arrow

बलात्कार काण्डको जालो, एसपी माझी पनि अनुसन्धान घेरामा

logo
प्रकाशित २०७४ माघ २२ सोमबार

इटहरी । बलात्कार घटनामा मिलापत्र गराएको अभियोगमा प्रहरीले गठन गरेको छानबिन समितिले जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी विद्यानन्द माझीलाई समेत छानबिनको घेरामा राखेको छ ।

इलाका प्रहरी कार्यालयमा प्रहरी निरीक्षक मात्र र अञ्चल प्रहरी प्रमुखको भूमिकामा माझी आफैं रहेका बेला बलात्कारको मिलापत्र भएको थियो । माझीले घटना इलाका प्रहरी कार्यालयमा भएको र मुद्दा चलाउने अधिकार पनि इलाकालाई नै हुने भएकाले आफूलाई मिलापत्रबारे थाहा नभएको बताउँदै आएका छन् ।

उनले पीडितबाट उजुरी नआएकाले मुद्दा अघि बढाउने अवस्था नरहेको बताएका थिए । उनी अहिले चार दिनको बिदामा छन् ।

मुद्दा नचलाई प्रहरी कार्यालयभित्रै पीडित र पीडकबीच मिलापत्र गराउने इप्रका इटहरीको मुद्दा फाँटका सई भीमबहादुर खत्री प्रदेश १ प्रहरी कार्यालय विराटनगर, रानी तानिएका छन् । 

घटनाका बेला इप्रका इञ्चार्जको भूमिकामा रहेका इन्स्पेक्टर चिरञ्जीवी दाहाललाई सोमबारदेखि प्रदेश १ प्रहरी कार्यालय तानिँदै छन् । घटना सार्वजनिक भएदेखि नै दाहाललाई कुनै जिम्मेवारी दिइएको छैन ।

मिलापत्रको डकुमेन्ट गायब बनाउन सक्ने र अनुसन्धानमा प्रभावित गर्न सक्ने कारण देखाउँदै दुवैलाई रानी तानिएको हो । एसएसपी हरिबहादुर पालको संयोजकत्वमा प्रहरीमाथि छानबिन गर्न बनेको समितिले प्रहरी कार्यालयभित्र गरिएको मिलापत्रको कागज आइतबार फेला पारी अञ्चल प्रहरी कार्यालय लगेको छ ।

बलात्कार भएको भोलिपल्ट बालिकाकीफुपू जाहेरी दिन इप्रका, धरान पुगे इटहरी क्षेत्रको घटना भन्दै उतै जानू भनेर पठाएको थियो । तर पीडित पक्ष इप्रका, इटहरी नपुग्दै बिचौलियाले उपल्लो राजनीतिक दबाबमार्फत मिलापत्र गराउन भूमिका खेलेको स्रोतले जनायो ।

शनिबार तरहराबाट पक्राउ परेका बालिकाका प्रेमी जोकम लिम्बुको मोबाइल अनुसन्धानमा प्रहरीले बालिकासँगको यौन सम्बन्धका स्थिर र चलायमान तस्बिरसमेत खिचेर मेमोरी कार्डमा सुरक्षित राखिएकोफेला पारेको छ ।

प्रदेश १ का प्रहरी प्रमुखप्रहरी डीआईजी पशुपति उपाध्यायले यो घटनामा प्रहरी कर्तव्यबाट चुकेकाले समिति नै बनाएर प्रहरीमाथि नै छानबिन थालिएको बताए । घटनाका आरोपी पक्रने र उनीहरूलाई अदालतमा उपस्थित गराएर कानुनी कारबाही गराउने प्रक्रियासँगै यो जघन्य अपराधलाई मिलापत्र गराउन दोहोरो भूमिका खेल्ने र गराउनेहरूलाई समेत कारबाही हुनेउपाध्यायले बताए ।

‘घटनामा संलग्न नागरिक हुन् वा प्रहरीको एसपी, सबैमाथि छानबिन हुन्छ र दोषी देखिए कारबाही हुन्छ,’ उनले भने । इलाका प्रहरी कार्यालय इटहरीमा धरानबाट केस फरवार्ड भएर आएपछि मुद्दा दर्ता हुनुपर्नेमा सो देखिएन । बलात्कार घटनामा मिलापत्र भएको थाहा पाएपछि अञ्चल प्रहरी कार्यालयले चासो दिएको थियो । अञ्चल प्रहरी टोलीले पीडितबाट उजुरी लिएर माघ १२ गते जबर्जस्ती करणीमा मुद्दा दर्ता गरेको हो ।

इटहरी–२० की कक्षा १० मा पढ्ने १४ वर्षीया बालिकालाई अंग्रेजी नयाँ वर्षको अघिल्लो दिन पुस १६ गते राति इटहरी–२ हलगढास्थित रोयल रिसोर्टमा उनकै प्रेमी लिम्बु र उसको साथी विराटनगरका मनीष श्रेष्ठले वाइन खुवाएर बलात्कार गरेका थिए ।

मिलापत्रमा जनप्रतिनिधि
प्रहरी कार्यालयभित्र बलात्कार घटनामा मिलापत्र गराउँदा जनप्रतिनिधिलाई रोहबरमा राखिएको खुलेको छ । इटहरी उपमहानगरपालिका–२० का वडाध्यक्ष मणिराम श्रेष्ठले मिलापत्रको रोहबरमा सही गरेको खुलेको हो । 

जघन्य अपराधमा संलग्न अपराधीलाई कानुनी कारबाही गराउनुपर्ने नैतिक दायित्व बोकेका जनप्रतिनिधि नै मिलापत्रमा सहभागी भएको जिज्ञासामा उनले आफू निकै हतारमा रहेको र मिलापत्र भनेपछि कुनै झैंझगडा होला भनेर सही गरेको बताए । ‘जघन्य अपराधको रोहबर भन्ने थाहा पाएको भए बस्दिनथें,’ उनले भने । (कान्तिपुर दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ