arrow

शान्तिसेना दोब्बर पार्ने योजनामा नेपाली सेना 

logo
प्रकाशित २०७४ फागुन ३ बिहिबार
nepal-army-1.jpeg

काठमाडौँ । संयुक्त राष्ट्रसंघले आवश्यक ठाने शान्तिसेनामा पठाइने फौज दोब्बर पार्न सकिने नेपाली सेनाले जनाएको छ । अहिले ४ हजार ८ सय ३४ शान्तिसेना खटाइरहेको नेपाली सेनाले उक्त संख्या बढाएर १० हजार पुर्याउन सकिने धारणा औपचारिक रूपमै सार्वजनिक गरेको हो । 

विश्वका एक दर्जन मुलुकमा विभिन्न २३ मिसनअन्तर्गत नेपाली सैनिक खटिएका छन् । सन् १९५८ देखि हालसम्म ४२ मुलुकका मिसनमा १ लाख १९ हजार २ सय ७ नेपाली सैनिकले काम गरिसकेका छन् । यस क्रममा ६३ जनाले ज्यान गुमाएका छन् भने त्यति नै संख्यामा अंगभंग भएका छन् ।

‘नेपाली सेनामा रहेको कुल संख्याको दस प्रतिशत विश्व शान्ति मिसनमा पठाउन सकिन्छ,’ प्रधानसेनापति राजेन्द्र क्षत्रीले सेना दिवस २०७४ मा दिएको वक्तव्यमा उल्लेख छ, ‘नेपाल सरकारबाट भएको संख्याको १० प्रतिशतसम्म शान्तिसेनामा पठाउन सकिने स्वीकृति प्राप्त भएपछि सेनाले यो प्रक्रिया अघि बढाएको हो ।’ 

यसैका आधारमा सेनाले कूटनीतिक ‘च्यानल’ र सैन्य संयन्त्रमार्फत राष्ट्रसंघलाई औपचारिक जानकारी दिएको हो । अहिले सुडानमा ३ सय ७६, दक्षिण सुडानमा १ हजार ७ सय ५०, कंगोमा ८ सय ९६, लाइबेरियामा एक, मोरक्कोमा सात, इजरायलमा तीन, लेबनानमा ८ सय ७२, मालीमा १ सय ५५, सिरियामा ३ सय ३४, सेन्ट्रल अफ्रिका गणतन्त्रमा १ सय १४, इराकमा ७६ र लिबियामा २ सय ३० सैनिक शान्ति स्थापनार्थ खटिइरहेको सेनाले जानकारी दिएको छ । तीमध्ये १ सय ३० जना महिला छन् ।

शान्तिसेनाको संख्या बढाउँदै लाने जानकारीसाथै सेनाले कमान्डर र अधिकृत पदसमेत माग गरेको छ । अहिले कमान्डर पदमा नेपाली सेनाको संख्या उल्लेख्य छैन । नेतृत्व तहमा नेपाली सेनाले एकरदुई पदमात्र पाउने गरेको छ । सल्लाहकार पद पनि लामो समयदेखि पाउन सकेको छैन । 

त्यस्ता पद सुरक्षा परिषदका स्थायी सदस्य मुलुक र केही क्षेत्रीय शक्ति मुलुकहरूले लिने गर्दा नेपालजस्तो मुलुक पछि परेको सैनिक अधिकारीहरूले बताए । 

राजनीतिक नेतृत्व तहबाटै ‘कूटनीतिक लबिइङ’ हुन सके त्यस्ता पद पाउन सकिने उनीहरूको दाबी छ । प्रधानमन्त्री शेरबहादुर देउवाले असोजमा राष्ट्रसंघको महासभामा संवोधन गर्दा पनि सुरक्षा परिषद् सदस्य मुलुकको ध्यानाकर्षण गराएका थिए । दोब्बर सेना पठाउन सकिने भएपछि उच्च पदमा पनि त्यसैअनुसारको अवस्था आउने विश्वास सैनिक अधिकृतले व्यक्त गरेका छन् ।

‘शान्ति स्थापना कार्यमा नेपाली सेनाको संख्या वृद्धि हुँदै जानेछ । यसमा शंका छैन । कुल दरबन्दीको १० प्रतिशतसम्म पठाउने हाम्रो तयारी छ । त्यहीअनुरूप माग पनि हुनेमा सेना विश्वस्त छ,’ सेनाका प्रवक्ता एवं सहायक रथी गोकुल भण्डारीले भने । 

यसअलावा नेपाली सेना पछिल्लो पटक सैन्य कूटनीतिमा पनि अग्रसर भएको उनले बताए । सरकारले तोकेको दायरामा बसी मित्रराष्ट्रका सेनासँगको सम्बन्ध अझ विस्तार गर्न सेना सक्रिय रहेको प्रवक्ता भण्डारीको भनाइ छ । (कान्तिपुर दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ