arrow

सहकारीको धन्दाः जग्गाधनीलार्इ पत्तैछैन, जग्गा लीलामीबाट विक्री 

logo
प्रकाशित २०७४ माघ २७ शनिबार
ujyaloo_sahakari.JPG

काठमाडौं । भक्तपुरमा रहेको एक सहकारीले जग्गाधनीलाई पत्तै नदिई जग्गा धितो राखी, लीलामी लगायत सबै प्रक्रिया पूरा गरी आफ्नै नाममा जग्गा पास गरेको भेटिएको छ । भक्तपुरको गठ्ठाघरमा रहेको झण्डै ४ रोपनी जग्गा जग्गाधनीलाई थाहै नदिई लीलामीमा लगेर विक्री गरेको पीडित पक्षको आरोप छ । 

भक्तपुर ताथलीमा जग्गाधनीहरु माधवप्रसाद घिमिरे, इन्द्रबहादुर थापा र तारा शिवाकोटीको नाममा रहेको भिन्न भिन्न ५ वटा कित्ताको जग्गा ३ मध्ये एक जना धनी माधव प्रसाद घिमिरेसँगको मिलेमतोमा भक्तपुरमा रहेको उज्यालो बचत तथा ऋण सहकारी संस्थाले लीलामीमा पारेपछि अहिले जग्गा धनीमध्येकी एक शिवाकोटी कानूनी उपचारको लागि अदालतमा पुगेकी छिन् । 

उनले आफ्नो जग्गा धितो राखेको, पैसा नतिरेको जस्ता कुनैपनि विषयमा आफूलाई जानकारी नभएको भन्दै उज्यालो सहकारी र राष्ट्रिय सहकारी बैंकका प्रवन्धकहरु समेतको मिलेमतोमा आफ्नो जग्गा हडप्ने काम भएको गुनासो गरेकी छिन् । उनले सो जग्गा धितो राखेर तीन जग्गाधनी मध्ये एक घिमिरे समेतको सहमतिमा पैसा निकालेर आफ्नो नामको जग्गा लीलामीमा राखिसकेपछि पनि आफूलार्इ सो बारे जानकारी नदिएपछि सूचना आयोगमा मुद्दा हालेपछि मात्रै राष्ट्रिय सहकारी बैंक र उज्यालो सहकारीले विवरण दिएको गुनासो गरिन्। 

शिवाकोटीको सो जग्गाको विवरण माग गर्नको लागि राष्ट्रिय सूचना आयोगले समेत पटक पटक उज्यालो सहकारीको नाममा पत्र पठाएको थियो । पटकपटकको आयोगको ताकेता पछि सहकारीले गत माघ १७ गते आयोगलाई चिठी लेखी तारा शिवाकोटीको भनिएको सो जग्गासँग सरोकार राख्ने सबै प्रकारको कागजातहरु काठमाडौं जिल्ला अदालतमा पेश गरिएको भन्दै सबै कागजातहरु अदालतबाटै माग गर्न सकिने व्यहोरासहितको पत्र पठाएको थियो । 

सहकारीका अध्यक्ष वचन देउजाले हाम्राकुरासँगको कुराकानीका क्रममा आफूहरुले कसैको अनुमती विना त्यस्तो काम नभएको भन्दै न्याय निसाफ दिने काम अदालतको भएकोले अदालतले नै न्याय दिने बताएका थिए । 

के भएको थियो घटना ?
भक्तपुरको सो ठाउँमा कित्ता नं २४१, २४९, ३८९, ३९०, ४९९ गरी ५ वटा कित्ताको जग्गा घिमिरे थापा र शिवाकोटीको नाममा रहेको थियो । सो मध्ये थापा र शिवाकोटीलाई जानकारी नै नदिइ घिमिरेसँगको मिलेमतोमा उज्यालो सहकारीले सो जग्गा धितो राखी ७१ लाख रुपैयाँ ऋण लिएको सहकारी बैंकले जनाएको छ । उज्यालो सहकारीले दिएको जानकारी अनुसार २०६६ साल चैत ४ गते दृष्टिबन्धक राखी ऋण लिईएको थियो । सो दृष्टिबन्धकबारे आफूलाई केही पनि जानकारी नभएको र एकैपटक लीलामी हुने बेलामा मात्रै थाहा पाएको शिवाकोटीले बताईन् । 

यसरी जग्गा धितो राखेर लिएको ऋण नतिरेपछि सहकारी बैंकले पनि सो जग्गाको लीलामी प्रक्रिया अघि बढाएको थियो । सो लीलामी सदर गर्नुभन्दा २ दिन अघि मात्रै शिवाकोटीले सो जग्गा कसरी र कसको कारणले बन्धक बनाईएको हो जानकारी पाउँ भनी दिएको निवेदन उपर केही पनि सुनुवाई नगरी लीलामी सदर गराईएको थियो । सो जग्गा अहिले अधिकांश उज्यालो सहकारीको नाममा नै गएको राष्ट्रिय सहकारी बैंकका प्रवन्धक केवी उप्रेतीले जानकारी दिए । उनले यो प्रक्रियामा शिवाकोटी पीडित भएको भन्दै यस बारे सरोकारवाला निकायलाई राखेर आफूले छलफल गराउने तयारी गरिरहेको भएपनि ऋणिले ऋण नतिरेपछि लीलाम गरिएको धितोबारे भने आफूले केही पनि गर्न नसक्ने प्रतिक्रिया दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ