arrow

प्रदेश २ मा फोरमले मुख्यमन्त्रीमा राउतलाई अघि सार्यो, दलको नेतामा राउत

logo
प्रकाशित २०७४ माघ २२ सोमबार
pradesh-2-mukhyamantri.jpg

काठमाडौँ । प्रदेशसभामा सबैभन्दा ठूलो दल संघीय समाजवादी फोरमले पार्टीका उपाध्यक्ष समेत रहेका सांसद लालबाबु राउतलाई संसदीय दलको नेतामा चयन गरेको छ ।

फोरमको आइतबार जनकपुरमा बसेको बैठकले राउतलाई दलको नेतामा सर्वसम्मत चयन गरेको हो। यो चयनसँगै उनलाई भावी मुख्यमन्त्रीको रुपमा हेरिएको छ। दलको नेता छान्न फोरमले आइतबार बोलाएको बैठकमा आंकाक्षी धेरै भएका कारण राति अबेरमात्रै दलको नेता चयन भएको थियो। दलको नेतानै मुख्यमन्त्री बन्ने संवैधानिक व्यवस्थाका कारण दलको नेताका लागि फोरमभित्र सातजना आकांक्षी देखिएका थिए। ती मध्ये ५ जनाले नाम फिर्ता लिएपछि सर्वसम्मत निर्णय लिन सहज भएको थियो।

फोरम र राष्ट्रिय जनता पार्टी राजपा बीचको गठबन्धनबाट यस प्रदेशमा सरकार निर्माण हुने प्रवल संभावना छ। फोरमले मुख्यमन्त्री र राजपाले सभामुख लिने अनौपचारिक रुपमा सैद्धान्तिक सहमति यस अघिनै गरिसकेका छन्। तर, राजपाले मुख्यमन्त्री आलोपालो गरी बाँड्नुपर्ने सर्त राखेका कारण औपचारिक सहमति भएको छैन।

राजपाभन्दा फोरम चार सिटले ठूलो छ। फोरमको २९ र राजपाको २५ गरी ५४ सिट मधेस गठबन्धनसँग छ। प्रदेशका १ सय ७ सांसदमा दुई दल मिल्दा सरकार बन्न पुग्ने बहुमत सदस्य छ। फोरमबाट नेता चयन भएलगतै भावी सरकार निर्माण र शासकीय पदको बॉडफाड मिलाउन सोमबारदेखि नै दुई दलबीच जनकपुरमै छलफल हुने भएको छ। 

राजपा नेता जितेन्द्र सोनलले दुई पदमा मात्रै नभएर सवै शासकीय पदमा प्याकेजमा सहमति जुटाउने गरी छलफल हुने बताए। सरकार गठनका लागि अन्य विकल्प भने नखोजिएको उनले बताए। दुई दलबाहेक फोरम र राजाप दुवैले बाम गठबन्धनसंग मिलेमा पनि सरकार निर्माण गर्न सक्छ।

 ‘जनताको म्यानडेट भनेकै फोरम राजपा मिलेर सरकार बनाउनुपर्छ भन्ने हो, हामी दुई दलबीचमा राजनीतिक दृष्टिकोण र मुद्दाहरु पनि एउटै छन्। पावर शेयरिङ मात्रै मिलाउँदा हुन्छ’ उनले भने,‘अन्य विकल्प खोज्दा राजनीतिक एजेन्डामा पनि सहमति गर्नुपर्ने हुन्छ ,त्यो बाटोमा अहिले हामी छैनौं।’

फोरम नेता रामाषिस यादवले पनि जनताको म्यान्डेटअनुसार फोरम र राजपाबीच नै सरकार निर्माण हुने बताए। फोरमका अतिरिक्त प्रदेश २ मा सबै पार्टीहरु नै संसदीय दलको नेता चयनमा व्यस्त छन्। राजपा, एमाले, कांग्रेस र माओवादी केन्द्रले संसदीय दलको नेता छनोट गर्ने आन्तरिक गृहकार्य सुरु गरेका हुन्।

राजपाले संसदीय दलको नेता जितेन्द्र सोनल र नवलकिशोर साहमध्ये एकलाई बनाउने भएको छ। स्रोतका अनुसार सोनललाई संसदीय दलको नेता र नेता मनिष सुमनलाई सभामुख बनाउने गरी छलफल अघि बढेको छ। सोनलले भने अध्यक्ष मण्डलका नेताहरु आ—आफ्नो निर्वाचन क्षेत्रमा गएकाले अहिल्यै टुंगोमा नपुगेको बताए।

संसदीय दलको नेताका लागि एमालेभित्र तीव्र विवाद देखिएको छ। फोरम र राजपा मिलेर सरकार निर्माण गरेमा प्रमुख प्रतीपक्ष दलको भूमिकामा एमाले रहन्छ। प्रमुख विपक्ष दलको एमालेभित्र तीव्र विवाद नेताका लागि शत्रुध्न महतो र सत्यनारायण मण्डलबीच हानाथाप छ। यी दुई नेताको आपसी द्वन्द्वको प्रभाव आइतबार प्रदेश नम्बर २ को संसद बैठकमा समेत परेको थियो। संसदमा कसले सम्बोधन गर्ने भन्नेमा विवाद भएपछि दलीय हैसियतमा उपलव्ध भएको दस मिनेटमा दुबै नेताले ५र५ मिनेट बोल्ने गरी सहमति कायम गरिएको थियो।

कांग्रेस र माओवादीमा सर्वसम्मत
कांग्रेसले रामसरोज यादवलाई नै संसदीय दलको नेता बनाउने सहमति गरेको छ। संसदीय दलको नेता र प्रमुख सचेतकमा सर्बसम्मत बनाउन कांग्रेस नेता विमलेन्द्र निधि आइतबार नै धनुषा आएका छन्। निधिले आफ्ना पार्टीका सांसदहरुलाई राति डिनर बैठक बोलाएका थिए। बैठकले दलको नेतामा सर्वसम्मत बनाएको त्यहाँ उपस्थित एक सांसदले बताए।माओवादी केन्द्रले भरत साहलाई दलको नेता बनाउने करिब टुंगो लगाएको छ।

मन्त्रिमण्डल २१ सदस्य नै हुने
फोरम र राजपाबीचको गठबन्धनमा सरकार निर्माण गर्दा २१ सदस्यको मन्त्रिपरिषद् बन्ने करिब पक्का भएको छ। संविधानमा कूल सांसद संख्याको २० प्रतिशत नबढाई मन्त्री बनाउनु पर्ने व्यवस्था छ।

संविधानको यो व्यवस्थाअनुसार यस प्रदेशमा २१ सदस्यीय मन्त्रीमण्डल बनाउन सकिन्छ। प्रदेश ३ मा वाम गठबन्धनले औसत १० प्रतिशत नबढ्ने गरी मन्त्रिपरिषद् बनाउनु पर्नेमा जोड दिइरहेका बेला राजपा नेता मनिष सुमनले भने २१ जनाकै मन्त्रिपरिषद् बन्ने बताए। पार्टीभित्रका आकांक्षीहरुका व्यवस्थापनका लागि पनि संविधानले व्यवस्था गरेको सीमाभित्र रहने मन्त्रिपरिषद् बनाउनु परेको नेताहरुले बताए। (कान्तिपुर दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ