arrow

विप्लव समूह संविधानको दायराभित्र आएर हिँड्नुको विकल्प छैन् : मुख्यमन्त्री राई

‘नियुतपूर्वक मिडियामाथि नियन्त्रण र अंकुश लगाउनु गलत हो’

logo
प्रकाशित २०७४ फागुन २६ शनिबार
cm_rai.jpg

काठमाडौं। प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहलाई संविधानको मुल दायराभित्र आएर हिँड्न आग्रह गरेका छन् ।  शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै मुख्यमन्त्री राईले यस्तो बताएका हुन् । राईले भने,‘विप्लव समूह अब संविधानको मुल दायराभित्र आएर हिँड्नुको विकल्प छैन, सरकार मुलुकमा सुशासन, भ्रष्टाचार, अपराध नियन्त्रणमा कठोरताका साथ प्रस्तुत हुन्छ।’

उनले मुलुकमा राजनीतिक क्रान्तिको चरण पूरा भएकोले अब आर्थिक क्रान्ति, सुशासन, स्थायी शान्ति र दिगो विकास हाँसिल गर्ने बाटोमा हिँड्ने समय आएको स्पष्ट पारे । उनले भने,‘अबको युग भनेको स्थायी शान्ति, राजनीतिक स्थायित्व, सुशासन र विकासको हो, यसको लागि सरकार गम्भिर भएर लागिपर्छ।’

मुख्यमन्त्री राईले आगामी चैत्र १५ गतेभित्रै एमाले–माओवादी केन्द्रवीच बृहत्त एकता घोषणा हुने पनि जनाए । उनले भने,‘हामी सम्पूर्ण तयारीमा जुटिसकेका छौं, चैत्र १५ गतेभित्रै बाम गठबन्धन अब पार्टी एकतामा परिणत हुन्छ।’

मुलुकमा अब अस्थिरता र अराजकताको कुनै गुञ्जायस नभएको उल्लेख गर्दै मुख्यमन्त्री राईले भने,‘अब अराजकताको कुनै गुञ्जायस छैन, जनताको चाहना र सपना एउटै भएकोले समृद्धि हाँसिल गर्ने दिशामा हामी अघि बढ्छौं, यो भन्दा अर्को एजेण्डा छैन, समृद्धिको यात्रामा सबै दलहरु सरिक हुनुपर्छ।’

उनले आफूहरु अहिले कानून निर्माण गर्ने काममा जुटेको पनि जानकारी दिए । यद्धपी उनले कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको अघिल्लो सरकारले निर्वाचनपछिको संघीय संरचना बनाउने काममा ध्यान नदिएको गुनासो पोखे । ‘दुर्भाग्य नै भन्नुपर्छ, अघिल्लो सरकारले निर्वाचनपछि चाहिने संघीय संरचनाको लागि कुनै ध्यान दिएन, व्यवस्थापन गर्ने कुरामा पनि चुक्यो’–उनले थपे।
देउवा नेतृत्वको अघिल्लो सरकारले व्यवस्थापनमा ध्यान नदिएकोले अहिले आफूहरुले शुन्यबाट कामको थालनी गरिरहेको उनको भनाई थियो । यद्धपी उनले आफूहरु आफ्नो दायित्व र जिम्मेवारीबाट रत्ति पनि अलमलमा नरहेको स्पष्ट पारे ।

प्रदेश नम्बर १ का प्राथमिकताहरु विशेष कार्यक्रममार्फत आफूहरुले यसअघि नै सार्वजनिक गरिसकेको उल्लेख गर्दै राईले भने,‘प्रदेश नम्बर १ मा धेरै संभावना छ, एक नम्बर प्रदेश सानो नेपाल नै हो, यहाँ हिमाल, पहाड र तराई छ, सुन्दर बनावट छ, यहाँ ५ वटा अग्ला हिमालहरु छन्, सगरमाथा, मकालु, कञ्चनजंघादेखि कोशी टपुसम्मका निकुञ्जहरु यहीँ छन्।’

यसका अलावा यो प्रदेश नदिनाला, खोला, झरनाहरुले पनि भरिपूर्ण रहेको उनको भनाई थियो । उनले भने,‘हाम्रो प्रदेश जलश्रोतको पनि धनी छ, साँस्कृतिक, धार्मिक रुपमा पनि हामी भरिपूर्ण छौं, हलेसी, पाथीभारा, बराह, छिन्ताङ जस्ता ऐतिहाँसिक धार्मिक स्थलहरु यहीँ छन्।’ त्यस्तै उनले प्रदेश नम्बर १ चियाको लागि पनि राजधानी भएको बताए ।

मुख्यमन्त्री राईले बनजंगल, जडिबुटी लगायत पर्यटनको पनि राम्रो संभावना बोकेको प्रदेश १ नम्बर भएकोले विकास र समृद्धि हाँसिल गर्न सकिने धारणा राखे । चीन र भारतसँगमात्रै नभएर बंगलादेश, भुटानसँग पनि प्रदेश नम्बर १ ले सिधा सम्पर्क रहेको उनले जनाए ।

कृषि उत्पादनमापनि प्रदेश नम्बर १ सवल रहेको उल्लेख गर्दै राईले भने,‘हाम्रो प्रदेशको माटो पनि उर्वर छ, सिँगै मुलुकलाई खाद्यान्न धान्न सक्ने क्षमता हाम्रो प्रदेशसँग छ।’ त्यस्तै औद्योगिक हबदेखि शैक्षिक केन्द्रसम्म बन्ने संभावना आफ्नो प्रदेशमा रहेको उनले जिकिर गरे ।

नीजी क्षेत्रले पनि प्रदेश नम्बर १ मा विशेष ध्यान दिएको उनको भनाई थियो । उनले भने,‘लगानी गर्नको लागि उहाँहरुको विशेष ध्यान हाम्रो प्रदेशमा देखिएको छ, उहाँहरुको मात्रै नभएर विदेशी लगानीकर्ता र दातृ निकायहरुले पनि ध्यान दिएका छन्, हामी पनि साधनस्रोतलाई अधिक उपयोग गर्नुपर्छ भन्ने पक्षमा छौं, यसको लागि नीजी क्षेत्रको सहभागिता अनिवार्य छ, हामी लगानीमैत्री वातावरण बनाउँछौं, प्रदेश नम्बर १ लाई मुलुकै समृद्ध र नमूना प्रदेश बनाएर छाड्छौं।’
आगामी बजेट सुशासन र समृद्धिमा जोड दिएर आउने पनि राईले विश्वास दिलाए । ‘सुशासन, समृद्धिमा जोड दिएका छौं, अपराध नियन्त्रण, भ्रष्टाचारमा शुन्य सहनशिलता अपनाउँछौं।’ त्यस्तै प्रदेश नम्बर १ मा भएका ठूला–ठूला राष्ट्रिय गौरवका आयोजनाहरुलाई द्रुत गतिमा अघि बढाउनको लागि केन्द्रिय सरकारलाई ध्यानाकार्षण गराउने पनि राईले सुनाए ।

उनले भने,‘विकास बजेट पनि समयमै खर्च गर्छौं, आयोजनाहरु निर्माण गर्दा गुणस्तरमा ध्यान दिन्छौं, यो प्रदेशलाई हामी सुन्दर र हेर्नलायक, र सबैको निम्ति नमूना प्रदेश बनाउँछौं, यही संकल्पका साथ हामी काम गरिरहेका छौं, हामी जनताको सेवक हौं, सेवा गर्छौं।’

नेकपा एमालेका प्रभावशाली नेता र पूर्व सञ्चारमन्त्री समेत रहेका मुख्यमन्त्री राईले कान्तिपुर दैनिकसम्बन्धी अदालतमा विचाराधिन रहेको मुद्दाको बारेमा टिप्पणी गर्दै भने,‘कुनैपनि मनशायले मिडियालाई नियन्त्रण गर्नु र अंकुश लगाउन संभव छैन, यो गलत हो, त्यसो गर्नुहुँदैन्।’

उनले मिडियामाथि नियतपूर्वक नियन्त्रण र अंकुश लगाउने वा निशाना र आक्रमण गर्नु गलत कुरा भएको स्पष्ट पारे । उनले थपे,‘जहाँसम्म अदालत र कान्तिपुर मिडियोका बारेमा जे एउटा बहस चलिरहेको छ, यो मुद्दाको निरुपण संविधान बमोजिम आफ्नो मर्यादा अनुसार हल गर्नुपर्छ।’
उनले वर्तमान सरकार पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा रहेकोले बताउँदै भने,‘अब सिँगो प्रेस समृद्धिको अभियानमा अघि बढ्नुपर्छ, सामाजिक उत्तरदायित्वको अनुसार चल्नुपर्छ, मैरै पालामा मैलै राष्ट्रिय आमसञ्चार नीति ल्याएको थिएँ, अब यसलाई चाहिने काूनन र ऐनहरु बनाउनुपर्छ, मिडियालाई व्यवस्थित गर्नुपर्छ।’

उनले सुशासन कायम, भ्रष्टाचार र अपराध नियन्त्रण गर्दै देश बनाउने महाअभियानमा मिडियाले सशक्त भूमिका निर्वाह गर्नुपर्ने बेला आएको पनि सुनाए । उनले भने,‘अब भ्रष्टाचार, अपराध गर्ने र राष्ट्रलाई ठग्नेहरुलाई छुट हुँदैन, कडाभन्दा कडा कारबाही हुन्छ, तीन तहकै संरचनामा सरकार बनिसकेको छ, हामी कठोर कदम चाल्छौं।’

त्यस्तै उनले प्रदेश नम्बर १ को स्थायी राजधानी र नामाकरण गर्ने बारेको विषय छिट्टै संसदमा प्रवेश हुने जनाए । उनले थपे,‘सरकारले यो विषयमा सहजीकरणको भूमिका निर्वाह गर्ने हो, यो सवाल संसदको दुई तिहाईले टुँग्याउने हो, तर हामी कुनै दबाब, आग्रह वा पूर्वाग्रह नराखीकन निर्णय गर्छौं।’ सबैलाई समेटेर यसबारेमा निर्णय हुने मुख्यमन्त्री राईको विश्वास थियो ।
 
आफ्नो प्रदेशमा गुण्डागर्दी, तस्करी लगायतका अन्य अपराधलाई पूर्ण नियन्त्रण गरिने पनि राईले स्पष्ट पारे । ‘यसबारेमा पनि हामीले सुरक्षा निकायसँग छलफल गरिसकेका छौं, यस्तो क्रियाकलापमा संलग्न दोषीहरुलाई कडा कारबाही गर्न मैले निर्देशन दिईसकेको छु, हामी कठोर कदम चाल्छौं, अपराध गर्नेलाई कुनै छुट हुँदैन।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ