arrow

गंगामाया अन्नपानी छाडेरै अनशनमा, के गर्लान् अधिकारकर्मी र न्यायकर्मीले ? 

logo
प्रकाशित २०७४ माघ १६ मंगलबार
Gangamaya.jpg.jpeg

काठमाडौँ । गोरखा फुजेलकी गंगामाया अधिकारी फेरि वीर अस्पतालको विस्ताराबाटै आमरण अनसन सुरु गरेकी छिन् । उनी छोरा कृष्णप्रसादको हत्यारालाई कार्वाहीको माग गर्दै ०६१ सालदेखि निरन्तर आन्दोलनमा छिन् । 

गंगामायाले थुप्रै पटक आमरण अनसन गरिन् । अनि सरकारको आश्वासनले स्थगित गरिन् । यसपटक उनले आशा नै मारिसकेकी छिन् । 

भन्छिन्, ‘छोराको हत्यारालाई कार्वाही गर्ने मुद्धा डेढ दर्जन पटकसम्म सुनुवाइ सारियो अब आशा मर्यो ।’

पछिल्लो पटक फागुन १३ गतेका लागि सर्वोच्चले पेशी तोकेको छ। तर त्यतिन्जेलसम्म धैर्य गरेर बस्न उनको मनले मानेन । 

अधिकारकर्मीहरुले अनुरोध पनि गरेका हुन् । तर उनको अन्तर्मनले न्याय पाउँछु भन्ने सोच्नै छाडेको छ । 

मंगलबारदेखि अन्नपानी केही पनि नखाइ अनसन थालेकी उनले न्याय नपाएसम्म केही नखाने भन्दै कठोर यात्रा सुरु गरेको बताइन् । 

उनको आँखामा कुनै आशा देखिँदैन । बाँचेर पूरा हुने जिजिविषा पनि देखिँदैन । त्यसैले त वारपारको लडाइँमा होमिएकी छिन् –जबसम्म न्याय दिइँदैन तबसम्म अन्न नखाने । 

उनले कसमै खाएकी छिन्, –मेरो प्राणै जाओस् तर माग पूरा नभएसम्म अनशन तोडदिन ।’

अन्नपानी नखाएरै उनका पति नन्दप्रसाद अधिकारीको ०७१ असोज ६ गते वीर अस्पतालमै निधन भएको थियो । 

नन्दप्रसादको शव त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको थियो । उनको शव दाहसंस्कार गर्ने आँट कसैले गरेनन् । 

धार्मिक, सांस्कृतिक एवं मानवअधिकारका सबै शास्त्र र विधि विधान फेल खाए । उनको अन्तिम संस्कार कहिले हुन्छ टुंगो छैन । 

अधिकारकर्मीहरु फाट्फुट उनका आवाज सुन्न खोज्छन् । तर अधिकारकर्मी कम र दलीय कार्यकर्ता बढी भएको गुनासो बढ्दो छ । 

न्यायमूर्ति मौन छ र फरक फरक नेतृत्वकर्ता भएका सरकारले सुनेका छैनन् । 

एक अधिकारकर्मी भन्छन् –पीडकहरु नै सरकारमा भएपछि पीडितले राहत पाउने सम्भावना छैन ।’

उनका छोरालाई तत्कालीन विद्रोही माओवादीले ०६१ जेठ २४ मा हत्या गरेको थियो । यसको जानकारी सबैलाई छ । 

माओवादी मौन छ । सशस्त्र द्धन्द्धका संक्रमणकालीन घटनालाई त्यसैअनुसार छानबिन गरी कार्वाही, मिलान के गर्न सकिन्छ भनी सत्य निरुपण तथा मेलमिलाप आयोग पनि बन्यो । समय मात्र खर्च भइरहेको छ । ६१ हजार बढी मुद्धा छन् तर एउटा पनि टुंगोमा पुगेका छैनन् । 

अझै पनि शंकाको घेरामा छ उनको सत्याग्रह । के गंगामायाले न्याय पाउलिन् ? 

के कृष्णप्रसादका हत्यारा पक्राउ पर्लान् ? अनुत्तरित प्रश्नहरु धेरै छन् । 

अब अर्को प्रश्न पनि तेर्सिएको छ – के दृढ कठोर संकल्प लिएर आमरण अनसन गरेकी गंगामाया जिवित छँदै न्याय पाउलिन् ? 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ