arrow

यसपटक कति छन् एसईई दिने ?

logo
प्रकाशित २०७४ फागुन १६ बुधबार
exam-board.jpg

काठमाडौँ । परीक्षा नियन्त्रण कार्यालयले चैत दोस्रो सातादेखि लिने माध्यमिक शिक्षा परीक्षा एसईई मा नयाँ पाठ्यक्रम पढेका साढे ४ लाख विद्यार्थी सहभागी हुने भएका छन् ।

गतवर्षदेखि लागू भएको नयाँ पाठ्यक्रमका आधारमा कार्यालयले चैत ८ देखि परीक्षा लिन लागेको हो । २०५७ मा सुरु भएको कोर्षको परीक्षा गतवर्षसम्म सञ्चालन गरिएको थियो । परीक्षामा नियमिततर्फ ४ लाख ५२ हजार विद्यार्थी सहभागी हुँदैछन् । कक्षा १० को एसईईको यो परीक्षा संरचना र पूर्वाधार विकास भएमा अर्को वर्षदेखि प्रदेशले लिन सक्छ ।

कार्यालयले प्रदेश ६ र ७ का लागि आवश्यक प्रश्नपत्रसमेत ढुवानी सुरु गरिसकेको छ । यसपालि अनिवार्य विषयको गणितबाहेक सबै विषयमा २५ नम्बरको प्रयोगात्मक व्यवस्था गरिएको छ ।

कार्यालयले ७५ पूर्णाङको २ घण्टा १५ मिनेटको मात्रै परीक्षा लिँदै छ । एक्जाम्टेडसहित ४ लाख ८५ हजार ५ सय ६६ विद्यार्थीका लागि १ हजार ९ सय ५६ परीक्षा केन्द्र कायम गरिएको छ । परीक्षा सञ्चालन गर्ने अवधिसम्म जिल्ला शिक्षा कार्यालय रहे पनि चैत २८ देखि खारेज हुने भएपछि उत्तरपुस्तिका प्रहरी कार्यालयमा थन्कने छ ।

त्यसलाई कसले परीक्षण गराउने र परीक्षण भइसकेको उत्तरपुस्तिका र नम्बर राष्ट्रिय परीक्षा बोर्डसम्म कसले पठाउने भन्ने अन्योल कायमै छ ।

१ कक्षामा भर्नामध्ये ३७ प्रतिशतले मात्रै एसईई दिँदै
शिक्षा विभागका अनुसार कक्षा १ मा भर्ना भएकामध्ये ३७ प्रतिशत विद्यार्थी मात्रै १० कक्षाको एसईई परीक्षामा सहभागी हुँदैछन् । ०६५ मा कक्षा १ मा भर्ना भएका विद्यार्थी यसपालि कक्षा १० को परीक्षामा सहभागी हुँदैछन् ।

विभागका अनुसार ०६५ मा कक्षा १ मा १४ लाख ८५ हजार ३ सय ९५ जना भर्ना भएका थिए । अहिले तिनै विद्यार्थीमध्ये ४ लाख ५२ हजार ७ सय ८१ विद्यार्थी अर्थात् ३०.४८ प्रतिशत विद्यार्थीले मात्रै परीक्षा दिँदैछन् । भर्ना भएका विद्यार्थीमध्ये १० लाख ३२ हजार ६ सय १४ जना ९ वर्षमा बीचैमा गायब भएका छन् ।

कतिपय जिल्लामा भर्ना भएका एक तिहाइ विद्यार्थी पनि कक्षा १० मा पुग्न सकेका छैनन् । विद्यालय भर्ना भएका विद्यार्थीलाई टिकाउन सरकारले विभिन्न योजना अघि सारे पनि सफल हुन नसकेको यो तथ्यले देखाएको छ । (कान्तिपुर दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ