arrow

निरन्तर बियरिस ट्रेन्डमा बजार, नयाँ लगानीकर्तालाई अवसर

logo
प्रकाशित २०७४ चैत १० शनिबार
Nepal-Stock-exchange.jpg.jpeg

काठमाडौं। बाम गठबन्धनको नयाँ सरकार गठन भएपछि सेयर बजार परिसूचक (नेप्से) २ सयभन्दा धेरै अंकले घटेको छ। फागुन ३ गते नेकपा एमालेका अध्यक्ष केपी शर्माले ओली प्रधानमन्त्री नियुक्त भएको दिन नेप्से परिसूचक १ हजार ४ सय २४ बिन्दुमा रहेको थियो। ७ दिनको अवधिमा परिसूचक घटेर गत बिहीबार १ हजार २ सय २० बिन्दुमा ओर्लिएको छ।

स्थायी सरकार गठन हुने भएपछि सुरुवातका दिनमा लगानीकर्ता उत्साहित देखिएका थिए। त्यसैले सरकार गठन भएकै दिन भने परिसूचक ३६ अंकले बढेको थियो। तर, त्यसपछिका दिनहरूमा भने परिसूचक निरन्तर ओरालो लागेको छ।

बजार बियरिस प्रवृत्तिमा रहँदा सबैभन्दा बढी मध्यमस्तरका लगानीकर्ता मारमा परेका छन् । कर्जा लिएर लगानी गर्ने महिला तथा विद्यार्थीहरूले धेरै गुमाएको सेयर विश्लेषकहरू बताउँछन्। ठूला लगानीकर्ताहरूले पहिले नै सुरक्षा नीति अपनाउँछन्। तर, मध्यम खालका लगानीकर्ताहरूको मनोबल छिटो खस्किने भएकाले पनि सामान्य घटनाले बजारमा बिक्री चाप झनै बढ्ने उनीहरूको तर्क छ।

सरकारको धारणा खोज्दै छन् लगानीकर्ता
सरकारले जिम्मेवारीपन नदेखाउँदा सेयर बजारमा गिरावट आएको लगानीकर्ताहरू बताउँछन् । स्थायी सरकार आएपछि बजार अझै परिपक्व भएर जाने लगानीकर्ताको अपेक्षा थियो । तर, सरकार गठन भएको एक महिना बितिसक्दा बजार विपरीत ओरालो लागेको छ । सरकारले अझै पनि मौनधारण गरिरहँदा लगानीकर्ता झनै अन्योलमा परेको सेयर लगानीकर्ता संघ नेपालमा अध्यक्ष उत्तम अर्यालले बताए । ‘लगानीकर्ता सरकारको तर्फबाट केही प्रतिक्रिया चाहन्छन् ।

बजारका विषयमा सरकारको धारण के छ जान्न चाहन्छन्,’ उनले भने । सेयर विश्लेषक अमृतनाथ घिमिरे पनि अर्यालको धारणामा सहमत राख्छन् । उनका अनुसार लगानीकर्ता सरकारी ह्वाइट पेपरको पर्खाइमा छन् । ‘सरकारले बजारका लागि के गर्न सक्छ भन्ने विषयमा लगानीकर्ता जान्न इच्छुक छन् । जबसम्म सरकारले बजारका विषयमा केही सम्बोधन गर्दैन, तबसम्म बजारमा यस्तै गिरावट आइरहन्छ,’ उनले भने ।

बजारमा चैत मसान्तको प्रभाव
चैत मसान्तका कारण पनि बजारमा बियरिस ट्रेन्डमा देखिएको कोहिनुर सेक्युरिटिजका सञ्चालक भरत रानाभाटको जिकिर छ । ‘यो समयमा प्रायः बजार घट्ने गर्छ। यो सामान्य प्रक्रिया हो। यतिवेला लगानीकर्तालाई बैंकको दबाब पर्ने भएकाले पनि बजारमा ओभरसोल्डमा जोनमा देखिन्छ,’ उनले भने। साथै नयाँ सरकारले बजारका विषय केही धारणा प्रस्तुत नगरेका कारण पनि बजार घटेको उनको भनाइ छ।

समयमै सूचीकृत भएन बोनस र हकप्रद सेयर
अधिकांश सूचीकृत कम्पनीहरूले तोकिएको समयमा हकप्रद सेयर र बोनस सेयर सूचीकृत नगर्दा लगानीकर्ताको रकम फ्रिज भएको इन्भेस्टर्स फोरमका अध्यक्ष पौडेलले बताए । ‘कम्पनीहरूले १ वर्षसम्म पनि सेयर सूचीकृत गर्दैनन् । यसले गर्दा लगानीकर्ताको ठूलो रकम फ्रिज हुने गरेको छ,’ उनले भने । यो समस्यालाई सम्बन्धित निकायले छिटोभन्दा छिटो सम्बोधन गर्नुपर्ने उनले बताए । त्यस्तै, बजारलाई जतिसक्दो छिटो अनलाइन प्रणालीमा लैजानुपर्ने लगानीकर्ताहरूको तर्क छ । पछिल्लो समयमा बजारमा ठूलो सेयर सूचीकृत हुँदै गएको छ । तर, सोहीअनुसार कारोबार बढाउने मेकानिजम नहुँदा बजारमा समस्या देखिएको फोरमका अध्यक्ष पौडेलले बताए ।

नयाँ लगानीकर्ताका लागि अवसर 
बजार बियरिस ट्रेन्डदेखि रहँदा नयाँ लगानीकर्ताका लागि भने अवसर सिर्जना भएको छ । यतिवेला राम्रा–राम्रा कम्पनीको सेयर मूल्य घटेर न्यून बिन्दुमा आएको छ । तसर्थ, यो समय नयाँ लगानीकर्ताले अवसरको सदुपयोग गर्न सक्ने विश्लेषकहरू बताउँछन् । तर, सेयर खरिद गर्दा लामो अवधिका लागि वित्तीय अवस्था राम्रो भएको कम्पनी छनोट गरी लगानी गरेमा घाटा व्यहोर्नुनपर्ने उनीहरूको तर्क छ ।

बैंकमा सिफ्ट भयो लगानी
बैंक तथा वित्तीय संस्थाले अधिक ब्याज दिन थालेपछि लगानीकर्ताहरूले सेयर बजारको लगानी बैंकतर्फ सिफ्ट गरेको नेपाल स्टक एक्सचेन्जको प्रमख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले बताए । ‘केही लगानीकर्ताले उच्च ब्याजदर पाउने आशामा लगानीयोग्य रकम बैंकतिर सारेका छन् । यसले बजारमा घट्नमा सहयोग पुगेको हो,’ उनले भने ।

तर, इन्भेस्टर्स फोरम नेपालका अध्यक्ष अम्बिकाप्रसाद पौडेले भने बैंकिङ प्रणालीमा देखिएको तरलता अभावले बजार घट्नमा सहयोग पुर्‍याए पनि बजार नै प्रभावित हुने गरी बैंकमा लगानी नसारेको बताए । ‘बैंकको ब्याज भनेको छोटो अवधिका लागि हो । सेयरमा बजारमा लगानी गर्न पोख्त व्यक्तिले ब्याजकै लोभमा बैंकमा लगानी सिफ्ट गर्दैनन्,’ उनले भने । सेयर लगानीकर्ता संघका नेपालका अध्यक्ष अर्यालले भने केही लगानीकर्ताले सेयर बिक्री गरेर बैंकको निक्षेपमा लगानी गरेको हुन सक्ने आशंका व्यक्त गरे । तर, बजारलाई नै प्रभाव गर्ने गरी लगानीकर्ताले रकम सिफ्ट नगरेको उनको पनि दाबी छ। (नयाँ पत्रिका दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ