arrow

प्रहरीले नै अदालतको आदेश नटेरेपछि 

logo
प्रकाशित २०७४ चैत ११ आइतबार
road-drum.jpg

बाँके । सवारी आवागमनमा वाधा उत्पन्न हुने गरी राजमार्गमा राखिएका ड्रम हटाउन उच्च अदालत तुलसीपुर इजलास नेपालगन्जले दिएको अन्तरिम आदेश कार्यान्वयन गर्न सुरक्षा निकायले अटेरी गरेको छ । 

आवागमनमा असुविधा हुने गरी पूर्व–पश्चि राजमार्ग अन्तरगत महेन्द्र राजमार्ग, रत्न राजमार्ग अन्तरगत कोहलपुर–सुर्खेत सडक खण्ड र कर्णाली सडक खण्डको विभिन्न स्थानमा राखिएका ड्रम हटाउन उच्च अदालत तुलसीपुर, इजलास नेपालगन्जमा दायर भएको रिटमा अदालतले फागुन २३ गते अन्तरिम आदेश दिएपनि सुरक्षा निकायले हटाउन आनाकानी गरेका छन् ।

अधिवक्ता विकास आचार्यसहितका कानून व्यवसायीले दायर गरेको रिटमा उच्च अदालत तुलसीपुर, इजलाश नेपालगन्जले अत्यावश्यक बाहेक यात्रु आवागमनमा बाधा हुने गरि राखिएका ड्रम तत्काल हटाउन सुरक्षा निकायको नाममा अन्तरिम आदेश जारी गरेका छ । तर, आदेश दिएको लामो समय बित्दासमेत प्रहरीले अदालतको आदेश पालना नगरेको अधिवक्ता आचार्यले बताए ।

‘सुरक्षा अनुगमन र नियन्त्रण प्रयोजनका लागि अत्यावश्यक भई प्रयोगमा रहेदेखि बाहेकका सडकमा सुपथ आवागमनमा अवरोध हुने गरि रहेका तत्काल हटाउनु, अनावश्यक रुपमा सडकमा अवरोध हुने गरि ड्रम समेत नराख्नु र राख्न नलगाउन विपक्षीका नाममा आदेश जारी गरिएको छ,’ अदालतको आदेशमा उल्लेख छ ।

बाँकेको १२ ठाउँका सडकमा ड्रम

महेन्द्र राजमार्ग अन्तरगत नेपाल प्रहरीले बाँकेको कुशुम, कोहलपुर, बनकटवा तथा रत्न राजमार्गको कोहलपुर–सुर्खेत सडक खण्डको जमुनहा, कौशिलानगर र बनियाभारमा सवारी साधन आवागमनमा बाधा पर्ने गरि ड्रम राखेको छ ।

सशस्त्र प्रहरीले महेन्द्र राजमार्गको शमशेरगन्ज, कोहलपुर, चौलिका चोकमा ड्रम राखेको छ । नेपाली सेनाले बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रको शमशेरगन्ज ९ओभरी०, शिव खोला र कोहलपुर–सुर्खेत सडक खण्डको चिसापानी पोष्टमा ड्रम राखेर चेकजाँच गर्दै आएको छ ।

सुरक्षा निकायले चेकजाँचको नाममा सडकमा राखेको ड्रममा ठोकिएर सवारी साधन दुर्घटना हुने र धेरैले ज्यान गुमाइसकेकोले हटाउन रिट दायर गरेको अधिवक्ता ध्रुवप्रसाद बस्यालले बताए । उनले सुरक्षा जाँचका लागि सडकमा ड्रम राख्न आवश्यक नभएको बताए । सुरक्षा जाँचका लागि विश्वका कुनै देशको सडकमा ड्रम राखेको पाइदैन, उनले भने ।

ड्रम हटाउन कार्यदल गठनको तयारी

अदालतले गरेको निर्णय र आदेशको जानकारी जिल्ला प्रहरी कार्यालयले पाइसकेको बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक टेक बहादुर तामाङले बताए । उनले अदालतको आदेश कार्यान्वयनका लागि कार्यदल बनाउने तयारी भएको बताए ।

उनले महेन्द्र राजमार्ग, कर्णाली राजमार्ग र रत्न राजमार्गमा अनावश्यक रुपमा राखिएका ड्रम हटाउन अदालतले आदेश दिएको बताउँदै कुन ठाउँको हटाउने बारे कार्यदल गठन हुने जानकारी दिए ।

‘कार्यदलले दिएको सुझावको आधारमा अनावश्यक ठाउँका राखिएका ड्रम हटाइने छ, गृह कार्य गरेर अदालतको आदेश कार्यान्वयनतर्फ प्रहरी लाग्ने छ,’ उनले भने ।

उनले अदालतले दिएको आदेशका बारेमा प्रदेश प्रहरी प्रमुखलाई गराइसकेको बताए । उनले दुई जिल्लासँग जोडिएको विषय भएकोले बाँके प्रहरीले मात्र निर्णय गर्न नसक्ने बताए । उनले भने, ‘प्रदेश प्रहरीले विशेषज्ञ टोली बनाएर समस्या समाधान गर्ने छ ।’ (नयाँ पत्रिका दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ