arrow

यस्तो पो निस्कियो काँग्रेस चुनावमा हार्नुको कारण 

logo
प्रकाशित २०७४ चैत ४ आइतबार
nepali-congress-flag.jpg.jpeg

काठमाडौं । नेपाली कांग्रेसका जिल्ला समितिहरूले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टी पराजयको मुख्य कारण आन्तरिक गुटबन्दी भएको ठहर गरेका छन्। 

निर्वाचनमा पराजयको कारणसहितको प्रतिवेदन पठाउन केन्द्रीय समितिको निर्देशनपछि समीक्षामा जुटेका जिल्ला समितिहरूले केन्द्रदेखि गाउँ तहसम्मको चरम गुटबन्दी नै पराजयको मुख्य कारण भएको निष्कर्ष निकालेका हुन्।
 
पार्टीभित्र गुटबन्दी संस्थागत हुँदा एउटा पक्षले अर्कोलाई असहयोग गरेका कारण निर्वाचनमा नराम्रो हार भोग्नुपरेको बुझाइ जिल्ला समितिहरूको छ। आन्तरिक एकता मजबुत बनाउन नसके पार्टी अझै कमजोर हुनसक्ने जिल्ला नेतृत्व तहको निष्कर्ष छ। ‘बिपीदेखि गिरिजाप्रसाद कोइरालाका पालासम्म पार्टीको आन्तरिक कुरा बाहिर आउँदैनथ्यो,’ दाङ सभापति कीर्तिबहादुर खड्काले भने, ‘अहिले व्यक्तिगत मनमुटाव र गुटगत प्रभाव केन्द्रदेखि घर–घरसम्म पुगेको छ । चुनावमा पराजयको मुख्य कारण यही हो।’

वाम गठबन्धन निर्वाचन पराजयको सहायक कारण भएको बताउँदै उनले भने, ‘उम्मेदवार छनोटमा काखापाखा गर्दा र सन्तुलन नमिलाउँदा चुनावमा हार भएको हो।’

तीन निर्वाचन क्षेत्र रहेको दाङमा सबै क्षेत्र गुमाएको कांग्रेसमा नेता खुमबहादुर खड्का र त्यसइतरका नेताबीच तीव्र धु्रवीकरण छ। यसअघि खड्का विरोधी लाइनको नेतृत्व बलदेव शर्मा मजगैंयाले गर्थे भने अहिले  दीपक गिरीले गरेका छन्।
 
पार्टीका दुई प्रभावशाली नेता पूर्णबहादुर खड्का र हृदयराम थानीको गृहजिल्ला सुर्खेतमा पनि चर्को गुटबन्दी छ। सुर्खेत सभापति कमलराज जोशीले केन्द्रीयस्तरमा पुगेका नेताहरू एकअर्काको कार्यक्रममा नजाँदा चुनावी नतिजा अनपेक्षित आएको बताए। ‘केन्द्रीय नेताहरूले एकै ठाउँमा बसेर कार्यक्रम नै दिनुभएन,’ जोशीले भने, ‘त्यसले असर गरयो । एकअर्काको कार्यक्रममा उहाँहरू पुगिदिएको भए राम्रो हुन्थ्यो।’

पार्टी केन्द्रीय सदस्यद्वय खड्का र थानी सुर्खेतका दुई निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभा उम्मेदवार थिए। दुई नेताबीचको सम्बन्ध सुमधुर छैन। यसैकारण उनीहरू दुवैले चुनाव हारे। 
 
क्रियाशील सदस्यता वितरण गर्ने प्रणालीमा सुधार गर्नुपर्ने राय जिल्ला तह नेतृत्वको छ। ‘क्रियाशील सदस्य छन्। तर पार्टी र निर्वाचनमा क्रियाशील हुँदैनन्,’ सुर्खेत सभापति जोशीले भने, ‘नेताहरूले नै सिस्टम परिवर्तन गर्नुभएको हो। यसमा सुधार जरुरी छ।’ अब पार्टीलाई बलियो बनाउन सबै एकजुट भएर लाग्ने सहमति भएको जोशीले बताए।
 
कञ्चनपुर जिल्ला सभापति हरि बोहोरा पनि महाधिवेशनमा सक्रिय क्रियाशील सदस्य निर्वाचनमा सक्रिय नभएको बताउँछन्। उनले अरुको भन्दा पनि आफ्नै कारणले कांग्रेसले चुनाव हारेको उनको निष्कर्ष छ। ‘पार्टीमा दुई धारको विवाद चरम छ,’ उनले भने, ‘एकले अर्कोलाई सहयोग गर्नुको साटो हराउनतिर लागे। चुनाव अरुको कारणले होइन आफ्नै कार्यकर्ताकै कारण कांग्रेसले हारेको हो।’

कञ्चपुरमा पार्टी सभापति शेरबहादुर देउवा निकट नेताद्वय एनपी साउद र रमेश लेखकबीच तीव्र विवाद छ । एकले अर्कालाई उछिन्ने होडमा साउद र लेखक लाग्दा उनीहरूले त हारे नै बाँकी अर्को क्षेत्र पनि गुमाउनुपऱयो। कञ्चनपुरमा तीनवटा निर्वाचन क्षेत्र छन्। 

स्याङ्जा जिल्ला सभापति कमल पंगेनी वाम गठबन्धन र पार्टीभित्रको आन्तरिक गुटबन्दी नै पराजयको मुख्य कारण भएको ठान्छन्। स्याङजामा नेता रामचन्द्र पौडेल समूहबाट असहयोग भएको निस्कर्षमा जिल्ला समिति पुगेको छ। पौडेल निकट एक नेताले भने, ‘खल्तीका मान्छेलाई उम्मेदवार बनाउँदै जाने नेता कार्यकर्ताले त्यसलाई नै खुरुखुरु जिताउँदै जाने दिन अब गए।’ स्याङजामा पौडेल पक्षीय नेता धनराज गुरुङलाई प्रदेशसभाको उम्मेदवार बन्न नेतृत्वले आग्रह गर्दा उनले अस्वीकार गरेका थिए। 

पार्टीका दुई प्रभावशाली नेता रामशरण महत र अर्जुननरसिंह केसीको गृहजिल्ला नुवाकोटमा पनि गुटबन्दी उग्र छ। आन्तरिक कलहका कारण दुवै नेताले प्रतिनिधिसभा सदस्यको चुनाव हारेको जिल्लाका कार्यकर्ता बताउँछन्। 

भाइ र भतिजालाई समेत केसी र महतले प्रदेशसभाको उम्मेदवार बनाएका थिए । गुटबन्दीकै कारण नुवाकोटबाट प्रदेशसभा र प्रतिनिधिसभामा उम्मेदवार बनेका छ जनाले नै चुनाव हारेका थिए। प्रदेशसभा सदस्यमा पराजित नुवाकोट सभापति जगदिश्वरनरसिंह केसीले पनि गुटबन्दीकै कारण परिणाम अनपेक्षित आएको स्वीकारे। ‘एउटा गुटले अर्को गुटलाई पेल्ने प्रवृति केन्द्रमा मात्र होइन जिल्लामा पनि देखियो,’ केसीले भने।  

स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रसँग भएको तालमेललाई प्रतिनिधि र प्रदेशसभा निर्वाचनसम्म कायम गर्न नसक्दा पनि हार भएको केसीको तर्क छ।  ‘केन्द्रीय नेतृत्वले सरकारमा जान हतार गर्दा माओवादी हामीसँग फुत्केर एमालेसँग पुग्यो,’ उनले भने, ‘त्यसमा नेतृत्व चुक्यो।’ 

पार्टी नेतृत्वका कारण संगठन ध्वस्त बन्न पुगेको आरोप लगाउँदै उनले भने, ‘निर्वाचनमा नेतृत्वले नयाँ विचार, अजेन्डा, सन्देश र कार्यक्रम केही दिन सकेन। हामी निर्वाचनमा अजेन्डाविहीन प्रतिस्पर्धा गर्न पुग्यौं ।’

प्रतिस्पर्धी दल सस्ता र लोकप्रिय अजेन्डा, कार्यक्रम, विचार र नेतृत्वसहित जनतामाझ गएको तर कांग्रेसले विचार नै दिन नसकेको उनले बताए । केसीले थपे, ‘हामी पुरानै शैली र ढर्रामा निर्वाचन प्रचारमा जुट्यौं। जनताको मन जित्न सकेनौं।’

आधा दर्जनभन्दा बढी केन्द्रीय सदस्य रहेको मोरङमा पनि निर्वाचनमा घात प्रतिघात भएको भन्दै एकअर्कामाथि दोष लगाउन नेताहरू सक्रिय छन्। तर, मोरङ–१ बाट प्रतिनिधिसभा सदस्यका प्रत्यासी बनेका जिल्ला सभापति डिकबहादुर लिम्बू आफ्नो क्षेत्रमा कसैलाई दोष लगाउने पक्षमा आफू नरहेको बताउँछन्। ‘घात र अन्तर्घात कांग्रेसको कल्चर नै बनिसकेको छ तर मेरो क्षेत्रमा कसैलाई दोष दिने पक्षमा म छैन,’ उनले भने, ‘जसलाई कारबाही गर्न सिफारिस गरेर पठायो उसैलाई सांसदको बिल्ला भिराएर पठाउँछन्।’

मोरङ क्षेत्र नम्बर ४ र ५ मा अन्तर्घातको विषय धेरै उठेको सभापति लिम्बूले बताए। प्रतिनिधिसभा सदस्यका लागि ६ वटा निर्वाचन क्षेत्र रहेको मोरङ–२ बाट मीनेन्द्र रिजालबाहेक अरु क्षेत्रमा कांग्रेस उम्मेदवार पराजित भएका छन्।
 
क्षेत्र नम्बर ४ बाट पराजित केन्द्रीय सदस्य महेश आचार्यले अर्का केन्द्रीय सदस्य गुरुराज घिमिरेलाई रोक्दै आफन्तलाई उम्मेदवार बनाएका थिए। निर्वाचनमा पराजित भएपछि आचार्यले त्यसको दोष घिमिरेसहितका नेताहरूलाई लगाउँदै आएका छन्। आचार्य प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्ने भएपछि घिमिरेले प्रदेशसभाको टिकट दाबी गरेका थिए। 

क्षेत्र नम्बर ३ बाट सुनील शर्मा, ५ बाट अमृत अर्याल र ६ बाट केन्द्रीय सदस्य शेखर कोइराला मैदानमा थिए। 

यतिमात्रै होइन काठमाडौं, तनहुँ, कास्की, कैलाली, बाजुरा, धनुषा, झापासहितका धेरैजसो जिल्ला नेतृत्वले पराजयको मुख्य कारण गुटबन्दी र अन्तर्घात भएको ठहर गरेका छन्।
 
त्यस्तै, उम्मेदवार छनोटमा पार्टीमा लगानी भएका र मूल्यमान्यता बोकेका भन्दा नेतालाई प्रभाव पार्नसक्ने व्यक्ति हाबी हुनु र जनताको सुखदुःखमा वर्षौदेखि समर्पितलाई पाखा पार्नु पनि हारको कारण भएको जिल्ला नेतृत्वको निष्कर्ष छ। 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन प्रमुख लोकमानसिंह कार्कीविरुद्ध संसद्मा दर्ता महाभियोग प्रस्तावको पक्ष वा विपक्षमा किन नउभिएको भन्ने कुरा जनतालाई बुझाउन नसक्दा पन सहरीया मतदाता भड्केको जिल्ला सभापतिहरूको बुझाइ छ।
 
प्रदेशको सीमांकनसहित संविधान संशोधन नहुँदा संविधानप्रति असन्तुष्ट पक्षले पनि कांग्रेसलाई सहयोग नगरेको जिल्ला नेतृत्वको बुझाइ छ। ‘कांग्रेस न पहाडको हुनसक्यो न तराई–मधेसको’, एक जिल्ला सभापतिले भने, ‘देश जोड्ने काम त कांग्रेसले गरयो तर त्यसलाई हामीले जनतामाझ गएर बुझाउन सकेनौं।’ 

पार्टी नेतृत्वप्रति जनताको भरोसाभन्दा अविश्वास बढी हुनुलाई पनि हारको कारण मानेका छन् जिल्ला तहका कार्यकर्ताले।

अधिकांश जिल्लाले केन्द्रीय समितिको निर्देशन अटेर गर्दै अझै निर्वाचन समिक्षासहितको प्रतिवेदन केन्द्रीय कार्यालयलाई पठाएका छैनन्।

क्ञ्चनपुरसहित एक दर्जन जिल्ला समितिले प्रतिवेदन केन्द्रीय कार्यालयमा पठाए पनि अन्यले केन्द्रको निर्देशन अटेर गर्दै आएका छन्। कांग्रेस केन्द्रीय समितिको माघ ५ गते सम्पन्न बैठकले मातहतका निकायलाई एक महिनाभित्र निर्वाचन पराजयको कारणसहित प्रतिवेदन केन्द्रीय कार्यालयमा पठाउन निर्देशन दिएको थियो। तर गुटमा विभाजित जिल्ला नेतृत्व प्रतिवेदन पठाउनुको साटो आरोप प्रत्यारोपमा लागेका छन्। 

कांग्रेसले निर्वाचन समीक्षा र महासमिति बैठक मिति तय गर्न ९ गते केन्द्रीय समिति बैठक बोलाएको छ। (नागरिक दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ