arrow

रातारात नगरपालिकाको केन्द्र सारिएपछि

logo
प्रकाशित २०७४ फागुन १७ बिहिबार
dolpa-district.png

दुनै । डोल्पा जिल्लाको ठूलीभेरी नगरपालिकाको केन्द्र सारिएको भन्दै नगरपालिकाको कार्यालयमा बिहीबार विहान ७ बजे तालाबन्दी गरिएको छ । 

पहिलेदेखि नै नगरपालिकाको केन्द्र दुनैमा कायम गरिए पनि नगर प्रमुख र जनप्रतिनिधिले झुक्याएर रातारात केन्द्र जुफालमा सारेको विरोधमा दुनैका चारवटा वडाका जनताले जिल्ला प्रशासनमा निवेदन पेश गरेको जिल्ला समन्वय सिमितिका उपसंयोजक नरबहादुर बुढाले जानकारी दिए ।

जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालयलाई दिएको निवेदनमा भनिएको छ, ‘नगरसभामा नभएको निर्णयमा कीर्ते गरेर नगरपालिकाको केन्द्र सारिएकाले तत्काल जनताको माग सम्बोधन गरिनुपर्ने’ उल्लेख गरिएको छ ।

जनप्रतिनिधिसहित करिब ६० जनाको हस्ताक्षरमा जिल्ला प्रशासन र प्रहरी कार्यालयमा निवेदन पेश गरिएको २ नं का वडाध्यक्ष देवी रोकायाले बताइन् । 

नगरपालिकाको पहिलो नगरसभाले निर्णय गरेअनुसार नगरपालिकाको केन्द्र सरेको नगरप्रमुख गणेशबहादुर शाहीले जानकारी दिए ।

उनका अनुसार जनतालाई जुफालबाट नै सेवा प्रवाह सहज हुने भएकाले पनि नगरसभाले निर्णय पारित गरेको हो । 

नगरप्रमुखले जनप्रतिनिधिलाई झुक्याएर केन्द्र सारेकाले आज दुनै बजार बन्द गरिने र दुनैबाट आन्तरिक रुपमा चल्ने गाडी पनि बन्द गरिने जिल्ला समन्वय समितिका संयोजक शेरबहादुर बुढाले जानकारी दिए ।

उनका अनुसार फागुन १८ गते नगरपालिकाका सबै जनताको भेला गराई आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने बताए ।

जनतालाई झुक्याएर रातारात नगरपालिकाको केन्द्र सारेकाले कुनै पनि हालतमा यो निर्णय मान्य नहुने जनताको भनाइ रहेको छ । 

बुधबार राजपत्रमा ३९ वटा स्थानीय तहको केन्द्र परिवर्तन भएर राजपत्रमा आएको थाहा पाएपछि ठूलीभेरी नगरपालिका–१ देखि ४ वडा सम्मका जनता आक्रोशित भएका हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ