arrow

वैदेशिक रोजगारका कर्मचारी १४ महिना तलब नपाउँदा पनि किन उत्साही ?

logo
प्रकाशित २०७४ चैत ८ बिहिबार
baideshik-rojgar-bibhag.jpg

काठमाडौं । तलब नपाएको १४ महिना भयो । तैपनि उत्साहसाथ कार्यालयमा काम गरिरहेका छन् । नियमित तलब पाइने ठाउँमा सरुवाको अवसर मिल्दा पनि जाँदैनन् । यति कर्तव्यनिष्ठ कर्मचारी कहाँका होलान् ?

यी कर्मचारी नेपालकै निजामती सेवाका हुन् । वैदेशिक रोजगार विभागको ताहाचलस्थित कार्यालयमा यस्ता करिब डेढ दर्जन कर्मचारी छन् । दरबन्दीभन्दा बढी भएका १६ कर्मचारीलाई ६ देखि १४ महिनासम्मको तलब दिइएको छैन । तरपनि, कर्मचारी गुनासो नगरी खुरुखुरु काम गरिरहेका छन् । यति लामो समयसम्म तलब नपाउँदा पनि कर्मचारी किन काम गरिरहेका छन् त ? निमित्त कार्यालय प्रमुख प्रेमबहादुर देसार भन्छन्, ‘यो त बाध्यता हो ।’

कार्यालय प्रमुख देसारका अनुसार स्थानीय तहमा खटाइएका कर्मचारी पनि सरुवा बदर गराएर फर्किएका छन् । ‘केही कर्मचारीलाई सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा सरुवा गरेर यहाँ नयाँ कर्मचारी पठाएको थियो,’ उनले भने, ‘सामान्यले पठाएका नयाँ पनि आए र सरुवा गरिएका पुराना पनि फर्किए । त्यसो हुँदा धेरै कर्मचारी भएका हुन् ।’ देसारका अनुसार कार्यालयबाट स्थानीय तहमा गरिएको कर्मचारीको सरुवा सचिव मोहनकृष्ण सापकोटाले बदर गराइदिएका थिए ।

यसैगरी, काजसरुवा गरेर आएका कर्मचारी तीन महिना अवधि सकिएपछि पनि नफर्किएको कार्यालयले जनाएको छ । निजामती सेवा ऐनअनुसार काजसरुवा भएका कर्मचारी तीन महिना पूरा भएपछि साबिककै कार्यालयमा हाजिर हुनुपर्ने हुन्छ । तर, वैदेशिक रोजगार कार्यालय ताहचलमा भने वर्षौँदेखि तलब नपाए पनि काजका कर्मचारी कार्यरत छन् ।

सरकारसँग तलब माग
दरबन्दी नभएका १६ कर्मचारीलाई तलब खुवाउन नसकेपछि ताहचल कार्यालयले कोष तथा लेखानियन्त्रण कार्यालयलाई पत्र लेखेको छ । जसमा दरबन्दी मिलान नभएका १६ कर्मचारीलाई १४ महिनादेखि तलब, भत्ता र चाडपर्व खर्च भुत्तान गर्न नसकेको उल्लेख गरिएको छ । उनीहरुलाई तलब, भत्ता र पोसाक भत्ताका लागि ५९ लाख १२ हजार ७ सय ९९ रुपैयाँ उपलब्ध गराइदिन पत्रमा माग गरिएको छ ।

सामान्यको सरुवा मान्दैनन्
कार्यालय प्रमुख देसारले कर्मचारीहरूले सामान्य प्रशासन मन्त्रालयले गरेको सरुवा नै रद्द गरेर बसेको बताए । ‘भदौमा केहीको सरुवा भएको थियो, तर ती कर्मचारी डेग चलेनन्, त्यसपछि थप समस्या भएको हो,’ कार्यालय प्रमुख देसारले नयाँ पत्रिकासँग भने । सरकारी कर्मचारीले कुनै न कुनै दिन तलब पाउने पक्का हुने भएकाले कर्मचारीमा निराशा नभएको उनले बताए ।

के भन्छन् तलब नपाउने कर्मचारी ?
१४ महिनादेखि तलब नबुझी काम गरिरहेका कर्मचारी सरसापटी र ऋणमा जीवन चलाएर भए पनि काम गरिरहेको बताउँछन् । सरकारले कुनै दिन तलब दिने निश्चित भएकाले धेरै चिन्ता नलिएको उनीहरूको प्रतिक्रिया छ । ‘सरकारी कर्मचारीले तलब नपाउने भन्ने हुँदैन । त्यही भएर पनि काम गरिरहेका छौँ,’ कम्प्युटर अधिकृत भवानी थपलियाले भनिन् ।

तलब नपाए पनि कर्मचारीले काम गरिरहेको समाचार भने नलेखिदिन आग्रह गर्दै उनले थपिन्, ‘समाचार लेख्नुभयो भने त हामीलाई अप्ठ्यारो हुन्छ । अहिलेको मन्त्रीज्यू हामीबारे सकारात्मक हुनुहुन्छ ।’ अर्का नायब सुब्बा मधुकर डाँगीले पनि सरुवा भएर आएदेखि तलब नपाएको बताए । ‘डोल्पाबाट सरुवा भएर आएको, तलब खुवाउनेबारे लेखाले चासो नै दिँदैन,’ उनले भने ।

महानिर्देशक भन्छन्– मलाई थाहा छैन
मातहतका कार्यालयमा दरबन्दीभन्दा बढी कर्मचारी रहेको र उनीहरूले तलब खान नपाएकोबारे वैदेशिक रोजगार विभागका महानिर्देशक भुवन आचार्यले भने अनभिज्ञता जनाए । आफू एक महिनादेखि मात्र जिम्मेवारीमा रहेकाले त्यसबारे जानकारी नभएको उनले बताए । ‘दरबन्दीभन्दा बढी किन बसिरहेका छन्, मैले बुझ्नुपर्छ र भोलि तपाईंसँग भन्न सक्छु,’ महानिर्देशक आचार्यले भने ।

एयरपोर्ट डेक्समा पनि उस्तै
वैदेशिक रोजगार विभागको एयरपोर्ट डेक्समा पनि दरबन्दीभन्दा बढी कर्मचारी छन् । उक्त डेक्समा १० जनाको दरबन्दी रहेकोमा तीन कर्मचारी बढी रहेको डेक्स प्रमुख रत्नमान मानन्धरले बताए ।

विभागका निर्देशक मोहन अधिकारीले मन्त्री, सचिव र सहसचिवको दबाबमा दरबन्दीभन्दा बढी कर्मचारी खटाउनुपर्ने बाध्यता रहेको बताए । ‘विभागमा दरबन्दीअनुसार कर्मचारी छैनन्,’ उनले भने, ‘ती कार्यालयमा भने दरबन्दीभन्दा बढी कर्मचारी भएको सत्य हो ।

१४ महिनादेखि तलब नपाउँदा पनि काम गर्ने कर्मचारी 
१, लोकेन्द्रबहादुर रावल – नायब सुब्बा
२, कुमारबहादुर कटवाल – नायब सुब्बा
३, रवीन्द्र घिमिरे – नायब सुब्बा
४, राजन घिमिरे – नायब सुब्बा
५, गौरीकुमारी कार्की – नायब सुब्बा
६, लक्ष्मण गुरागाईं – नायब सुब्बा
७, केदार घिमिरे – नायब सुब्बा
८, यज्ञप्रसाद आचार्य – नायब सुब्बा
९, यज्ञबहादुर ओली – नायब सुब्बा
१०, विद्याप्रसाद जैसी – नायब सुब्बा
११, सुमन पौडेल – नायब सुब्बा
१२, सधुकर डाँगी – नायब सुब्बा
१३, डम्बरबहादुर विश्वकर्मा – कम्प्युटर अधिकृत
१४, भवानी थपलिया – कम्प्युटर अधिकृत
१५, रञ्जु दाहाल – कार्यालय सहयोगी
१६, तुलसीमान मर्हजन – कार्यालय सहयोगी

यसकारण गुनासो नगरी काम गर्छन्
वैदेशिक रोजगार कार्यालयमा गैरकानुनी आर्थिक स्रोत गतिलो हुने भएकाले कर्मचारी अन्यत्र जान मान्दैनन् । राजनीतिक दबाबका कारण त्यहाँ बढी भएका कर्मचारीलाई अन्यन्त्र खटाउन नसकिएको सामान्य प्रशासन मन्त्रालय स्रोतले बतायो । ‘आकर्षक कार्यालयमा यस्तो धेरै समस्या छ, थोरै चलाउन थाल्यो भने पहुँचवालाको फोन बजिहाल्छ,’ स्रोतले भन्यो । वैदेशिक रोजगार कार्यालय ताहाचलका निमित्त प्रमुख प्रेमबहादुर देसारले भने कर्मचारीलाई काम गर्न सहज भएकाले अन्यत्र जान नचाहेको बताए । ‘यहाँ काम गर्न पनि सहज छ, त्यही भएर होला,’ उनले हाँस्दै भने । (नयाँ पत्रिका दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ