arrow

स्थानीय तहले औषधि नकिनेपछि 

logo
प्रकाशित २०७४ फागुन २१ सोमबार
Medicine.jpg

धनगढी । कैलालीका अधिकांश स्वास्थ्य संस्थामा औषधि अभाव भएको छ । सरकारले औषधिका लागि स्थानीय तहमा बजेट विनियोजन गरे पनि पर्याप्त मात्रामा खरिद नगर्दा अभाव भएको हो । 

स्थानीय तहमातहतका स्वास्थ्य संस्था र अस्पतालमा बिरामीको भीड लागे पनि औषधि नपाउँदा उनीहरू नजिकका निजी क्लिनिकमा धाउन बाध्य छन् ।

कैलालीको भजनी नगरपालिकाले औषधि खरिदका लागि केन्द्रीय सरकारबाट प्राप्त साढे ६ लाखमध्ये कोटेसन आह्वान गरेर ५ लाखको औषधि खरिद गर्यो । ‘नगरपालिका आफंैले औषधिका लागि बजेट नै छुट्याएको छैन,’ नगरपालिकाअन्तर्गतको स्वास्थ्य शाखा संयोजक कृतसिंह बिकले भने, ‘केन्द्र सरकारबाट प्राप्त बजेटले खरिद गरिएका औषधि सकिए । बजेट व्यवस्थाका लागि नगरप्रमुखलाई आग्रह गरेका छौं ।’

नगर उपप्रमुख छाया देवकोटाले औषधि अपुग भएमा नगरपालिकाले तुरुन्तै किनेर पूर्ति गर्ने बताइन् । भजनी नगरपालिकाअन्तर्गत एकप्राथमिक स्वास्थ्य केन्द्र र ४ स्वास्थ्यचौकी छन् ।

लम्की चुहा नगरपालिकाले पनि औषधि खरिदका लागि बजेट विनियोजन गरेको छैन । केन्द्र सरकारबाट प्राप्त ११ मध्ये कोटेसनमार्फत ५ लाखको औषधि खरिद गर्‍यो । 

यहाँका स्वास्थ्यचौकीमा अत्यावश्यक औषधि अभाव हुन थालेको स्थानीयले बताएका छन् । नगर प्रमुख महादेव बजगाईंले शीर्षक टुक्रयाएर औषधि खरिदका लागि १५ लाख बजेट विनियोजन गरिने बताए । ‘अहिले केन्द्रीय सरकारबाट प्राप्त रकमले खरिद गरिएको औषधिबाटै काम चलेको छ,’ उनले भने ।

जिल्लाका केही स्थानीय तहले भने औषधिका लागि बजेट छुट्याए पनि खरिद भने गरिसकेका छैनन् । टीकापुरमा जिल्ला अस्पताल छ । यहाँको नगरपालिकाले सरकार र आफ्नै बजेटबाट एकसाथ औषधि किनेन । 

औषधि किन्न ३१ लाख ५० हजार रकम विनियोजन गरे पनि ५ लाखको सरकारी अनुदानबाट मात्रै औषधि खरिद गरेको छ । टीकापुर अस्पतालमा सरकारले निस्शुल्क दिने अति आवश्यक औषधिको समेत अभाव रहेको बिरामीको गुनासो छ ।

जिल्लाको अर्को ठूलो मालाखेती प्राथमिक स्वास्थ्य केन्द्रसहित ४ स्वास्थ्यचौकी र ३ सहरी स्वास्थ्य क्लिनिक रहेको गोदावरी नगरपालिकाले समेत आफ्नो बजेटबाट औषधि किनेको छैन । 

जानकी गाउँपालिकाले ११ लाख बजेट छुट्याए पनि औषधि खरिद नगरेको जनाएको छ । गाउँपालिकाको स्वास्थ्य शाखामा कार्यरत पदम परियारले भने, ‘अभाव हुँदै गएको छ । अब छिट्टै औषधि खरिद गर्नुपर्छ ।’

जिल्ला जनस्वास्थ्य कार्यालयको स्टोरमा कार्यरत जयराज ओझाले स्वास्थ्य विभागबाट सरकारले दिएको र स्थानीय तहबाट विनियोजन बजेटबाट औषधि खरिद गर्न बारम्बार ताकेता भइरहे पनि स्थानीय तहले अटेरी गरिरहेको बताए । (कान्तिपुर दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ