवक्ता दिपक अधिकारीले बताए । अधिकारीले भने, ‘अहिले सम्म नाका बन्द गरेको आधिकारिक कुनै जानकारी छैन, नाका बन्द भएको औपचारिक जानकारी आएको भए, खुल्ने जानकारी पनि आउँथ्यो होला, आफै बन्द भयो आफै खुल्छ ।’ नाकाबन्दीको जवाफ परराष्ट्रबाट पाउने कुनै आधार नै छैन । भारतीय अधिकारीहरुले समेत नाकाबन्दीबारे कुनै जानकारी नभएको जवाफ दिइरहेको सहप्रवक्ता अधिकारीले जानकारी दिए । 
 
प्रधानमन्त्री भ्रमणको कहिलेसम्म तयारी मात्रै भइरहन्छ ? 
महाशाखाहरुले आफुले गर्ने तयारी गरिरहेकै छन् । तिथी निश्चय भएको छैन । तयारी पूर्ण हुन तिथी तय हुनै पर्दछ । अधिकारीले भने,‘कतिपय तयारीका कामहरु तिथी तय भएपछि मात्रै गर्न मिल्दछ ।’ भेटका क्रममा लैजाने प्रस्ताव, भ्रमण टोली सदस्य, भेट कार्यक्रम, भ्रमण अवधिलगायतको तयारी तिथी तय भएपछि हुने हो । सम्बन्धित महाशाखाहरुले आ–आफ्नो काम गरिरहेकै होलान् । 
 
ओली भ्रमणबारे विभिन्न टिका टिप्पणी भइरहँदा तयारी नै पूर्ण भइसकेको छैन । सरकारका मन्त्रीहरुले औपचारिक वा अनौपचारिक कार्यक्रमहरुमा फुक्ने बाहेक अन्य प्रगति नभएकाले भ्रमण अन्योल बढेको छ । नाका अवरोधको समस्या भारतीय विदेश मन्त्रालय र नेपालको परराष्ट्रमन्त्रालयबाट मधेसी मोर्चाको आन्दोलमा गएर अड्किएको छ । मोर्चाले आफ्ना मागबारे प्याकेजमै सहमति खोज्नु पर्ने भन्दै नाका अवरोध नछाड्ने र आन्दोलन सशक्त बनाउँदै लैजाने बताइरहेको छ । जसले माघ अन्तिम साता हुने भनिएको भ्रमण सर्ने सम्भावना बढाएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ