arrow

प्रचण्डले भने, माओवादीले मात्रै समाजवादी क्रान्ति सम्भव भएन

शक्तिशाली कम्युनिष्ट केन्द्र निर्माण गर्न पार्टी एकता

logo
प्रकाशित २०७४ फागुन १ मंगलबार
pmprachandadahal.jpeg

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शक्तिशाली कम्युनिष्ट केन्द्र निर्माण गर्ने लक्ष्यका साथ नेकपा एमालेसँग आफ्नो पार्टीले एकता प्रक्रिया अगाडि बढाएको बताएका छन् ।

तत्कालीन माओवादीले ‘जनयुद्ध’ शुरु गरेको दिनको स्मरणमा सोमवार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित २३औँ जनयुद्ध दिवस’ समारोहलाई सम्बोधन गर्दै उनले बृहद् लक्ष्य पूरा गर्नाका लागि एकता प्रक्रिया अगाडि बढाइएको बताए ।

माओवादी केन्द्रले मात्रै समाजवादी क्रान्ति सम्भव हुन नसककेको आसय जनाउदै उनले भने, “सामान्य शक्तिको भरमा समाजवादी क्रान्ति सम्पन्न हुन नसक्ने भएकाले ठूलो शक्ति जरुरी परेको छ । त्यसैका लागि हामी (एमाले र माओवादी केन्द्र) शक्तिशाली पार्टी निर्माणमा लागेका छौँ ।”

संविधानमा समाजवाद लेखेर र समाजवादको नारा लगाएरमात्रै समाजवादी क्रान्ति सम्पन्न हुन नसक्ने टिप्पणी गर्दै उनले सबै प्रगतिशील, देशभक्त र वामपन्थी शक्तिबीचमा एकता र सहकार्य जरुरी रहेको बताए ।

देश र जनतालाई केन्द्रमा राखेर राजनीतिक नेतृत्वले समय समयमा जोखिम लिनै पर्छ भन्दै अध्यक्ष दाहालले समाजवादी क्रान्तिका लागिसमेत आफू र आफ्नो पार्टीले पुनः जोखिम उठाएको स्पष्ट पारे। लहड र सनकको भरमा क्रान्ति हुन नसक्ने उल्लेख गर्दै उनले जनताको चाहना र राष्ट्रिय आवश्यकताको ख्याल गर्नसमेत आग्रह गरे ।

आज भोलि नै एमालेसँगको पार्टी एकताको टुंगो लाग्ने स्पष्ट पार्दै आर्थिक समृद्धि र जनताको आर्थिकस्तर उकास्न पनि मिलेर जाने जनमत आफूहरुलाई प्राप्त भएको छ भन्दै अध्यक्ष दाहालले नेपालको राजनीतिक तथा सामाजिक परिवर्तनमा जनयुद्धको महत्वपूर्ण भूमिका रहेको कुरा एमाले अध्यक्ष केपी शर्मा ओली र एमाले नेतृत्वले पनि स्वीकार गरेको दाबी गरे ।

समाजवादी अभियानलाई सार्थक निष्कर्षमा पुर्‍याउन अझै ठूलो दायरा चाहिएको स्पष्ट पार्दै उनले आफू र आफ्नो पार्टीले शहीद, बेपत्ता र घाइते योद्धाको सपनाविरुद्ध जाने प्रयाससमेत नगर्ने बताए ।

शक्तिशाली कम्युनिष्ट केन्द्र बनाएर झण्डै तीन करोड नेपालीलाई एकताबद्ध बनाएर लैजाने सोचमा आफूहरु रहेको चर्चा गर्दै अध्यक्ष दाहालले    वामपन्थी शक्ति एकताबद्ध नहुन् भनेर चलखेल गर्ने शक्ति परास्त भएर जाने र जनताको सामु उनीहरुको केही नचल्ने बताए ।

कार्यक्रममा माओवादी केन्द्रको सहायक संगठन वाइसिएलले विभिन्न झाँकी प्रस्तुत गरेको थियो ।
जनयुद्ध दिवसका अवसरमा माओवादी केन्द्रका नेता तथा कार्यकर्ताले टीका आदानप्रदान गर्दै शुभकामना आदानप्रदानसमेत गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ