arrow

उत्तर कोरिया वार्ताको पोको अमेरिकामा बुझाएपछि विशेषदूत पुगे चीन

राष्ट्रपति सिले भने - 'अमेरिका -उत्तर कोरिया वार्ता सफलताको कामना'

logo
प्रकाशित २०७४ फागुन २९ मंगलबार
xi_jingping.JPG

बेइजिङ । चिनियाँ राष्ट्रपति सि चिनफिङले संयुक्त राज्य अमेरिका र उत्तर कोरियाबीच हुन लागेको भनिएको वार्ता सफल तथा प्रगतिउन्मुख होस् भन्ने कामना गरेका छन् । उनले उक्त वार्ताको सफलताको कामना गर्दै वार्ता शान्त र सौहार्द रुपमा सम्पन्न गर्न पनि अमेरिका र उत्तर कोरियालाई आग्रह गरेको समाचारमा जनाइएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियासँगको वार्ता सकारात्मक मात्र नभएर महत्वपूर्ण पनि हुनसक्छ भनी सार्वजनिक अभिव्यक्ति दिएको दुई दिनपछि चिनियाँ राष्ट्रपतिको यो भनाइ आएको हो ।

उनले भने– आसन्न वार्ताबाट कोरियाली प्रायद्वीपमा शान्ति स्थापनाका लागि उपलब्धि हासिल होस् र आगामी दिनमा विश्व शान्तिका लागि पनि उपलब्धिमूलक हुन सकोस् ।

राष्ट्रपति चिनफिङले सो धारणा चीन पुगेका दक्षिण कोरियाका राष्ट्रपति मुन जाय–इनका विशेषदूतसँग मङ्गलबार राखेका हुन् ।  दक्षिण कोरियाली राष्ट्रपतिका राष्ट्रिय सुरक्षा सल्लाहकार चुङ इयु–योङ सोमबार चीन पुगेका छन् ।

हालैमात्र उत्तर कोरियाको भ्रमणबाट फर्किएका चुङ दक्षिण कोरियाली विशेषदूतका रुपमा गएको बिहीबार अमेरिका पुगेको प्राप्त समाचारमा जनाइएको थियो ।

उनिहरुले संयुक्तराज्य अमेरिकाका सुरक्षा र गुप्तचरसम्बन्धी उच्च अधिकारीहरुका साथै अमेरिकी विदेशमन्त्री रेक्स टिलर्सनसँग भेटवार्ता गरी प्योङयाङ भ्रमणका बारेमा जानकारी गराएका थिए ।

उत्तर कोरियाका नेता किम जङ उन र दक्षिण कोरियाली राष्ट्रपतिको सन्देश बोकेर अमेरिका पुगेका उनि सोही प्रयोजनका लागि चीन पुगेका छन् ।  

उनले चिनियाँ राष्ट्रपति चिनफिङलाई भेटेर यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जङ उनसँग भएको भेटवार्ताका बारेमा जानकारी गराएका थिए ।

सो जानकारीपछि चिनियाँ राष्ट्रपति चिनफिङले अमेरिका र उत्तर कोरियाबीचको वार्ता सौहार्द होस भनी कामना गरेका हुन् ।  

अमेरिकी राष्ट्रपति ट्रम्पले पनि उत्तर कोरियाले आश्वासन दिएबमोजिम सो वार्तामा महत्वपूर्ण उपलब्धि पनि हुनसक्ने सम्भावना रहेको हालै बताएका थिए ।

राष्ट्रपति ट्रम्पले उत्तर कोरियाली नेता किम जङ उनले आगामी दिनमा अणुअस्त्रको उत्पादन र जथाभावी परीक्षणको कार्य नगर्ने प्रतिबद्धता जनाएका कारण आफूले वार्तामा बस्न सहमति जनाएको बताएका थिए ।

साथै उनले सो वार्ताका लागि आफूले जापान र दक्षिण कोरियाका नेताहरुसँग कुराकानी गरेर उनीहरुको पनि समर्थन र सहयोग लिन चाहेको खुलासा गरेका थिए ।

समाचारमा आएअनुसार उत्तर कोरियाली नेता किम जङ उन र राष्ट्रपति ट्रम्पबीच आगामी मे महिनाको अन्तिमतिर भेटवार्ता हुने भएको छ ।

वार्तामा बस्ने उत्तर कोरियाली नेता उनको आमन्त्रण स्वीकार गर्नुअघि राष्ट्रपति ट्रम्पले जापानी प्रधानमन्त्री र चिनियाँ राष्ट्रपतिसँग फोनवार्ता गरेको पनि बताइएको छ ।

राष्ट्रपति चिनफिङ्ले चीन पनि कोरियाली प्रायद्वीपमा शान्ति स्थापनाका लागि अन्तर्राष्ट्रिय समुदायसँग मिलेर कामगर्न लागिपर्ने धारणा पनि राखेका थिए ।

उनले चीन पहिलेदेखि नै कोरियाली प्रायद्वीपको समस्या शान्तिपूर्ण रुपमा वार्ताकै माध्यमबाट समाधान गर्नुपर्छ भन्ने पक्षमा रहेको र वार्तालाई सधैँ समर्थन गर्ने धारणा पनि राखेको चिनियाँ समाचार समिति, सिन्ह्वाले बताएको छ । एएफपी

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ