arrow

यस्तो रहेछ वाम गठबन्धन र मधेसी गठबन्धनको माया पिरती, काँग्रेस जिल खायाे

logo
राजनीतिक व्यूराे,
प्रकाशित २०७४ फागुन १० बिहिबार
gathabandhan1.JPG

काठमाडौं । केपी शर्मा ओलीको सरकार बनेको ८ दिन वित्यो । ओलीले सुरुमा गठन गरेको तीन सदस्यीय मन्त्रिपरिषदलाई विस्तार गर्न सकेनन् । बाहिर हेर्दा भद्रगोल जस्तो देखिएको छ तर, भित्र भने खिचडी अरु नै पाक्दैछ ।

अब मेधस केन्द्रीत दुई दल संघीय समाजवादी फोरम र राजपा पनि सरकारमा आउन तम्सिएका छन् । उनीहरुले खुट्टा उचालेको मात्रै होइन, पक्का पक्की जस्तै भइसकेको छ । कुरा अहिले फोरमसँग मात्रै भइरहेको भनिन्छ, तर लहरो लामै छ ।

बाहिर फोरम र राजपा सरकारमा जाने शर्त संविधान संशोधन बनेको छ । तर, भित्रि कुरा अर्कै छ । राजपा अध्यक्ष मण्डलका सदस्य शरतसिंह भण्डारीको कुरा मान्ने हो भने पनि राजपा पनि सरकारमा जाने लगभग पक्का नै भइसक्यो ।

उनले नै सुनाएका छन्, कि,–‘२ नम्बर प्रदेशमा विहिबार मात्रै मुख्यमन्त्रीले विश्वासको मत लिएका छन् । जहाँ वाम गठबन्धनमा रहेका एमाले–माओवादीले विश्वासको मत दिएका छन् ।’ यही कुरालाई आधार मान्ने हो भने पनि रिस्ता पक्का भईसक्यो । वाम गठबन्धनले अहिले आएर मात्रै मितेरी गाँसेको भने होइन, लहरो लामो छ । अहिले फोरम र राजपाको घाँटी जोडिएको कुरा कतै लुकेको छैन ।

चुनावबाटै अघोषित रुपमा वाम गठबन्धनले मधेसी नेता सबैलाई लगानी गरेको  कुराको पनि अब पर्दाफास हुने नै भयो । त्यो समयमा गरेको लगानीको फल खाने बेला हो, यो । दुई तिहाईको मजा त चाख्नै पर्‍यो नि ! मधेस मामिलाका एक जना जानकार भन्छन्, ‘लगन गाँठो पहिलेदेखि पक्का थियो । फोरम–राजपालाई अब बाजा बजाएर मात्रै भित्र्याउन बाँकी हो । मग्नी गरेको कुरा छिमेकीलाई कहाँ थाहा हुन्छ र ? जुन दिन बाजा बजाएर भित्र्याइन्छ त्यही दिन थाहा हुने हो ।’

राजपा अध्यक्ष मण्डलका सदस्य भण्डारीले कुरा लुकाउन खोजे । तर, छुपाउन सकेनन् ।  सुरुमा त उनले ‘संविधान संशोधन हाम्रो मूल एजेण्डा हो’ भने । पछि आफुलाई रोक्न सकेनन्, ‘हामीले संविधान संशोधन सुनिश्ति हुने बाटो हेरेको हो । र, हेर्नै पर्छ । हामीले पाएको जनादेश पनि त्यही हो । अहिले पनि संसदमा अंक गणितले काम गर्ने हो । संविधान संशोधन जनादेश हो ।’ संविधान संशोधन हुन्छ भन्ने के ग्यारेन्टी छ ? जवाफमा उनले भने, ‘त्यो सुनिश्चितता त अब जनादेश भएकैहरुसँग हुने हो नि होइन ! संशोधन गर्ने शक्ति कतातिर छ । त्यता मेहिनत गर्नु पर्छ ।’ काँग्रेससँग आफुहरु सुरक्षित नभएको उनले बताएका छन् ।

उनले भने, ‘वाम गठबन्धन बन्यो । चुनावमा त्यसको नतिजा पनि आयो । काँग्रेसले लोकतान्त्रिक गठबन्धनको नारा मात्रै लगायो । गठबन्धन बनाउन सकेन । हामी काँग्रेससँग प्रतिस्पर्धी बनेरै चुनाव लडेको हो । अब तपाई आफै भन्नुस् हामी कतातिर जानु ठिक हुन्छ ?’ उनकै भनाईबाट के बुझिन्छ भने, वाम गठबन्धनकै आशिर्वादले मधेस केन्द्रित दल ३ प्रतिशतको डेन्जर जोनबाट बचेका हुन् ।

राष्ट्रिय दलको अस्तित्वमा आउनुको पछाडि वाम गठबन्धनकै आशिर्वाद लागेकाले पनि उनीहरुले अव वाम गठबन्धनको प्रस्ताव अस्वीकार गर्न सक्दैनन् । मात्र कुरा रहयो मन्त्रालय बाँडफाँडको ।

फोरम तम्तयार
शरतसिंह भण्डारीका अनुसार फोरम सरकारमा जान तैयार भयो भने राजपा बाहिर बस्नै सक्दैन । कारण, अहिले फोरम र राजपा गठबन्धनमै छन् । त्यो टुक्रयाउँदा २ नम्बर प्रदेशको सरकार धरापमा पर्छ भने, जनादेशको अवमूल्यन हुन्छ । त्यसैले फोरमले मात्रै सरकारमा जान टाउको हल्लाए पुग्छ ।

अर्कोतिर, फोरमले सरकारमा जाने पक्का पक्की जस्तै छ । संघीय समाजजादी फोरमका सह–अध्यक्ष राजेन्द्र श्रेष्ठले जम्मा ४८ सेकेन्ड कुरा गरे । उनले त्यो ४८ सेकेन्डमा ‘वार्ता भइरहेको छ । कार्यदल स्तरीय वार्ता भनेपछि औपचारिक नै हो । धेरै कुरा अहिले नभनाैँ ’, मात्रै भने । त्यति भनेर उनले फोन राखिहाले । फोरमकै अर्को नेताले लगातार वार्ता भइरहेको छ, मात्रै भने । यसको अर्थ फोरम सरकारमा जानेबारे धेरै सोच्नै परेन ।

राजपाभित्र जलन कायमै

शरतसिंह भण्डारीले फोरम सरकारमा जाने भएपछि आफुहरु बाहिर बस्न नसक्ने बताउँदा राजपा भित्रै फोरमसँग मात्रै कुरा गरेर हुन्न, हामीसँग नि कुरा हुनुपर्छ भन्ने आवाज पनि उठिरहेको छ । राजपाभित्र एमाले–माओवादीले फोरमसँग मात्रै कुरा गरेकोमा जलन भइरहेको छ । राजपाका एक नेताले भने, ‘फोरमसँग त लगातार वार्ता भइरहेको छ । हामीसँग भएको छैन । फोरमसँग कुरा गरेर हामी सरकारमा जाने अवस्था रहँदैन ।’ त्यसो हो भने, हामी मधेसी गठबन्धनबाट बाहिरिन्छौँ, हामीसँग कुरा हुनै पर्छ ।

के हो वाम गठबन्धन र मेधसी गठबन्धनको माया पिरती ?
मधेस मामिलाका जानकार राजेश अहिराजले फोरम र राजपा सरकारमा जाने कुरा सफाट छ भनिदिए । सरकारमा जान्छन् भन्ने आधार के त ? जवाफमा उनले भनेका छन्, ‘प्रदेश २ मा एमालेले जुन मत पायो । त्यो पराजय नै थियो । तर, अब पहाडमात्रै हातमा लिएर सत्तामा बस्दा राम्रो सन्देश जाँदैन । फोरम–राजपालाई साथमा लिएन भने मधेसमा सरकारले जति सुकै राम्रो गर्न खोजेपनि राम्रो सन्देश जाँदैन । २ नम्बर प्रदेशमा पनि पहुँच राख्नु अहिलेको सरकारको मुख्य प्राथमिकता हो । भविष्यको कुरा पनि जोडिएको छ । हामी सँगसँगै छौँ भन्ने सन्देश पनि दिनु पर्नेछ । यी धेरै आधारहरु हुन् ।’

एमालेसँग मधेसकेन्द्रीत दलको विश्वासको दुरी बढेको छ, उनले भने, ‘त्यो दुरी कम गर्ने मात्रै कुरा होइन । प्रदेश २ मा भोलि आफ्नो उपस्थिति बलियो बनाउने रणनीति हो । उनीहरुलाई साथमा लिएर उनीहरुकै बुँई चढेर भोलिको राजनीतिक भविष्य पक्का गर्ने मूल उद्देश्य हो ।’ यो कुरा कहीँ लुकेको छैन ।

चुनावमा मधेसी नेता हार्ने अवस्थामा थिए, उनले अगाडि भने, ‘लोकतान्त्रिक गठबन्धन बन्न नसकेको कुरालाई टेकेर वाम गठबन्धनले चलाखिपूर्ण ढंगले मधेस केन्द्रीत दलका शीर्ष नेता सबै जित्ने वातावरण सिर्जना गरिदियो । यो भन्दा गहिरो सम्बन्ध अरु के हुन सक्छ । नभए मेधस केन्द्रीत दल शून्यको अवस्थामा पुगिसकेका थिए ।’ उनले अघोषित रुपमा वाम गठबन्धनले गरेकै सहयोगले  मधेसी नेताहरु जितेको बताए ।

उनले नामै लिएर भने, ‘राजकिशोर यादव, राजेन्द्र महतोले खुलेरै एमालेको मतले जितेको भनिसकेका छन् ।’ एमालेकै मतले जित्यो भन्ने आधार ? जवाफमा उनले भने, ‘महन्थ ठाकुर उठेको ठाउँमा कमजोर व्यक्ति खडा गरियो । उपेन्द्र यादवलाई सघाएको कुरा छुपेकै छैन । राजेन्द्र महतोलाई जिताएको कुरा पनि अब लुकेन ।’ साँच्चै भन्ने हो भने महन्थ ठाकुरबाहेक कसैको जित सुरक्षित थिएन । तर, वाम गठबन्धनको लगानीले काम गरिदियो ।

किन गर्नुपर्‍यो यो सबै ?
संविधान संशोधनपछि पनि चलखेल हुनसक्छ भन्ने कुरालाई ध्यान दिइयो । एमाले–माओवादीको एकिकरण नभएको खण्डमा पनि सरकार रहिरहने कुरालाई मध्यनजर गरियो । मधेस केन्द्रीत दल बाहिर बसे अर्को शक्तिले खेल्ने प्रसस्त ठाउँ रहन्छ, भन्ने डर भयो ।

लुछाचुँडी हुँदैन ?
एमाले–माओवादीको एकता हुनेवित्तिकै आन्तरिक प्रतिस्पर्धा बढेर जान्छ । लुछाचुँडी नहुने कुरै छैन । नीतिगत भन्दापनि उन्नतितिर लाग्ने हाम्रो परिपाटी छ, त्यसको नतिजा त्यति राम्रो हुँदैन । प्रश्चिमी क्षेत्रकै कुरा गर्ने हो भने पनि, भोलि एक ठाउँमा आउँदा, भीम रावल, विष्णु पौडेल को अगाडि भन्ने होला । त्यही माथि हृदयेश त्रिपाठीको ठाउँ के हुने भन्ने होला । तर, प्रधानमन्त्री ओलीले मूख्य मन्त्रालयहरु नबाँडेकाले बार्गेनिङ मिल्ने सम्भावना भने कायमै छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ