arrow

कांग्रेसले आफ्ना सांसदलाई यसरी सिकाउँदैछ बोल्न 

logo
प्रकाशित २०७४ फागुन ३० बुधबार
congress-office.jpg.gif

काठमाडौं । कांग्रेसले प्रतिनिधिसभा, राष्ट्रिय सभा र प्रदेश सभामा प्रतिनिधित्व गर्ने आफ्ना सांसदलाई संसद्मा प्रस्तुत हुने शैली सिकाउने भएको छ । यसका लागि बुधबार बिहान ११ बजेदेखि केन्द्रीय कार्यालय सानेपामा अभिमुखीकरण राखिएको छ । 

सभापति शेरबहादुर देउवाले कार्यक्रमको उद्घाटन गरेपछि विज्ञ, नेताहरूले सांसदलाई संसदीय परिपाटीका विषयमा सिकाउने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । प्रतिनिधिसभामा ६३, राष्ट्रिय सभामा १३ र प्रदेश सभामा कांग्रेसका १ सय १३ गरी कुल १ सय ८९ सांसद छन् ।

‘हामीले केन्द्रका दुवै सदन र प्रदेशका सांसदका लागि संसदीय परिपाटीका विषयमा प्रशिक्षण दिन लागेका छौँ,’ उनले भने, ‘कसरी प्रस्तुत हुने र धारणा बनाउने, सांसदलाई सुसूचित गर्ने, शून्य समय, विशेष समय र कुन वेला बोल्न हुन्छ, कुन वेला हुँदैन भन्नेमा बोल्न सिकाउन लागिएको हो ।’

पार्टीबाट सांसद भएपछि विकास निर्माणको प्रक्रियामा कसरी काम गर्ने, सहजीकरण गर्ने र पार्टीसँग कसरी समन्वय गर्ने भन्ने पनि सिकाउने प्रवक्ता शर्माले जानकारी दिए । ‘सांसद एकातिर, पार्टी अर्कैतिर छ । 

पार्टीबाटै स्थानीय तहमा नेतृत्व पुगेको छ,’ उनले भने, ‘संगठनात्मक अभ्यास, संसदीय परिपाटी र विकास निर्माणका विषयमा पार्टीसँग कसरी समन्वय गरेर काम गर्ने भन्ने विषय सांसदहरूलाई बुझाउन खोजेका हौँ ।’

अभिमुखीकरणमा विज्ञ, पार्टी नेताले प्रशिक्षण दिने जानकारी उनले दिए । यसरी अभिमुखीकरण दिने र नेता सांसदहरूलाई सुसूचित गराउने शैलीले पार्टी रूपान्तरणको अभ्यास सुरु भएको शर्माले बताए । 

दिनभरको प्रशिक्षणपछि रेस्टुरेन्टमा सामूहिक खाना खाएपछि कार्यक्रम सकिनेछ । (नयाँ पत्रिका दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ