arrow

कांग्रेस संसदमा कड्किन सुरु, राधेश्यामले हल्लाए राष्ट्रियसभा

logo
प्रकाशित २०७४ फागुन २२ मंगलबार
parliament1.png

काठमाडौं । प्रमुख विपक्षी कांग्रेसले राष्ट्रिय सभाको दोस्रो बैठकबाटै सरकारी निर्णयको आलोचना सुरु गरेको छ । मंगलबार बसेको दोस्रो बैठकमा काँग्रेस सांसद राधेश्याम अधिकारीले राजस्व विभाग, राष्ट्रिय अनुसन्धान विभाग र सम्पत्ति शुद्धीकरण विभाग प्रधानमन्त्री कार्यालय मातहत ल्याउने सरकारको निर्णयप्रति आपत्ति जनाए ।

बैठकमा सांसद अधिकारीले शक्तिको अधिक केन्द्रीकरण गर्दा भ्रष्टाचारको जन्म हुने भन्दै सचेत रहन प्रधानमन्त्री केपी ओलीलाई सुझाव दिए । उनले भने, ‘सरकार सधैं शक्ति सन्तुलनको सिद्धान्त अनुसार अघि बढ्नुपर्छ ।’

उनले सरकार बहुमतको आडमा लोकतान्त्रिक शक्तिहरुलाई दबाबमा राख्ने प्रवृले अघि बढेको टिप्पणी गरे । सोमबार मात्रै काँग्रेस संसदीय दलको नेता चुनिएपछि अधिकारीको पार्टी सभापति शेरबहादुर देउवाले ओली सरकार सुरुवातदेखि नै गलत ढंगले प्रस्तुत भएकाले सय दिन पनि पर्खिने अवस्था नरहको भनेका थिए ।
उनले ओली सरकारको गतिविधि हेरेर आफुहरुले सय दिन पर्खिने गरेको परम्परा समेत तोड्नु पर्ने अवस्था आएको भन्दै उनले ‘हनीमुन’ प्रियड समेत नपर्खिने बताएका हुन् ।

बैठकमा सत्तारुढ मुख्य दल एमालेका सांसद गणेश तिमल्सिनाले राष्ट्र निर्माणको अभियानमा सहभागी हुन सबै दललाई अनुरोध गरे । उनले प्राकृतिक स्रोत–साधनको उचित परिचालन गरेर देशलाई समृद्ध बनाउन सकिने बताए ।

माओवादी केन्द्रका सांसद दीनानाथ शर्माले देशलाई समृद्ध बनाउन सबै दल एकजुट हुनुपर्ने भन्दै आफूहरु एक्काइसौं शताब्दीको लोकतान्त्रिक पद्धति अनुसार अघि बढ्न तयार रहेको सुनाए । राष्ट्रियसभा, अर्को बैठक फागुन ३० मा बस्नेगरी स्थगित भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ