arrow

सुनकोशी गाउँपालिकाको नाम फेरिएर बन्यो लिम्चुङबुङ

logo
प्रकाशित २०७४ फागुन १७ बिहिबार
udayapur.png

गाईघाट । उदयपुर जिल्लाको सुनकोशी गाउँपालिकाको नाम ‘लिम्चुङबुङ’ निर्धारण भएको छ । 

सुनकोशी गाउँपालिकाका जनप्रतिनिधिले आफ्नो गाउँपालिकाको नाम लिम्चुङबुङ निर्धारण होस् भन्दै पाँच महिनाअघि मात्र संघीय मामिला मन्त्रालयमा निवेदन दिएअनुसार हालै नाम परिवर्तनको स्वीकृति भएको सो गाउँपालिकाका अध्यक्ष मेजर कुमार राईले बताए । 

नेपालका धेरै स्थानमा सुनकोशी गाउँपालिका नाम भएका कारण पनि गाउँपालिकाको छुट्टै पहिचान सहितको नाम व्यवस्थापन गरिएको अध्यक्ष राईले बताए ।

सो गाउँपालिकाकी उपाध्यक्ष रमिला राईका अनुसार लिम्चुङबुङ भनेको किराँती चामलिङ राई भाषामा सुनतारी फूलको नाम भएको कुरा बताए ।

सुनतारी फूलहरु स्थानीय क्षेत्रको बाँसबोटे, बराह, जाँते, बलाम्ता र ताम्लिछा क्षेत्रमा व्यापक पाइने एक प्रकारको लोकप्रिय वनस्पति सुनतारी फूलको क्षेत्र भएको कारण सोही फूलको पहिचानका लागि चामलिङ भाषाबाट गाउँपालिकाको नाम लिम्चुङबुङ राखिएको उपाध्यक्ष राईले बताए ।

स्थानीय राई जातिहरुको विवाहमा बाबुमाइती ढोगभेट गर्दा र छोरीचेलीले माइतीलाई ढोगभेट गर्दा उक्त फूल उपहार दिने गरेको र स्थानीय स्तरमा औषधिका लागि पनि सुनतारी फूल प्रयोग गरिने कारण लोकप्रिय भएको र यसैको नामबाट गाउँपालिकाको नाम निर्धारण भएको बलाम्ताका पूर्वगाविस अध्यक्ष वसन्तकुमार राईले बताए ।

सो गाउँपालिका–२, बराहका ४५ वर्षीय महेश बराल भन्छन्, “सुनकोशी गाउँपालिकाको परिवर्तित नाम लिम्चुङबुङ भएकोमा हामी सबै खुशी छौँ ।” 

आफूहरुको गाउँघर किराँती राई, क्षेत्री ब्राह्मणको साझा संगमस्थल भएको र यो क्षेत्रमा सबैतिर फुल्ने र पाइने सुनतारी फूलले यो क्षेत्रको छुट्टै पहिचान र परिचयसमेत दिएको हुँदा लिम्चुङबुङ नामले उदयपुर मात्र नभई नेपालमा नै आफूहरुको गाउँपालिकाको छुट्टै पहिचान गराएको पनि बरालको दाबी छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ