arrow

‘आजाद भिसा’ का नाममा कामदार तस्करी

logo
प्रकाशित २०७४ चैत २ शुक्रबार
kamdar.jpg

काठमाडौँ । चाहेजस्तो काम र तलब पाइने भन्दै संगठित दलालले ‘आजाद भिसा’ मार्फत कतार पुर्याएका ४० नेपाली कामदार बिचल्लीमा परेका छन् । 

म्यानपावर र कतारका साना कम्पनीसँग समन्वय गरी दलालले आजाद भिसाका नाममा ४० नेपाली कामदारसँग झन्डै ७० लाखभन्दा बढी ठगी गरेका छन् ।

पीडित कामदारका अनुसार मिडल अर्विट ओभरसिज, शुभम् ओभरसिज, ब्लुमुन ओभरसिज म्यानपावरले आजाद भिसाका नाममा कामदार पठाई ठगी गरेका हुन् । अलपत्र परेका कामदार कतारको बक्रा, सनैया र साँहनिया क्षेत्रमा खान पनि नपाउने अवस्थामा छन् ।

ती म्यानपावरले प्रतिकामदार १ लाख ८० हजारदेखि २ लाख ३५ हजार रुपैयाँसम्म ठगी गरेका हुन् । म्यानपावरले कतारस्थित ताज ट्रेडिङ कन्स्ट्रक्टिङ, प्रोजेक्ट सपोर्ट ट्रेड्रिङ, कोमिला कन्स्ट्रक्सन, क्युप्लस ट्रेडिङ र फोल्रा ट्रेडिङ कम्पनीको स्पोन्सरमा पठाएका थिए ।

कतारस्थित नेपाली दूतावासका अनुसार यी कामदारको भिसा संखुवासभाका आशिष दाहाल र चितवनका कृष्णबहादुर लामालगायतले निकालेका हुन् ।

के हो ‘आजाद भिसा’ ?
कतारी श्रम मन्त्रालयका अनुसार ‘आजाद भिसा’ भन्ने कुनै भिसा नै छैन । कतारमा कामदारका लागि दुई प्रकृतिको व्यक्तिगत (घरेलु कामदार) र संस्थागत (कम्पनी) को मात्रै भिसा हुन्छ । कम्पनीको स्पोन्सरसिपमा निस्कने भिसालाई नै दलालले आफूअनुकूल ‘आजाद भिसा’ को नाम दिने गरेका छन् । 

दलालले यो भिसामा जानेले स्वतन्त्र भएर इच्छाअनुसार काम गर्न र मनग्य पैसा पाइने भन्दै कामदारलाई प्रलोभन दिई पैसा असुल गर्ने गर्छन् । यस्तो नामका भिसाको कारोबार गर्नेलाई कतार सरकारले मानव तस्करीविरुद्ध अपराधमा मुद्दा चलाउने गरेको छ । पीडित कामदार न्यायका लागि कतारी निकायमा प्रमाणसहित नपुग्दा ती संगठित दलालले फाइदा उठाइरहेका छन् ।

यही भिसामा जाने भन्दै सर्लाहीका चन्द्रबहादुर भण्डारीले मिडल अर्विट म्यानपावरका सञ्चालकलाई २ लाख ३५ हजार रुपैयाँ बुझाएका थिए । यही भिसामा पुगेका तेह्रथुमका सुमन भण्डारीले भने, ‘१७ सय रियालको काम सजिलो काम पाइन्छ भनेर म्यानपावरले पठाएको थियो । दुई महिना भइसक्यो कामै पाएको छैन ।’

गुमराहमा श्रम स्वीकृति
कामदार पठाउन मिडल अर्विट ओभरसिज, शुभम् ओभरसिज, ब्लुमुन ओभरसिज म्यानपावरले वैदेशिक रोजगार विभागबाट सबै प्रक्रिया पूरा गरेर श्रम स्वीकृति निकालेका हुन् । वैदेशिक रोजगार ऐनका अनुसार जुन कम्पनीका लागि श्रम स्वीकृति निकालेको हो, त्यही कम्पनीमा काम गराउनुपर्छ । 

तर, यी म्यानपावरले त्रिभुवन विमानस्थल कटाउनका लागि श्रम स्वीकृति निकालेका हुन् । ‘हामीलाई कतार पुगेपछि अर्को कम्पनीमा सुरक्षा गार्डको काम दिलाउँछु, त्यसका लागि आशिष दाहालले काम खोजिदिन्छ भनेर पठाएको थियो,’ १ लाख ८० हजार रुपैयाँ बुझाएर कतार पुगेका रसुवाका धर्मसिंह गुरुङले भने, ‘यता आइसकेपछि थाहा पाउँदा त अर्कै रहेछ ।’

राम्रो काम र तलब पाइन्छ भनेर नै आजाद भिसामा आएको पीडित सहदेव गौतमले बताए । ‘खोजी खोजी मन लागेको काम गर्न पाइन्छ भनिएको थियो,’ उनले भने, ‘यता आएपछि थाहा भयो, आजाद भन्ने केही हुँदैन रहेछ । 

कम्पनीकै भिसा रहेछ । त्यो कम्पनीले अर्कोमा जान अनुमति नदिएसम्म कतै जान नपाइनेरहेछ ।’ पीडितहरूको सम्पर्कमा ती दलाल छैनन् । पीडितसँग समन्वय गरिरहेका बीबी खरालले विभाग र कामदारलाई झुक्काउने म्यानपावरलाई कारबाही गर्नुपर्ने बताए ।

पीडितलाई खानाका लागि प्रबन्ध गैरआवासीय नेपाली संघ कतारले मिलाइरहेको युवा सहसंयोजक नारायण भण्डारीले बताए ।

नेपाली दूतावासले कामदार ठगी गर्ने म्यानपावरलाई कारबाही गर्न वैदेशिक रोजगार विभागलाई अनुरोध गरेको छ । ‘दूतावासले पठाएको पत्रअनुसार तत्काल श्रम स्वीकृति रोकिसकेका छौं,’ विभागका प्रवक्ता मोहन अधिकारीले भने, ‘म्यानपावरले मानव तस्करी गरेको विषयमा विस्तृत अनुसन्धान थालिसकेका छौं ।’ (कान्तिपुर दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ