arrow

महरालाई मौकैमौका !

logo
प्रकाशित २०७४ फागुन २६ शनिबार
krishna-bahadur-mahara.jpg

काठमाडौं। भूमिगत राजनीति छोडेर २०६३ मा माओवादी शान्ति प्रक्रियामा सामेल भएपछि पछिल्लो चुनाव सकिँदासम्म १० वटा सरकार बने। तीमध्ये ७ वटा सरकारमा माओवादी प्रत्यक्ष संलग्न भयो, जसको अधिकतम लाभ पाउने व्यक्ति हुन्– कृष्णबहादुर महरा। 

माओवादी संलग्न सातमध्ये पाँचवटा सरकारमा महरा मन्त्रालयफेरी–फेरी मन्त्री बने। तीनपटक उपप्रधानसहित उनी शक्तिशाली मानिने गृह, अर्थ, परराष्ट्र र सञ्चारमन्त्री बने। १० वर्ष अवधिमा अधिकतम लाभको पदमा पुग्ने माओवादी नेताको सूचीको नम्बर १ मै पर्ने महरालाई अहिले झन् आकर्षक पद प्राप्त भएको छ– पाँचवर्षे कार्यकालसहितको सभामुख।

प्रतिनिधिसभामा शनिबार हुने सभामुख पदको निर्वाचनका लागि वाम गठबन्धनका तर्फबाट महराले शुक्रबार उम्मेदवारी दर्ता गराएका छन्। प्रतिस्पर्धी नभएकाले महरा निर्विरोध भइसकेका छन्, जसलाई शनिबार प्रतिनिधिसभाले औपचारिक घोषणा गर्न मात्र बाँकी छ।

वाम गठबन्धनका तर्फबाट एमाले र माओवादीबीच कसले सभामुख लिने भन्ने बिहीबार साँझसम्म पनि रस्साकसी चलिरहेको थियो। जसै, प्रधानमन्त्री निवासमा माओवादीले सभामुख लिने अन्तिम टुंगो भयो, त्यहाँ व्यक्तिको प्रसंग उठ्नेबित्तिकै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले महरा नै आफ्नो दलबाट उठ्ने निष्कर्ष सुनाइदिए, जबकि दाहालको निष्कर्षलाई अनुमोदन गर्ने औपचारिकताका लागि मात्र शुक्रबार बिहान माओवादीका शीर्ष नेताहरूको बैठक बसेको थियो। ‘पार्टीले सर्वसम्मत निर्णय गरेको हो,’ माओवादी प्रवक्ता पम्फा भुसालले भनिन्, ‘सिनियर नेताहरू जानुपर्छ भन्ने भएकाले महराजीलाई पार्टीले सभामुखमा पठाउने निर्णय लिएको हो।’

पार्टी निर्णयमा महरा सर्वसम्मत भए पनि उनी मात्रै पटकपटक किन लाभको पदमा? भन्ने प्रश्न धेरै माओवादी नेताले अनौपचारिक रूपमा राखेका थिए। तर माओवादी पार्टी अध्यक्ष दाहालको कमान्डमा चल्छ। महरा तिनै शक्तिशाली अध्यक्षका अत्यन्त विश्वासिला पात्र हुन्, जसको बलमा उनी पटक–पटक सांसद, मन्त्रीसहित अब सभामुखको नयाँ भूमिकामा उदाएका छन्। ‘अध्यक्षसँगको निकट सम्बन्ध नै उहाँका लागि निकै लाभदायी हुँदै आएको छ,’ माओवादीका एक वरिष्ठ नेताले भने, ‘जस्तोसुकै बेलामा पनि उहाँ अध्यक्षसँगै रहनुभयो, त्यसैले पटक–पटक अवसर पाइरहनुभएको छ।’ माओवादीभित्र देव गुरुङ, गिरिराजमणि पोखरेल, लेखराज भट्ट, अग्नि सापकोटालगायत नेताहरू पनि सभामुखको आकांक्षी थिए।

तर अध्यक्ष दाहालको सर्वोत्तम रुचि महरामै थियो, त्यसैले उनको पक्षमा निर्णय भयो। कम बोल्ने, भद्र र शालीन देखिने महरा भूमिगत कालदेखि दाहालका विश्वासपात्र हुन्। २०५८ सालमा पहिलोपटक तत्कालीन सरकारसँग वार्ता गर्ने जिम्मेवारी दाहालले महरालाई नै सुम्पेका थिए। पहिलोपटक वार्ता टोलीको संयोजकका रूपमा सार्वजनिक भएदेखि नै उनी कुनै नै कुनै रूपमा राष्ट्रिय राजनीतिको केन्द्र भागमा छन्। प्रत्येक राजनीतिक गतिविधिमा माओवादीका तर्फबाट उनको प्रत्यक्ष संलग्नता छ। तीनवटा शान्ति वार्ता टोलीमध्ये कुनैमा पनि महरा छुटेनन्। त्यसपछि निरन्तर उनी राजकीय पदमा आसीन छन्।

रोल्पाका महराले भूमिगत कालमा भूगोलको भन्दा प्रवासको काममा बढी जिम्मेवारी लिए । अध्यक्ष दाहाल पनि प्रवासमै बसेर आन्दोलनको नेतृत्व गरिरहेकाले महराको सामीप्यता बढ्यो, जुन सामीप्यता उनका लागि फलिफाप नै हुँदै आएको छ।

२०१५ सालमा रोल्पाको धारापानीमा जन्मेका महराको राजनीतिक यात्रा २०३६ सालको विद्यार्थी आन्दोनलबाट सुरु भएको हो। राजनीतिमा संलग्न रहेकै बेला उनले २०३८ देखि २०४८ सम्म एक दशक शिक्षण पेसामा बिताए। शिक्षाशास्त्रमा स्नातक गरेका ‘विज्ञान र गणित विषय’ का गुरुको संसदीय राजनीति यात्रा भने २०४८ देखि सुरु भयो। तत्कालीन संयुक्त जनमोर्चाबाट रोल्पा २ मा तत्कालीन प्रतिनिधिसभामा निर्वाचित भएका उनको २०५१ सालमा मात्र माओवादीसँग साइनो जोडिएको हो। २०५२ बाट माओवादी भूमिगत भएपछि सैन्यभन्दा पार्टीभित्रको राजनीतिक फाँटमा महरा सक्रिय थिए।

विस्तृत शान्ति सम्झौतापछि २०६३ सालमा गठन भएको तत्कालीन अन्तरिम संसद्मा माओवादी पनि संलग्न भयो, जसको नेतृत्व माओवादीले महरालाई नै सुम्पियो। माओवादी संसदीय दलको नेताका रूपमा काम गर्दागर्दै उनलाई तत्कालीन गिरिजाप्रसाद कोइराला नेतृत्वको अन्तरिम संसद्मा पहिलोपटक मन्त्री बन्ने अवसर मिल्यो। त्यसपछिको पछिल्लो १० वर्ष महराले पछि फर्केर हेर्नै परेको छैन। २०४८ र २०६३ को अन्तरिम संसद्, दुइटा संविधानसभा निर्वाचन र हालको प्रतिनिधिसभा निर्वाचन गरी पाँचपटक उनी सांसद भइसकेका छन्। पहिलो संविधानसभा र हालको प्रतिनिधिसभामा उनी दाङबाट निर्वाचित भएका हुन् । २०४८ र २०७० मा भने उनी रोल्पाबाटै निर्वाचित भए।

पहिलो संविधानसभाको निर्वाचनबाट माओवादी पार्टी सबभन्दा ठूलो भयो। तर त्यसपछिको १० वर्षमा माओवादीको आकार खस्कँदै गएको छ। पार्टीभित्र फुट र जुटको शृंखला पटक–पटक चलेको छ। तर कुनै फुट र जुटका हावाले महरालाई हल्लाएको छैन। उनी पार्टीभित्र अध्यक्ष दाहालको हेडक्वार्टर सदस्यका रूपमा सधैं सक्रिय छन्। त्यस्तै सरकारमा पनि उनका लागि आकर्षक मन्त्रालयसहितको जिम्मेवारी हरेकपटक आउने गर्छ। दुईपटक सञ्चारमन्त्री भएपछि २०६७ मा झलनाथ खनाल नेतृत्वको सरकारमा पहिलोपटक उनी गृह मन्त्रालयको जिम्मेवारीसहित उपप्रधानमन्त्री बने। २०७३ मा पुष्पकमल दाहाल नेतृत्वको सरकारमा उपप्रधानसहित अर्थ र २०७४ मा शेरबहादुर देउवा नेतृत्वमा उपप्रधानसहित परराष्ट्र मन्त्रालयको जिम्मेवारी महराले पाए।

अन्तर्मुखी स्वभावका महरा राजनीतिक अन्तरकुन्तरमा हुने खेलका एक खेलाडी पनि हुन्। उनलाई निकटबाट चिन्नेहरूका अनुसार विगतका यी गणित शिक्षक राजनीतिक जोडघटाउ मिलाउन पनि काबिल छन्। त्यसैले सत्ता समीकरण फेरबदल हुने पछिल्ला १० वर्षका विभिन्न घटनाक्रममा महराको दौडधुप अग्रपंक्तिमै देखिथ्यो। (कान्तिपुर दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ