arrow

बोक्सी भन्दै कुट्नेलाई छुटाउन जाने नगरप्रमुख ममताप्रसादका मनोमानी बढ्दै

logo
प्रकाशित २०७४ फागुन २६ शनिबार
mamta-prasad-chaudhary.jpg

कैलाली। बोक्सी आरोप लगाएर निर्घाट्ट कुटपिट गरेका व्यक्तिलाई छुटाउन जमानी बसेर कुकर्ममा सहभागि भएका कैलालीको मध्यवर्ती क्षेत्रको घोडाघोडी नगरपालिकाका नगर प्रमुख ममताप्रसाद चौधरीको मनोमानीका अन्य थुप्रै घटना पनि अगाडी आएका छन्। नगरप्रमुख भएसँगै चौधरीले शुरु गरेको मनोमानीका कारण नगरपालिकाका स्थानियहरु आक्रोसीत भएका छन् । एमालेबाट निर्वाचित भएका नगरप्रमुख चौधरीले मनोमानीरुपमा रुपमा अन्य जनप्रतिनिधिसँग सहकार्य र जनतासँग समन्वय नगरेर एकलौटीरुपमा काम गर्न थालेपछि स्थानीय बासिन्दाहरु विरोधमा उत्रिएका हुन् ।

सुरु देखिनै उनले नगरपालिकालाई आफन्त र नातागोताको भर्ती केन्द्रका रुपमा प्रयोग गर्न थालेको स्थानियको आरोप छ। २०७४ पौष २६ गतेको नगर कार्यपालिकाको निर्णय अनुसार बृहत घोडाघोडी ताल तथा पर्यटन बिकास बोर्डको नाममा १ करोड रकम बिनियोजन गरेर उक्त बोर्डको कार्यकारी अधिकार सहितको उपाध्यक्षमा ममताप्रसादले आफ्नै सहोदर दाजु दयाराम चौधरीलाई नियुक्त गरेका थिए। मासिक ३० हजार भन्दा बढि तलव सुबिधा रहने गरि दयारामको नियुक्ती भएको थियो। 

कैलालीकै सुखडमा रहेको लिटिल एन्जल बोर्डिङ स्कुलको संचालक समेत रहेका दयाराम चौधरीलाई नगरप्रमुख ममता प्रसाद चौधरीले नेपाल सरकारको तृतीय श्रेणीको अधिकृतलाई दिने सरहको तलब दिने भन्दै उपाध्यक्षमा नियुक्त गरेका हुन । बोर्डमा उपाध्यक्ष नियुक्त गरिएका आफ्नो सहोदर दाजुको बाहेक अन्य कसैको सेवा सुबिधा मेयर चौधरीले हालसम्म तोकेका छैनन् ।

उपाध्यक्ष बाहेक अन्यको सेवा सुबिधा तथा तलब भत्ता के कति हुनेबारे कुनै निर्णय नभएको घोडाघोडी नगरपालिकाका प्रमुख प्रसासकीय अधिकृत कृतन राज पौडेलले बताए । राज्यको रकम र स्थानीय जनताले तिरेको करमा ब्रम्हलुट हुन थालेको सेवाग्राहीहरु बताउँछन् । 

पर्यटन प्रवर्दन गर्न गठित बोर्डमा आफ्नै दाजुलाइ नियुक्त गरेपछि स्थानीयबासी आक्रोशित बनेका छन् । मेयरको चलाखिमा बोर्ड गठन गरिएको र आफ्नै दाजुलाई नियक्त गर्नु गलत रहेको घोडाघोडी बहुमुखि क्याम्पसका पुर्व क्याम्पस प्रमुख लक्ष्मी भट्टराइले बताए । चुनाव जितेदेखि उद्घाटन र भाषण गर्न गाडीमा धुलो उडाउदै जाने प्रवृतीदेखि स्थानियहरु आजित भएका छन्। 

घोडाघोडी नगरपालिका प्रमुख ममता प्रसाद चौधरीले गरेको मनोमानीको सीमा नाग्दै गरेकोअर्का स्थानिय बताउछन् । मेयर चौधरीले नगरपालिकामा रहेका १२ वडा अध्यक्षहरुलाई मोटरसाइकल बितरण गर्ने निर्णय समेत गरेका थिए । तर आफू अनुकूल मोटरसाइकको टेन्डर पास नभएपछि टेन्डर रद्ध गरेर नयाँ टेन्डरको आह्वान गर्ने योजना बनाएका छन् । १ लाख ६६ हजारमा यामाहा १२५ सिसिको मोटरसाइकल टेन्डरमा परेको छ भने सोही बराबर सिसि रहेको बजाजको मोटरसाइकलको खरिद मुल्य १ लाख ४४ हजारमा टेन्डर रहेको थियो । 

नगरप्रमुखले उपप्रमुख प्रेमकुमारी थापाको लागि मासिक १ लाख खर्च हुनेगरि स्कार्पियो भाडामा लिएका छन् । सवारीको मासिक ७४ हजार, सवारी चालक तथा इन्धन खर्च पनि नगरपालिकाले व्यहोरी रहेको छ । तर यसको बिषयमा कार्यपालिकामा छलफल समेत भएको छैन । 

प्रदेश सरकारले कानून निमार्ण नगरेसम्म कुनै सेवा सुबिधा लिन नपाउने भएपनि नगरप्रमुख चौधरीले बिभिन्न शिर्षकमा प्रत्येक महिना मासिक २५ हजार भन्दा बढी रकम लिइरहेका छन् । २०७४ साल असोज १ गते नगर कार्यपालिकाको निर्णय अनुसार नगर प्रमुख चौधरीले संचार खर्च वापत ८ हजार, भ्रमण खर्च ५ हजार, इन्धन खर्च ३ हजार, अतिथि सत्कार खर्च ५ हजार र बैठक भत्ता २ हजार लिने गरेका छन् ।

त्यस्तै उपप्रमुख थापाले संचार खर्च बाफत ६ हजार, भ्रमण खर्च ५ हजार, इन्धन खर्च २ हजार, अतिथि सत्कार खर्च ३ हजार ५ सय हजार र बैठक भत्ता १ हजार ५ सय लिने गरेका छन् । त्यस्तै वडा अध्यक्षहरुले संचार खर्च वापत ३ हजार, भ्रमण खर्च २ हजार, इन्धन खर्च ३ हजार, अतिथि सत्कार खर्च १ हजार र बैठक भत्ता १ हजार लिने गरेका छन् । 

नगरप्रमुख चौधरीले इन्धन खर्चका नाममा दोहोरो रकम लिइरहेका छन् । उनले चढ्ने सवारीको मासिक रुपमा इन्धन खर्च नगरपालिकाले बेहोर्ने भएपनि उनले इन्धनका नाममा ब्यक्तिगत खर्चपनि लिनेगरेको पाइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ