arrow

समानुपातिकमा पुरुषलाई राहत

logo
प्रकाशित २०७४ माघ २७ शनिबार
proportional_nepal_110_map2.png

काठमाडौं। राष्ट्रियसभा निर्वाचनमा धेरै महिला निर्वाचित भएपछि प्रतिनिधिसभाको समानुपातिकतर्फ उनीहरूको संख्या केही घटेको छ।एमालेबाट प्रतिनिधिसभामा प्रत्यक्षतर्फ दुई र राष्ट्रियसभामा ११ गरी १३ महिला निर्वाचित भएका छन्। कांग्रेसबाट प्रतिनिधिसभामा प्रत्यक्षतर्फ महिला निर्वाचित नभए पनि राष्ट्रियसभामा ६ जना छानिएका छन्। माओवादीबाट भने प्रतिनिधिसभा र राष्ट्रियसभामा तीन–तीन महिला निर्वाचित भएका छन्।

नेपालको संविधानको धारा ८४ को उपधारा (८) मा संघीय संसद्मा प्रतिनिधित्व गर्ने प्रत्येक दलबाट निर्वाचित कुल सदस्य संख्याको कम्तीमा एक तिहाइ महिला हुनुपर्ने व्यवस्था छ । सोही व्यवस्थाअनुसार एमालेले प्रतिनिधिसभाको समानुपातिकतर्फ ४१ सिटमध्ये ३७ जना महिला पठाउनुपर्ने छ भने चार जना मात्रै पुरुष पर्नेछन् । जसमा खस आर्यबाट मुकुन्द न्यौपाने, पिछडिएको क्षेत्रबाट मोहन बानियाँ, जनजातितर्फ विजय सुब्बा र मधेसीतर्फ मोतीलाल दुगड पर्ने निश्चित भएको छ ।

१७ सिट पाएको माओवादीले जम्मा एउटा सिटमा एक जना मात्रै पुरुष छनोट गर्नेछ । माओवादीले पिछडिएको क्षेत्रबाट प्रेमबहादुर सिंहलाई छनोट गर्ने भएको छ। पिछडिएको क्षेत्रबाट चार दशमलव तीन प्रतिशत कोटा पुर्‍याउनुपर्ने कारण पनि माओावादीबाट शाहीले अवसर पाएका हुन् ।

कांग्रेसले पाएको ४० सिटमा भने पुरुष प्रतिनिधित्व आधा हुनेछ । पुरुषको सिटमा क–कसलाई राख्ने टुंगो छिट्टै कार्यसमिति बैठक बसेर निर्णय गर्ने नेता मिनेन्द्र रिजालले बताए । राजपाले ६ जना र संघीय फोरमले ५ जना महिलाको प्रतिनिधित्व गराउनुपर्नेछ ।

प्रतिनिधिसभा समानुपातिकतर्फ बन्द सूची पेस गरेका ४९ राजनीतिक दलमध्ये पाँचवटाले मात्रै सिट प्राप्त गरेका हुन् । एमाले ४१, कांग्रेस ४०, माओवादी १७, राजपा ६ र संघीय फोरमले ६ सिट प्राप्त गरेका हुन् । ४४ वटा दलले तीन प्रतिशतभन्दा कम मत प्राप्त गरेका छन्। (अन्नपूर्णपोस्ट)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ