arrow

लालु यादवको ‘रफ’ शैलीमा फसे मोर्चाका शीर्ष नेता, ‘स्वाभीमान नङग्याए’

सामाजिक संजालमा चर्को बहस

logo
प्रकाशित २०७२ माघ १९ मंगलबार
morcha-neta-bihar-bhet.jpg.jpeg
काठमाडौं । तराई–मधेसमा जारी आन्दोलनमा गुहार माग्न बिहार पुगेका संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका शीर्ष तीन नेताले राष्ट्रिय जनता दलका अध्यक्ष लालु प्रसाद यादव र बिहारका मुख्यमन्त्री नितिशकुमारसंग छुट्टा–छुट्टै भेट गरे । सोमबार बेलुकी लालु यादवसंग भएको भेटको तस्वीर र भिडियोबारे निकै बहस भएको छ । सामाजिक संजाल होस् वा संचारमाध्यममा यसबारे निकै चर्चा छ । भेटको प्रकृतिलाई हेरेर अधिकांशले पूर्व विशिष्ट पदाधिकारीले मर्यादाक्रम कुल्चेको रुपमा लिएका छन् । 
 
कतिपयले नेपाली स्वाभीमान नङग्याएको रुपमा चित्रित गरेका छन् । भेटका लागि लालु निवास पुगेका सद्भावना अध्यक्ष एवं पूर्वमन्त्री राजेन्द्र महतो, संघीय समाजवादी फोरम नेपालका अध्यक्ष एवं पूर्व उपप्रधान तथा परराष्ट्रमन्त्री उपेन्द्र यादव र तराई मधेस सद्भावना पार्टी अध्यक्ष महेन्द्र राय यादवलगायत मधेसी मोर्चाका नेता भद्रगोल रुपमा प्रस्तुत भए । 
 
लालुको बसाइ र मोर्चा नेताको बसाई टाढा थियो । जुन मधेस केन्द्रीत नेताहरुले भन्ने गरेको नेपाल भारत नजिक सम्बन्ध र सजिलो सम्बन्ध विपरित । हेपाहा अर्थात् महत्व नै नदिए जस्तो । एक बोतल पानी दिएर स्थानीय देहातबाट आएका सरपञ्चहरुलाई जस्तो व्यवहार गरेको देखियो । लालुले कठ्याङग्रीदो चिसोमा समेत कोठा भित्रसम्म लगेनन् । बाहिरै प्लाष्टिकको कुर्सीमा (त्यो पनि टाढा) शिक्षकले विद्यार्थीलाई पढाए जसरी छलफल गरे । नेपाल सरकारका पूर्व विशिष्ट पदाधिकारी यादव र महतोले मर्यादा धूलोमा मिलाइदिएको टिप्पणी भइरहेकै छन् ।  
ता कि उनीहरु सारा जगतबाट रित्तिएका बटुवा जस्ता देखिए । भारतका पूर्व केन्द्रीय रेलमन्त्री लालु यादव उनीहरुलाई छट्पटाहटबाट मुक्ति पाउने अर्ती उपदेश दिइरहेका र मोर्चा नेता अविभावक खोजीरहेका जस्तो देखिएको भन्दै कयौं आलोचना भएको छ । लालु पूर्व केन्द्रीय मन्त्री भएपनि उपेन्द्र यादव नेपालको उपप्रधानमन्त्री भइसकेका पूर्व विशिष्ट व्यक्ति हुन् । जसमा मर्यादाको अन्तर छ । 
 
महतो समेत पटक–पटक मन्त्री भएका छन् । उपेन्द्रले आफुलाई कानुनको विद्यार्थी भन्न समेत रुचाउँछन् । त्यतिमात्र होइन परराष्ट्र सम्हालेको अनुभव भएका उपेन्द्रलाई शिष्टाचार भेट र औपचारिक भेटबारे राम्ररी जानकारी हुनु पर्ने मधेसकै नेताहरुले बताए । सामाजिक संजालमा चर्चा परिचर्चा भएपछि मधेसी नेताहरुले आ–आफ्नो बचाउ समेत गरेका छन् । मोर्चाका केही नेताले उपप्रधानमन्त्री भएकैले मर्यादा विर्से भने, जाबो मन्त्री भएकाले विचार गर्थे भन्ने तर्क गरे । जसले मधेसमा विषयगत एजेण्डा भन्दा व्यक्तिगत टकराबले राज्य र संविधानप्रति गलत भ्रम फैलिएको विश्लेषण भइसकेको छ । मधेस आन्दोलन अन्ततः व्यक्तिगत टकराबमै परिणत हुने धेरैको अड्कल छ । 
 
बहालवाला वा पूर्व पदाधिकारी दुवैलाई मर्यादा लाग्छ : अधिकारी 
परराष्ट्र मन्त्रालय प्रवक्ताको कार्यालयका सहप्रवक्ता दिपक अधिकारीले नेपाल सरकारले पारित गरेको मर्यादा क्रममा पूर्व पदाधिकारीको समेत स्थान हुने बताए । मर्यादाक्रम दुबैलाई लाग्छ । अधिकारीले भने, ‘बहालवाला भएपनि, पूर्व पदाधिकारी भएपनि दुबै मर्यादाक्रममा बस्नु पर्दछ ।’ उहाँहरुबारे भने आफुले टिका टिप्पणी गर्न नसुहाउने उनको भनाई छ । शिष्टाचार भेट र औपचारिक वा अनौपचारिक भेट त्यसको मर्यादा हुन्छ । अधिकारीले थपे, ‘नेपाल सरकारको शिष्टाचार महाशाखामा यो बारे नियम नै छ ।’ पूर्व कर्मचारीले समेत सेवानिवृत्त भएपछि पनि पदमा बहाल रहँदाका गतिविधिको दुरुपयोग र गोपनियता खोल्ने पाउँदैनन् । पदाधिकारीको हकमा समेत त्यो लागु हुन्छ । सरकारले पूर्व विशिष्टहरुलाई विभिन्न सेवा सुविधा दिँदै आएको छ । 
 
बहालवाला प्रधानमन्त्रीले मुख्यमन्त्री भेट्न हुने, मधेसीलाई मर्यादा लाग्ने  : कर्ण 
सद्भावना सह–अध्यक्ष लक्ष्मणलाल कर्णले जसरी भेटेपनि हुने तर्क गरेका छन् । कर्णले भने, ‘बहालवाला प्रधानमन्त्री मुख्यमन्त्रीलाई भेट्न भारत जाने, मधेसीलाई मर्यादा लाग्ने, जसरी भेटेपनि हुन्छ ।’ मधेसका नेताको भेटलाई किन बंग्याउने ? तत्कालिन प्रधानमन्त्री बाबुराम भट्टराईले बिहारका मुख्यमन्त्री नितिशकुमारलाई भेटेका थिए । 
 
मर्यादा मिचेकै हुन् : सांसद राय 
पटना पुगेको टोलीसंग मुजफ्फरपुर कार्यक्रममासंगै रहेका तराई मधेस लोकतान्त्रिक पार्टीका सांसद जंगिलाल रायले पटनाको भेटमा छलफलको व्यवस्थापन गर्ने मान्छे चुकेको बताएका छन् । रायले भने, ‘म मुजफ्फरपुरबाटै फर्के, अहिले सर्लाही छु, पटना जान पार्टीको निर्देशन थिएन, हाम्रो पार्टीको प्रतिनिधि पटना भेटमा नभएपनि मोर्चा नेताहरु भएकाले विषय हामीसंग पनि जोडियो ।’
 
भेटको व्यवस्थापन गर्ने र ब्रिफ गर्ने व्यक्तिले ध्यान नदिँदा मोर्चा नेताको बेहाल भएको रायले स्वीकारे । उनले थपे, ‘ब्यक्तिगत बसाईको तवर तरिका हेर्दा मर्यादा मिचेकै हुन् ।’ लालु यादव उसै पनि रफ व्यक्ति हुन् । उनको स्वभाव अन्य नेताको जस्तो छैन । उनले दृष्य अशोभनिय थियो–भने । सोही दृष्यलाई उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले यसरी ट्वीट गरे । 
सामान्य रुपमा लिए, ध्यान दिन जरुरी ठानेनन् : चौरसिया
समाजवादी फोरम अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवका प्रेस सल्लाहकार महेश चौरसियाले छिमेकीसंगको सहज सम्बन्धले सामान्य तवरले छलफल भएको भन्दै बचाउ गरेका छन् । छलफलबारे औपचारिक जानकारी नभएको बताएका उनले तस्वीर र सामाजिक संजालको बहसले आफ्नो ध्यान खिचेको बताए । उनले भने, ‘सामान्य रुपमा लिए, ध्यान दिन जरुरी नठानेर यस्तो भएको हुनु पर्दछ ।’ सहज सम्बन्धका हिसाबले अनौपचारिक रुपमै यो छलफल भएको हुन सक्ने चौरसियाको भनाई छ । खुला सीमा छ, अनौपचारिक रुपमा व्यवहार चल्दछ । चौरसियाले मधेस जानकारहरुले भन्ने गरेको ‘रोटी बेटी’को सम्बन्धले मर्यादा ख्याल नगरेको दर्शाउन खोजे । 
 
यस्तै, यस विषयमा बढी ध्यान जानु व्यक्तिगत टबराबको मधेस एजेन्डा, संविधानप्रतिको भ्रम, शीर्ष दलहरुको निषेधको राजनीति, बेलगाम राज्य, असफल सरकार र नेतृत्वको पराकाष्ठा हो । जसले देशमा विभिन्न भड्काउ सिर्जना गरिरहेको विज्ञहरुको ठहर छ । सोमबार बेलुकाको भेटमा बिहारको सत्तारुढ महागठबन्धनले मधेस आन्दोलनका लागि आफुहरु जस्तो सुकै सहयोग गर्न तयार रहेको बचन दियो । मधेसको सत्याग्रहलाई सहयोग गर्ने बचन दिएको सद्भावना सहमहामन्त्री देवेन्द्र यादवले हाम्राकुरासंग भेट सकिनेवित्तिकै भनेका थिए  । उनले भने, ‘शान्पिूर्ण आन्दोलनका लागि सत्याग्रह छेड्ने जनहभागिता लागि सहयोग गर्ने बचन दिनु भएको छ ।’ पहिलो चरणमा १० लाख जनसहभागिता गराउने प्रतिवद्धता आएको सहमहामन्त्री यादवले बताए । 
 
को हुन् लालु यादव ? 
भारतको बिहार राज्यका नेता लालुप्रसाद यादव राष्ट्रिय जनता दलका अध्यक्ष हुन् । सन् १९९० देखि १९९७ सम्म उनी बिहारका मुख्यमन्त्री बने । २००४ बाट २००९ सम्म केन्द्रको संयुक्त प्रगतिशील गठबन्धन (यूपीए) सरकारका रेल मन्त्रीको कार्यभार सम्हाले । १५औं लोक सभामा बिहारबाट सांसद थिए । उनलाई बिहारको बहुचर्चित चारा घोटाला मामिलामा राँचीस्थित केन्द्रीय अनुसन्धान ब्यूरोले (सीबीआर्ई) को अदालतले पाँच वर्ष कारावासको सजाए सुनाएको थियो । जुन सजाएका लागि उनलाई बिरसा मुण्डा केन्द्रीय कारागार राँचीमा राखियो । केन्द्रीय अनुसन्धान ब्यूरोको विशेष न्यायलयले आफ्नो फैसला सुरक्षित राख्यो । जबकी उनीविरुद्ध कथित चारा घोटालामा लागेको भ्रष्टाचार आरोप प्रमाणित भइसकेको थियो ।
 
२०१३ अक्टुबर ३ फैसलाले उनलाई पाँच वर्ष कैद र २५ लाख रुपैंया जरिवाना तोकेको थियो । यादव र जनता दल युनाइटेडका नेता जगदीश शर्मा घोटालामा दोषी ठहर भएपछि लोक सभामा समेत अयोग्य ठहरिए । त्यसपछी राँची जेलमा सजाय काटिरहेका लालु यादवको लोक सभा सदस्यता समाप्त भयो । लालुले ११ वर्ष लोक सभा निर्वाचन लड्न पाएनन् । लोक सभा महासचिवले यादवको सदन सदस्यता अयोग्य ठहरिएको सूचना जारी गरे । जुन सूचनापछी लालु नै भारतीय इतिहासमा संसदको सदस्यता गुमाउने पहिलो लोक सभा सांसद भए । सन् १०९७ मा सीबीआईले उनीविरुद्ध चारा घोटाला प्रकरणमा आरोप–पत्र दर्ता गरेपछि मुख्यमन्त्री पद चैट भएको थियो । त्यसलगत्तै आफ्नी पत्नी राबडी देवीलाई सत्ता सुम्पेर राष्ट्रिय जनता दल अध्यक्ष बने । रेल मन्त्रीको उत्तराधिकारी ममता बनर्जी थिइन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ