arrow

मालदिभ्स्मा राजनीतिक संकट बढ्यो

logo
प्रकाशित २०७४ माघ २२ सोमबार
maldives-politics.jpg

माले। मालदिभ्स्मा राजनीतिक संकट झनै गहिरिएको समाचार छ। गएको बिहीबारदेखि शुरु भएको राजनीतिक संकटका कारण यहाँ थप तनाव भएको समाचार छ। आइतबार मालदिभ्स्को सरकारले यहाँको सेना र प्रहरीलाई सर्वोच्च अदालतको आदेशको पालना नगर्न भन्दै सर्वोच्च अदालतले दिने कुनै पनि आदेशको पालना नगर्न निर्देशन जारी गरेको छ।

मालदिभ्स्को सर्वोच्च अदालतले बिहीबारको फैसलामा यहाँको जेलमा रहेका सबै राजनीतिक बन्दीलाई रिहा गर्न आदेश दिएको थियो। उक्त फैसलाको कार्यान्वयन गर्दा मालदिभ्स्का पूर्व राष्ट्रपति मोहम्मद नसिद र पूर्व उपराष्ट्रपति अहमद अदिबलाई रिहा गर्नुपर्ने हुन्छ। तर पनि यहाँको वर्तमान सरकार उनीहरुलाई रिहा गर्ने पक्षमा छैन।

अदालतको आदेश नमानेको भनेर यहाँको सर्वोच्च अदालतले सरकारको कदमप्रति आलोचना गर्दै आएको छ। उसले राष्ट्रपति अब्दुल्लाह यामिनलाई महाअभियोग लगाउन वा उनलाई पक्राउ गर्नुपर्ने आदेशसमेत दिनसक्ने अनुमान गरिएको छ।

यदि त्यस्तो आदेश आयो भने कुनै पनि आदेशको पालना नगर्न सरकारले सुरक्षा निकायका नाममा आइतबार निर्देशन जारी गरेको हो। उता पूर्व राष्ट्रपति नसिदका कार्यकर्ताले उनलाई रिहा गर्नुपर्ने माग गर्दै मालदिभ्स्को राजधानी मालेमा बिहीबारदेखि नै व्यापक मात्रामा प्रदर्शन गर्दै आएका छन्।

कैयौँ स्थानमा प्रहरीसँगको भिडन्तका कारण राजधानी मालेको अवस्था तनावपूर्ण बन्दै गएको बताइएको छ। दर्जनौँ व्यक्ति घाइते पनि भएका छन्। यहाँ बिहानैदेखि प्रदर्शनहरु हुने गरेका छन्।

नसिद सन् २००८ मा भएको निर्वाचनमा मालदिभ्स्को राष्ट्रपतिमा निर्वाचित भएका हुन्। तर उनलाई सन् २०१२ को फेब्रुअरी महिनामा ‘कू’गरेर हटाइएको थियो। उनलाई तत्कालीन सरकारले भ्रष्टाचारको आरोपमा पक्राउ गरेको थियो। पछि अदालतले १३ वर्षको जेल सजाय सुनाएको थियो। राजनीतिक आस्थाका आधारमा उनलाई जेल हालिएको बताउने गरिएको छ।

मालदिभ्स्का राष्ट्रपति यामिनले आगामी सेप्टेम्बर महिनामा राष्ट्रपतिको निर्वाचन आह्वान गरेकाछन्। त्यसैले पनि सो निर्वाचनअगावै सबै राजनीतिक बन्दीलाई रिहा गर्न अदालतले आदेश दिएको हो। तर पनि उनीहरुलाई रिहा गर्न सरकार तयार भएको छैन भने यता अदालतको आदेशको पालना नगरेको भन्दै यहाँको सर्वोच्च अदालतले पनि सरकारका विरुद्धमा थप फैसला गर्नसक्ने अनुमान गरिएको छ।

पछिल्लो समयमा मालदिभ्स्मा सर्वोच्च अदालत र सरकारबीच विवाद बढ्दै गएको छ। यस विवादका कारण यहाँको राजनीतिक संकट थप गहिरिने अनुमान गरिएको प्राप्त समाचारमा जनाइएको छ। रासस-एएफपी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ